प्रस्ताव पारित गर्ने बेलामा सभामुख झुक्किँदा…

समाधान संवाददाता २०७७ साउन २४ गते ६:४०


समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेश सभामा शुक्रबार गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक विचार गरियोस भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रस्तुत गरे ।

सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । अनि सुरु गरे ‘हुन्छ भन्ने माननीयले हुन्छ भन्नुहोला .. ।’ सत्तापक्षका सांसदले हुन्छ भन्दै हात उठाए ।
अनि पालो थियो ‘हुन्न भन्ने माननीयले हुन्न भन्नुहोला .. ’ को । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले हुन्न भन्दै हात उठाए । अनि सभामुखले भने – ‘हुन्न भन्ने माननीयको बहुमत भएकाले यो प्रस्ताव वहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’

Advertisement

‘हुन्छ भन्ने माननीयको बहुमत भएकाले’ भन्नुपर्नेमा उनी झुक्किएर ‘हुन्न’ भन्ने शब्द प्रयोग गरे । सभामुख झुक्किएपछि आडैमा रहेका संसद सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले केही संकेत गरे । तर सभामुख आफू सही शब्द उच्चारण गरेकोमा ढुक्क थिए ।

केहीबेरपछि निमित्त सचिव र अधिकृत जीतेन्द्रजँग केसी सभामुख नजिकै पुगे र गल्ती बारे जानकारी गराए । सचिवालयले तयार पारेकाे रिडिङ पेपरमा पनि हुन्छ नै थियाे ।

Advertisement

लगत्तै सभामुखले विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्नका लागि पुष्पा केसी भण्डारीको नाम लिए । सभामुखले गल्ती नसच्याएपछि प्रतिपक्ष र सत्ता पक्षकै सांसदहरुले गल्ती सच्याउनुपर्ने र रेकर्डबाट हटाउनुपर्ने माग राखे । त्यसपछि सभामुखले भने, ‘भ्रम नपरोस बहुमतबाटै पारित भएको हो, रेकर्ड सुनेर हटाइनेछ ।’

यति भनेपछि बैठक हलभित्र चलेको खासखुस बन्द भयो र बैठक निरन्तर चल्यो ।

तपाईको प्रतिक्रिया