पृना क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

समाधान संवाददाता २०७७ साउन २४ गते ११:२४

पोखरा

Advertisement

पृथ्वीनारायण क्याम्पस पोखराका आंशिक शिक्षकले शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । वर्षाैदेखि ज्यालादारीमा काम गर्दै आएका शिक्षकको माग पूरा गर्न क्याम्पस र विश्वविद्यालय नेतृत्व संवेदनशील नभएको भन्दै आंशिक शिक्षक संघको अगुवाइमा तोडफोड भएको हो ।

१४ वर्षदेखि आंशिक पदमा कार्यरत शिक्षकहरुले करार नियुक्तिको माग गरेका छन् । शुक्रबारसम्म क्याम्पस प्रशासनले माग पूरा गर्न आनाकानी गरेपछि उनीहरु आक्रोशित भई तोडफोडमा उत्रिएको एक शिक्षकले बताए । तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटेको छ भने केही कुर्सीमा क्षति पुगेको छ ।

Advertisement

ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो । हालसम्म कुनैपनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिँदा उक्त घटना घट्न पुगेको संघका अध्यक्ष सुनिल गौतमले बताए । उनले भने, ‘हामी १४ वर्षदेखि पीडित छौं, हाम्रा माग पुरा नभए थप सशक्त कार्यक्रम ल्याउन बाध्य हुनेछौं ।

अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको उनको भनाइ छ ।
क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरे । क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक छन् ।

Advertisement

तपाईको प्रतिक्रिया