बिजुलीको जिम्मा प्राधिकरणलाई दिनुपर्ने माग राख्दै प्रदर्शन

समाधान संवाददाता २०७७ साउन २४ गते १४:३१

Advertisement

एसके थकाली

जोमसोम, २४ साउन

Advertisement

विगत २ वर्षयता चरम लोडसेडिङको पीडा सहदै आइरहेका मुस्ताङीको समस्यालाई लिएर यहाँका विभिन्न महिला समूहको टोली चरम लोडसेडिङको विरोध जनाउँदै शुक्रबार जिल्ला प्रशासन कार्यालय, निलगिरि उपभोक्ता सहकारी संस्था र घरपझोङ गाउँपालिका कार्यालयमा पुगेर अलग/अलग ज्ञापनपत्र बुझाएका छन् ।

मुस्ताङको घरपझोङ—४ को जोमसोम महिला समूह र घरपझोङ—३ को पुथाङ आमा समूहको करिब १ सय जनाको टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल, निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकाली र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

महिला समूहले बुझाएको २ बुँदे ज्ञापनपत्रमा पछिल्लो समय मुस्ताङमा भइरहेको चरम लोडसेडिङको विरोध जनाउँदै शीघ्र लोड सेटिङको अन्त्य गर्नुपर्ने माग राखेका हुन् । दैनिक जीवनको हरेक क्रियाकलापसँग जोडिएको विद्युत आपूर्ति जस्तो महत्वपूर्ण समस्यामा सरोकारवाला निकाय गैरजिम्मेवार भएर बस्न नमिल्ने उल्लेख्य गर्दै उनीहरुले मुस्ताङमा विद्युत आपूर्तिको जिम्मा निजी संस्थाले नलिई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण हुनु पर्ने जनाएका छन् ।

ज्ञापनपत्र बुझाएको मितिले २ साताभित्र मुस्ताङमा विद्युत आपूर्ति समस्यामा सकारात्मक सुधार नआएको खण्डमा कडा आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुस्ताङमा विद्युत आपूर्ति तथा वितरणको जिम्मा लिएको निजी संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाले मुस्ताङको दिर्घकालीन विद्युत समस्या हल गर्न नसक्ने र यसका लागि नेपाल विद्युत प्राधिकरणले समस्याको निकास दिनसक्ने औल्याउँदै निजी संस्था जिम्मेवारीबाट पछि हट्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्रमा नेपाल विद्युत प्राधिकरणले अधिकांश जिल्लामा लोडसेडिङको अन्त्य गरेको तर मुस्ताङमा विगतको भन्दा बढी थप लोडसेटिङको पीडा थपेको जनाएका छन् । पछिल्लो समय दैनिक २०/२२ घण्टासम्म लोडसेडिङ हुने गरेको र यसप्रति सेवा प्रदायक संस्था यसप्रति गम्भिर नभई मौन बसेको, चरम लोड सेटिङले मुस्ताङीको दैनिकी असहज बनेको र बिद्युत आपूर्ति समस्या र चरम लोड सेटिङले मुस्ताङीको धैर्यताको बाध टुट्न पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यसअघि मुस्ताङमा चरम लोडसेटिङ भइरहेको अवस्थामा स्थानीय प्रशासन, जनप्रतिनिधि र थापाखोला हाइड्रो पावरबीच विद्युत आपूर्ति नियमित गर्न बैठक बसेको थियो । बैठकमा थापाखोला हाइड्रो पावरले विद्युत आपूर्ति समस्यालाई निराकरण गर्न तत्काल विद्युत उत्पादन गरी मुस्ताङलाई विद्युत उपलब्ध गराउने सहमति गरेको थियो । उक्त सहमती कार्यान्वयनमा प्रभावकारिता नदेखिएपछि महिलाहरुको टोलीले विरोध जनाएको जोमसोम महिला समूहकी अध्यक्ष नानीमैया थकालीले बताइन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले महिला समूहले उठाएको माग जायज र यथार्थ भएको बताए । मुस्ताङमा निजी कम्पनीलाई हाइड्रो सञ्चालनको सम्झौता हुदानै स्थानीयबाट लिखित सम्झौता नभएकाले अहिले समस्या देखिएको धारणा राखे । उनले भइरहेको बाढी—पहिरो समस्याले केन्द्रीय प्रशारण अवरुद्ध भएको र यस बिषम अवस्थामा थापाखोला हाइड्रोले नाफामुखी नभई सेवामुखी भाव देखाउनुपर्ने प्रजिअ अर्यालको भनाइ छ ।

जोमसोम स्थित निलगिरि उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले मुस्ताङमा विद्युत आपूर्तिमा देखिएको समस्या क्रमशः सुधार हुँदै जाने बताए । म्याग्दी, पर्वत र बाग्लुङमा ३३ केभी प्रसारण लाइन ११ केवीमा कन्भर्ट भएको र मुस्ताङको छुसाङमा पनि सव ट्रान्समिसन लाईनको जडान गर्ने तैयारी भइरहेको बताए । उनले केन्द्रीय प्रशारण सुधान्मुख हुँदै गइरहेको र हाल देखिएको समस्या बाढी पहिरो र नदी कटानले विद्युत अवरुद्ध भएको उल्लेख गरे ।

मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेमा १३.६ मेगावाटको थापाखोला हाइड्रो पावर सञ्चालन भएपनि हाइड्रोले उत्पादन गर्ने विद्युत प्राधिकरणलाई बिक्री गरिसकेको छ । मुस्ताङका ४ स्थानीय तहमा विद्युत लाइन विस्तार भएको छ । मुस्ताङलाई पिक समयमा करिव ८ सय किलोवाट विद्युत खपत हुने र मुस्ताङलाई मात्र विद्युत उत्पादन गर्दा कम्पनीले घाटा व्यवहोर्नुपर्ने भएकाले थापाखोलाले विद्युत उत्पादन गर्न सकस परेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया