नदी कटानले बर्सेनि सास्ती खेप्छ मुस्ताङको लुप्रा गाउँ

समाधान संवाददाता २०७७ साउन २२ गते २०:५६

एसके थकाली
जोमसोम, २२ साउन

Advertisement

बर्सेनि ठाडो खोलाको नदी कटानले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ लुप्रा गाउँका स्थानीयलाई सास्ती दिइरहेको छ । खोलाले बर्सेनि स्थानीयको खेतबारी बगाई दिएपछि खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय घ्युर्मी रिङझिङले बताए ।

आर्थिक वर्ष ०७६/०७७ मा जलउत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ सब डिभिजन कार्यालय लगायतबाट करिब १ करोड २० लाख रुपैयाँको ग्याबिन पर्खाल लगाइए पनि साउन १४ र १८ गते आएको बाढीले तटबन्ध पुरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

Advertisement

बर्सेनि गाउँको खेतीयोग्य जमिन संरक्षणमा करोडौं मूल्यको तटबन्धमा खर्च गरिए पनि त्यो दीर्घकालीन बन्न नसकेको प्रजिअ अर्यालले बताए ।

दशकअघिसम्म गाउँको तल लुप्रा—पान्डा खोला वारिपारि स्थानीयको थुप्रै खेतीयोग्य जमिन थियो । बर्सेनि लुप्रा खोलाको नदी कटानले जमिन बगाएपछि खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको छ । बर्खायामको मौसममा हिमालको हिउँ पग्लिएपछि लुप्रा खोला अनियन्त्रित हुँदा गाउँ जोखिममा पर्ने गर्छ ।

Advertisement

असार, साउन र भदौमा लुप्राबासीलाई नदी कटानकै त्रासले सताइरहन्छन् । यहाँ बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि करोडौं बजेटको तटबन्ध लगाए पनि तटबन्ध बालुवामा पानी खन्याए सरह भइरहेको स्थानीय बताउँछन् ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र प्रजिअ वेदप्रकाश अर्याल लगायतको टोलीले बुधबार नदी कटानले क्षति पुगेको लुप्रा गाउँको निरीक्षण गरेको छ । नदी कटान गाउँमा पुगेका सांसद तथा प्रशासनको टोलीलाई स्थानीयले खोलाको बाढीले गाउँबासीलाई बर्सेनि दुख दिइरहेको समस्या सुनाए ।

सांसद तुलाचन सहितको टोली गाउँको निरीक्षणमा

उनीहरुले बस्ती र खेत जोगाउन तटबन्धले समस्या हल नभएको र त्यसका लागि बर्सेनि २ बर्खायामको २ महिना डोजर उपलब्ध गराइदिन माग गरे । उनीहरुले गाउँ र खेतीयोग्य जमिन नदी कटानले संकटमा पर्न थालेकाले पुरै गाउँलाई उपयुक्त स्थानमा पुनः स्थापना गर्न समेत माग गरे ।

सांसद तुलाचनले गाउँ तथा खेतबारी जोगाउन अन्य विकल्प खोज्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अहिले नै यो ऐतिहासिक गाउँको पुनःस्थापना गर्न भन्दा बस्ती संरक्षण गर्न उपयुक्त भएको सांसद तुलाचनले स्थानीयलाई सुझाए ।

प्रजिअ अर्यालले गाउँबासीले उठाएको डोजरको माग उपयुक्त भएकाले यसका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारबाट पहल गर्न प्रशासनले सहजीकरण गर्ने जनाए । गाउँ विस्थापितको विकल्पभन्दा गाउँ संरक्षण गर्ने विषय ठूलो भएको प्रजिअ अर्यालको भनाइ थियो ।

लुप्रा गाउँमा बर्खायामको बाढीले खेतीयोग्य जमिन कटान र बस्ती समेत असुरक्षित बन्दै गइरहेको छ । पालिकाले नै डोजरको व्यवस्था गर्न सके विपतको बेला आवश्यक उद्धारमा सहयोग पुग्ने स्थानीयको बुझाइ छ । लुप्रा गाउँ मनाङ हुँदै थोरङ भन्ज्याङ, मुक्तिनाथ हुँदै जोमसोम निस्कने उपयुक्त पदमार्ग भएकाले पनि महत्वपूर्ण छ ।

भिरालो सतहमा मानिसको नाक जस्तै आकारमा बनेको लुप्रा गाउँको भौगोलिक अवस्थाले स्थानीयले यस गाउँलाई लुडाक पनि भन्छन् । लुको अर्थ नाक र डाकको अर्थ भिरालो सतह हो । ऐतिहासिक तथा धार्मिक कथासँग जोडिएको प्राचीन गाउँमा बस्ती बिस्तार भएको २९ पुस्ता पुगेको स्थानीय घ्युर्मी रिङजिङ गुरुङले जानकारी दिए ।

तिब्बतबाट आएका लामाले यहाँ सियोले कोपेर बस्ती बस्न उपयुक्त भए/नभएको धार्मिक परीक्षण गरेको भन्ने जनश्रुती छ । लामाले सियोले कोपेको ३ दिनपछि ओखरको बिरुवा उम्रन पुगेको थियो । यस गाउँलाई ओखरबोटले बस्ती बसालेको रुपमा चित्रित गर्छन् ।

लुप्रामा पछिल्लो समय १३ घरधुरीको बसोबास छ । जसमा अघिकाश गुरुङ समुदाय छन् । उनीहरु सबैले बोन धर्म मान्छन् । गाउँमा एक ठूलो बोन गुम्बा पनि छ ।

जोमसोमदेखि नजिकैको गाउँ लुप्रामा विद्युत र सञ्चार र केही परसम्म यातायातको कच्ची सडक विस्तार भएको छ । गाउँमा कक्षा १—८ सम्मको सरकारी आधारभुत तहको विद्यालय छ । जहाँ ८० भन्दा बढी बालबालिका पढ्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया