सराङकोट पहिरो पीडितलाई लायन्सकाे सहयोग
समाधान संवाददाता
पोखरा
अविरल वर्षाका कारण गत असार २५ गते पोखरा–१८, गोठादीका पहिरो पीडितका लागि आर्थिक तथा शैक्षिक राहत सहयोग गरिएको छ ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीद्वारा एकमुष्ट १ लाख ५ हजार, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार, जोन चियर पर्सन राधिका थापाबाट ५ हजार आर्थिक सहयोग पीडित परिवालाई वितरण गरिएको छ ।
सोही कार्यक्रममा क्लबका सदस्य ऋषि काफ्लेद्वारा पीडित परिवारका २ जना बच्चालाई कक्षा १० सम्म अध्ययन तथा पालनपोषण निशुल्क र पूर्वअध्यक्ष तारा गिरीले उच्च शिक्षाको जिम्मा लिएका छन् ।
सो राहत वितरण गर्दै लायन्स क्लब डिस्ट्रिक्ट चिफ पिआरओ राम बसेलले जहाँ आवश्यक त्यही लायन्स सेवा भावनाले नेपालभरि पीडितको घाउमा मलम लगाउने कार्यमा सक्रिय बताए ।
कार्यक्रम संयोजक तथा क्लबका पूर्वअध्यक्ष प्रेमबहादुर जिसीले पीडित परिवारको उचित व्यवस्थापनमा सहयोग गर्न लायन्स तथा अन्य संघ संस्थाहरुबाट सहयोग, संकलन गरिने बताए ।
क्लब अध्यक्ष श्यामबहादुर क्षेष्ठको सभापतित्वमा भएको कार्यक्रममा क्लस्टर प्रमुख शारदा शर्मा, रिजन चियर पर्सन अमृत तिवारी, जोन चियर पर्सन तारा गिरी, राधिका थापा, क्लबका पूर्व अध्यक्षहरु उमानाथ बराल, निर्मल बराल, उपाध्यक्ष ओम गौचन, सचिव केदार क्षेष्ठ लगायतले बोलेका थिए ।
पहिरोबाट सराङकोटमा एकै परिवारका ४ जना, छिमेकी १ गरी ५ जनाको मृत्यु र ७ जना घाइते भएका थिए । मृतकको परिवार पूर्णरुपमा विस्थापित छ । स्थानीय मगर बस्तीमा निम्न आर्थिक स्थिति भएको परिवारमा अभिभावकविहीन हुँदा बस्ने, खाने, शिक्षाबाट वञ्चित हुने अवस्थालाई विभिन्न दाताहरुबाट संकलित सहयोगबाट केही व्यवस्थापनको प्रयास भएको राहत संकलन संयोजक सन्जीव थापा मगरले बताए ।
तपाईको प्रतिक्रिया