पोखरामा ड्युटीका प्रहरीलाई कोरोना पुष्टि
‘पहिल्यैबाट ज्वरो आए पनि कसैलाई नभनेका रहेछन् । पछि स्वाब दिएपछि अस्पताल बसेछन् ।
अनुप पौडेल, पोखरा
पोखरामा ट्राभल हिस्ट्री नभएका प्रहरीलाई कोरोना पुष्टि भएको छ । ३८ वर्षे ती प्रहरीमा सामान्य लक्षण देखिएपछि १८ साउनमा स्वाब संकलन गरिएकोमा बुधबार कोरोना पुष्टि भएको हो ।
पोखरा ३ स्थित नदीपुर बिटमा कार्यरत प्रहरीमा कोरोना पोजेटिभ देखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले पुष्टि गरे ।
संक्रमित पुरुष कुन दर्जाका प्रहरी हुन् भन्ने डिएसपी हमालले खुलाउन चाहेनन् । ‘त्यो २/३ जना बस्ने ठाउँ हो । त्यसैले पहिचान भइहाल्छ, दर्जा नखुलाऔं,’ उनले भने । संक्रमितको कुनै ट्राभल हिस्ट्री नभएकाले ड्युटीमै खटिएका बेला उनमा कोरोना पुष्टि भएको डिएसपी हमालले बताए ।
स्रोतका अनुसार बुधबार कोरोना पुष्टि भएका ती पुरुष हवल्दार हुन् । उनको स्थायी घर गोरखा हो । स्वाब परीक्षणका लागि दिएपछि ती प्रहरी फिस्टेल अस्पताल भर्ना भएका थिए । उनमा पहिल्यैबाट ज्वरो आइरहेको भए पनि परीक्षण गराएका थिएनन् ।
‘पहिल्यैबाट ज्वरो आए पनि कसैलाई नभनेका रहेछन् । पछि स्वाब दिएपछि अस्पतालमा बसेछन् । आज पोजेटिभ आयो,’ स्रोतले भन्यो । ज्वरो आइरहेका बेला उनी पोखरामै रहेका आफन्तकोमा समेत पुगेको खुलेको छ ।
नजिकै क्वारेन्टाइन रहेको र बेलाबखत गइरहने भएकाले त्यहीँबाट सरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई पोखरा महानगरपालिकाले महिला क्वारेन्टाइन बनाएको छ ।
‘त्यहाँ स्वाब संकलन गरिँदा सहयोगका लागि जाने रहेछन् । त्यहाँ संक्रमितको सम्पर्कमा आएको हुनसक्छन्,’ स्रोतले भन्यो ।
कास्कीमा यसअघि डाक्टर र नर्समा कोरोना पोजेटिभ देखिए पनि ‘फ्रन्टलाइनर प्रहरी’ मा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । पोखरामा बुधबार साँझसम्म १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ९० जना निको भएका छन् ।
छिमेकी जिल्ला स्याङ्जामा प्रहरीमा नै कोरोना पुष्टि भएपछि निषेधाज्ञा नै घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपीसहित ३८ प्रहरीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । त्यसबाहेक कार्यालयमा रहेका २ थुनुवा र प्रहरीका २८ महिने छोरामा कोरोना पुष्टि भएकोस्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
उनकाअनुसार जिल्लाभर २ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये १ सय ९८ जना निको भएका छन् । २ को मृत्यु भएको छ । गण्डकी प्रदेशभर हालसम्म १५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १३ सय ६२ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया