ज्येष्ठ नागरिकको सम्मान हुनुपर्छ ः जिसस संयोजक क्षेत्री

समाधान संवाददाता २०७७ साउन २१ गते ७:१९

रामशरण नेपाली
लेखनाथ

Advertisement

जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले ज्येष्ठ नागरिकको नयाँ पुस्ता र समाजले सम्मान गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्की तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार पोखरा ३२ को राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग कार्यक्रममा क्षेत्रीले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको र उनीहरुबाट धेरै कुरा सिक्न सकिने भएकाले उनीहरु सिकाइका लागि विश्वविद्यालय भएको बताएका हुन् ।

Advertisement

धार्मिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरु भगवानको रुप भएकोमा जोड दिँदै क्षेत्रीले वयोवृद्ध बुवा आमाको आँखामा आसु आउने काम गरियो भने त्यो सबैभन्दा ठूलो पाप हुने र उनीहरुलाई गरिने सम्मान सबैभन्दा ठूलो पुण्य काम भएको बताए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ज्येष्ठ नागरिकको हक हितका सवालमा काम गर्नु नै वास्तविक धर्म भएकाले आफनो गाउँपालिकाले घर घरमा बृद्ध भत्ता र दिवा सेवा आश्रम बनाउने योजनालाई अगाडि बढाएको बताए ।

Advertisement

यस्तै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले ज्येष्ठ नागरिक अनुभवका खानी भएको धारणा राखे । आश्रममा बस्दै आएका ५२ जना ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी तथा फलफूल मंगलबार सहयोग गरिएको थियो ।

बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक सावित्री भण्डारीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराल र धन्यवाद ज्ञापन राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेश केसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया