‘बुलेट पुलिसिङ’ को आशा

समाधान संवाददाता २०७७ साउन २१ गते ७:५२

छिटपुटवाहेक नेपाल प्रहरी अनुसन्धानमा अब्बल नै दरिएको छ । सिमित स्रोतसाधनका बीच पनि प्रहरीले सम्पादन गर्दै आएको यो कामको प्रशंसा गर्नै पर्छ । पुराना भवन, कतै कतै त पानी चुहिने टहरामा अनि गाडी बिना नेपाल प्रहरीले काम गर्दै आएको छ । अझ भनौं भवन निर्माण र गाडी सञ्चादनजस्ता काममा स्थानीय समुदायको सहभागिता भएन भने त झन् अप्ठ्यारोमा पर्छ प्रहरी ।

Advertisement

यही समस्यालाई मनन् गर्दै गण्डकी प्रदेश सरकारले प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउने प्रयास थालेको छ । पोहोरबाट थालेको यो अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । यसैका निरन्तरतास्वरुप प्रदेश सरकारले प्रहरीलाई ४ पिकअप भ्यानसहित २८ वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् । पिकअप भ्यान जिल्लामा पठाइसकिएको छ । प्रदेश प्रहरीलाई १८ वटा पल्सर, ५ वटा बुलेट र ५ वटा टिभिएस बाइक उपलब्ध गराइएको हो । प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई मुख्यमन्त्री गुरुङले चाबी हस्तान्तरण गरे । ५ वटा बुलेट बाइक प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, बाग्लुङ, स्याङ्जा र तनहुँले प्रयोग गर्नेछन् । अरु बाइक पनि आवश्यकता अनुसार प्रदेशकै बजेटले जिल्ला प्रहरी कार्यालयहरुले खरिद गरेका हुन् ।

नेपालको संविधानले प्रदेश सरकारको आफ्नै प्रहरी रहने व्यवस्था गरेको छ । तर सबै खालको संरचना नबनाइदिएका कारण अझैसम्म औपचारिक रुपमा प्रदेश मातहत प्रहरी आइसकेको छैन । विकास निर्माणमा हुने अवरोध मात्र होइन कानुन कार्यान्वयनमा वाधा पुर्‍याउनलाई कानुनको दायरामा ल्याउने प्रहरीले नै हो । अनि सुरक्षा व्यवस्थाको जिम्मेवारी त छँदैछ ।

Advertisement

प्रदेश प्रहरीको संरचनाबारे अध्ययन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको टोली केही महिना पहिला अमेरिका गएकाे थियाे । जहाँ शान्ति सुरक्षाको पर्याप्त प्रबन्ध छ र नागरिकले आफू सुरक्षित रहेको अनुभूति गर्छन् पक्का हो कि त्यो समृद्ध मुलुक हो । त्यहाँको सरकारले प्रहरी र खासगरी सुरक्षा प्रबन्धका लागि गरेको खर्च नै निकै लोभलाग्दो रहेको प्रदेशका मुख्यमन्त्रीले बारम्बार भन्दै पनि आएका छन् । लाठी र हतियार बोकेर २४ सै घन्टा गल्लीगल्लीमा खटिनुपर्छ भन्ने पनि होइन । यो प्रविधिको युग हो । प्रविधिको अधिकतम प्रयोग गरी सुरक्षा व्यवस्था चुस्त पार्नु मुख्य काम हो । आवश्यक परेको बेला भनेको समयमा सुरक्षाकर्मी पुग्न उसलाई चाहिने साधन कस्तो हो । सुविधासम्पन्न गाडी मात्र होइन कि चाहिएका बेला उसले हेलिकोप्टर पाउनुपर्छ । जुन विकसित मुलुकमा सहजै उपलब्ध छ ।

विकसित मुलुककोजस्तै गर्न नसकिए पनि गण्डकी सरकारले गाडी दिएर काम थालेको छ । कतै चोरी भयो, दुर्घटना भयो प्रहरी समयमै आइपुगेन भन्ने गुनासो सुन्नुपर्छ । त्यतिमात्र कहाँ हो र व्यवसायी उद्योगीसँग नियमितरुपमा इन्धन माग्ने, अनि टायर र ट्युब मात्र होइन मोबिल फेर्न पनि अरुलाई प्रहरीले गुहार्ने गरेको पनि जानेसुनेकै हो । भएका गाडी पनि पुराना नहुने, कच्ची बाटो र उकालो ओरालोमा गुडाउन हम्मे पर्ने समस्याले पनि प्रहरी ग्रसित छ ।

Advertisement

चुनावका बेला भारत लगायत सरकारले दिएका गाडीको पनि नियमित मर्मत सम्भार नहुँदा भएका गाडी पनि गतिलोसँग चल्न सकेका छैनन् । समयमै प्रहरी नपुगेका कारण क्षति बढ्न सक्छ । प्रहरीको उपस्थिति समयमै भइदिँदा क्षति नै नहुने अवस्था पनि आउन सक्छ । यसका लागि सहायकसिद्ध हुनेछन् अहिले प्रदेशले प्रदान गरेका जीप र मोटरसाइकल । अब बुलेट बाइकजस्तै पुलिसिङ पनि बुलेट देख्न चाहान्छन् प्रदेशका बासिन्दा । त्यसो त यी साधनकै कारण प्रहरीको कार्यशैलीमा कायापलट त पक्कै हुँदैन । तर पनि प्रदेशले जुन खालको प्रयास गरेको छ यो प्रशंसनीय छ ।

तपाईको प्रतिक्रिया