रोयल सहकारीले ९.९९ प्रतिशत ब्याजमा ऋण दिने
पोखरा
पोखरा रोयल बचत तथा ऋण सहकारीले कोभिड–१९ र लकडाउनका कारण व्यवसाय र रोजगारी अपठ्यारोमा परेका आफ्ना सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्न सहुलियतपूर्ण ब्याजमा कर्जा लगानी गर्ने भएको छ । सहकारीले ९.९९ प्रतिशत ब्याजदरमा कोभिड सहायता ऋण प्रदान गर्न लागेको हो ।
कोभिड सहायता ऋण शीर्षकबाट सदस्यलाई सहुलियत दरमा ऋण प्रवाह गर्न संस्थाले तत्काल १० करोडको कोष व्यवस्थापन गरेको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । केही समयअघिमात्र संस्थाले आफ्ना सदस्यहरुमा कोभिडले पारेको असरबारे स्थलगत सर्भेक्षण गरेका थिए ।
७५०१ सदस्यमध्ये १५ प्रतिशत अर्थात ११२० जना सदस्यलाई विभिन्न १५ वटा प्रश्न समेटिएका सर्भेक्षण फारम भरी त्यसको नतिजाको आधारमा सदस्यहरुको व्यवसाय पुनरुद्धार तथा पुनसञ्चालन गर्न कोभिड केयर लोन लगानी प्रारम्भ गरिएको सूचना अधिकारी ढकालले बताए ।
केयर लोन एकजना सदस्यले बढीमा १० लाख रुपैयाँसम्म पाउने, १ वर्षसम्म ऋणको ब्याजदरमा परिवर्तन नहुने, ६ महिनासम्म ब्याज मात्र बुझाए हुने र यो सुविधा पुरानो तथा नयाँ ऋणी सदस्य सबैले उपभोग गर्न सक्ने गरी व्यवस्थापन गरिएको सहकारीले जनाएको छ । कागजात पुगेको सदस्यका लागि २४ घण्टाभित्र ऋण प्रवाह भइसक्ने र यो योजना पहिलोपटकका लागि २०७७ कात्तिकसम्म रहने ऋण प्रबन्धक परमेश्वर दाहालले बताए ।
तपाईको प्रतिक्रिया