लक्षण देखिएकाे छैन भन्दै संक्रमितको सम्पर्कमा रहेका गण्डकीका मन्त्रीले कोरोना परीक्षण गरेनन्
एउटै बैठकमा सहभागी भएका मन्त्रीमा कोरोना पुष्टि हुँदा पनि कानुनमन्त्री चुमानले स्वाब परीक्षणका लागि दिएका छैनन्
समाधान संवाददाता, पोखरा
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा बुधबार कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएका मन्त्री यादवले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक अरु प्रदेशका कानुनमन्त्रीलाई भेटेका थिए ।
साउन १५ गते बालुवाटारमा प्रहरी समायोजनका विषयमा छलफल भएको थियो । बैठक सकिएको ३ दिनपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए । त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए । कोरोना पुष्टि भएका मन्त्री यादव अहिले क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।
संक्रमितसँग एउटै बैठकमा रहेका गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमान पनि स्वतः कन्ट्याक ट्रेसिङमा पर्छन् । तर मन्त्री चुमानले स्वाब परीक्षणका लागि दिएका छैनन् ।
कानुनमन्त्री चुमानका स्वकीय सचिव राजु विकले कोरोनाको लक्षण नदेखिएकाले स्वाब परीक्षणका लागि नदिइएको बताए ।
‘लक्षण नभएकाले स्वाब दिएका छैनौं । हामीसँगै फर्किनु भएका कसैमा पनि पोजेटिभ नदेखिएको हुनाले हामीले दिएनौं,’ उनले समाधानसँग भने, ‘स्वाब दिँदा राम्रो हुन्थ्यो । बिरामीकै चेक होस् भन्ने उद्धेशयले दिएनौं ।’
कानुनमन्त्री चुमान ११ साउनमा काठमाडौं गएका थिए । ‘प्रहरी समायोजनसम्बन्धी छलफल थियो । प्रधानमन्त्रीज्यूसँग साउन १५ गते अन्तिम ब्रिफिङ गरेर भोलिपल्ट फर्कियौं,’ स्वकीय सचिव विकले भने ।
कानुनमन्त्री चुमान पोखरा फर्किएको पर्सिपल्टै मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख लगायत सहभागी प्रहरीलाई सवारी हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्री चुमान साउन २० गते गृहजिल्ला तनहुँसमेत पुगेका थिए ।मातृशोकबाट गुज्रिरहेका नेकपाका स्थानीय नेतालाई भेट्न कानुनमन्त्री चुमान शुक्लागण्डकी नगरपालिकाको राईपुर गएका हुन् ।
तपाईको प्रतिक्रिया