स्तनपानमा आमाको अर्घेल्याइँ कि चेतना अभाव ?

समाधान संवाददाता २०७७ साउन २३ गते ६:४२

समाधान संवाददाता
पोखरा

Advertisement

चिकित्सकको भनाइलाई मान्ने हो भने शिशु जन्मेको १ घन्टाभित्र स्तनपान गराई सक्नुपर्ने हुन्छ । तर नेपालमा झन्डै ४५ प्रतिशत सुत्केरी आमाले उक्त अवधिभित्र स्तनपान गराएको पाइँदैन । सार्क मुलुकभित्र तुलनात्मक रुपमा हेर्ने हो भने नेपाल त्यस मापदण्डमा चोथौ वरियतामा पर्छ । पहिलो मुलुक श्रीलंका छ । जहाँ ९० प्रतिशत सुत्केरीले शिशु जन्मेको १ घन्टाभित्रमा नै स्तनपान गराएका हुन्छन् ।


६ महिनासम्म आमाको दूधबाहेक केही नखुवाउने सार्क देशमा नेपाल दोस्रो

Advertisement

सुत्केरीको बिघौती दूधले नवजात रोगसँग लड्न सक्ने शिशुको क्षमता बढाउँछ । नियमित स्तनपानले शिशुमा प्रवेश गर्न सक्ने ब्याक्टेरियालाई नास गर्ने चिकित्सक बताउँछन् । स्तनपानका लाभ हुँदाहुँदै पनि नेपालमा किन न्यून संख्यामा मात्र यसबारे सुत्केरी आमाहरु जानकार छन् त ? गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विश्व स्तनपान सप्ताह अन्तर्गत बिहीबार पोखरामा अन्तक्र्रिया राख्यो ।

अन्तक्र्रियामा बहुसंख्यक आमाहरुलाई आफूले बच्चालाई गराइरहेको स्तनपानबारे पर्याप्त जानकारी नरहेको निष्कर्ष छ । सम्बद्ध स्वास्थ्यकर्मीको गलत सल्लाहका कारण पनि स्तनपानका लाभबारे सही जानकारी पुग्न नसकेको सरोकारवालाले औल्याए ।

Advertisement

शिशुको सम्पूर्ण आहार आमाको दूध हुने जनस्वास्थ्य अधिकृत नानीबाबु दानी बताउँछन् । शिशुको शारीरिक र मानसिक विकासमा स्तनपानले महत्वपूर्ण योगदान गर्ने उनले बताए । ‘२४ घन्टामा १० पटकभन्दा बढी स्तनपान गराउनुपर्छ,’ उनले भने, ‘स्तनपानले सुत्केरीको स्वास्थ्यलाई पनि सन्तुलित राख्न सहयोग गर्छ ।’ आमाको दूध नै शिशुको पहिलो खाना भएको जनस्वास्थ्य अधिकृत दानी बताउँछन् ।

‘शिशु जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नुपर्छ ।’ नवजात शिशुको लागि महत्वपूर्ण मानिने एक्सक्लुसिभ ब्रेस्ट फिडिङ अर्थात् ६ महिनासम्म आमाको दूधबाहेक केही नखुवाउने सार्कका देशहरुमा नेपाल दोस्रो स्थानमा रहेको उनले जानकारी दिए ।

नेपालमा ६६ प्रतिशत आमाहरुले नियमित ६ महिनासम्म दुध खुवाउने गरेको तथ्यांक दानीले प्रस्तुत गरे । पहिलो स्थान रहेको श्रीलंकाका ८२ प्रतिशत आमाहरुले शिशुलाई स्तनपान गराउँछन् ।


शिशु जन्मेको २ वर्षसम्म दूध चुसाउने मुलुकमा नेपाल पहिलो छ । नेपालका ८२ प्रतिशत आमाहरुले बच्चालाई कम्तीमा २ वर्षसम्म स्तनपान गराउने गरेको उनले बताए । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनले ६६ प्रतिशत आमाहरुले मात्र आफ्ना शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउने जनस्वास्थ्य अधिकृत दानीले जानकारी दिए ।

आमाको दूधको साटो अन्य बजारका कृत्रिम दूध खुवाउने प्रचलनलाई रोक्नुपर्ने जनस्वास्थ्य निर्देशक दानीको भनाइ छ । आमाको दुध प्रतिस्थापन गर्ने वस्तु (बिक्री नियन्त्रण) ऐन, २०४९ बनेपनि सो अनुसार कार्यान्वयन हुन नसकेको उनले जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले स्वास्थ्यकर्मीको गलत सल्लाहले पनि शिशु स्तनपानबाट बञ्चित भइरहेको बताए । ‘८६ प्रतिशत स्वास्थ्यकर्मीले मात्र आमाको दूध खुवाउने सल्लाह दिने गरेको पाइन्छ,’ उनले भने, ‘बाँकी १४ प्रतिशत स्वास्थ्यकर्मीले अन्य सप्लिमेन्ट खुवाउन सल्लाह दिइरहेका छन् ।’

आमाको दूध नै उपयुक्त हुने चेतना प्रबद्र्धन आवश्यक भएको वरिष्ठ बालरोग विशेषज्ञ डा बास्तोला बताउँछन् । ‘आमाको दूधमा प्रोटिन कम हुन्छ । गाईभैंसीकोमा बढी हुन्छ,’ उनले भने, ‘गाईभैंसीको दूधले बच्चाहरुलाई एलेर्जी भई डायबिटिज २ हुन सक्ने सम्भावना हुन्छ ।’

आमाको दूधमा आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरु पाइने उनले बताए । बच्चालाई आवश्यक पर्ने पोषण आमाकै दुधमा पाइने हुँदा बजारका कृत्रिम दूधको प्रयोग स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन सक्ने डा बास्तोलाले सुनाए ।

प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले दीगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्ममा नेपालका ९० प्रतिशत आमाहरुले स्तनपान गराइरहेको हुनुपर्ने बताए । विगतको भन्दा सूचकहरु सुधार हुनुपर्नेमा त्यसो नभएकाले मन्त्रालयले योजना बनाउने तयारीमा जुटेको उनले जानकारी दिए । ‘प्रदेशमा ५ करोड ५० लाख बजेटको पोषणको कार्यक्रम छ,’ उनले भने, ‘त्यसअनुसारको नीति बनाएर योजना ल्याउने तयारीमा छौं । प्रदेशका भूगोल, समुदाय विशेषतालाई मध्यनजर राखेर योजना बनाउँछौं ।’

सन् १९९२ देखि हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन सुरु भएको हो । यस वर्षको नारा ‘स्वस्थ्य र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ तय भएको छ । साउन १७ देखि २३ सम्म नेपालमा विभिन्न कार्यक्रम मार्फत स्तनपान सप्ताह चलिरहेको छ ।

तस्बिर : प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बिहीबार गरेकाे अन्तरक्रियाका सहभागी ।

तपाईको प्रतिक्रिया