मुस्ताङबाट सलह तिब्बततिर

समाधान संवाददाता २०७७ साउन २४ गते १४:५२

एसके थकाली

Advertisement

जोमसोम, २४ साउन

म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेको सलह कीराको झुन्ड दामोदरकुण्ड, मुक्तिनाथ र उत्तरी कोरला नाका हुँदै तिब्बत पुगेको छ । हावासँगै सलहको झुन्ड उत्तरतर्फ गएको हो ।

Advertisement

मुस्ताङमा ३० देखि ८० नटसम्मको हावा चल्ने हुनाले हावाको प्रवाहसँगै सहलको झुन्ड अनियन्त्रित भई उडेको देखिन्थ्यो । घाम पर्दा आकाशमा उड्ने र वर्षा हुँदा जमिनमा बस्ने भएकाले मुस्ताङको हावापानीले सहल कीराको झुन्ड असन्तुलित र प्रतिकुल देखिने गरेको स्थानीयको भनाइ छ । शनिबार सलहको ठूलो झुन्ड उत्तरतर्फबाट दक्षिणतर्फ बहकिँदै जोमसोमको आकाशमा मडारिएको छ ।

पछिल्लो समय सलह कीराको ठूलो झुन्डले मुस्ताङमा बालीनालीमा क्षति पुर्‍याएको छ । जिल्लाको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न गाउँहरुमा लगाइएको बर्खे बालीनालीमा क्षति पुर्‍याएको जनाइएको छ ।

Advertisement

जिल्लाको वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ठूलो परिमाणमा मकै, फापर, सिमी र स्याउमा सलह कीराले क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्रका कृषि प्राविधिक पेमा यल्मोले जानकारी दिए । लोघेकर दामोदरकुण्डको यारा, घारा, मराङ, चराङ, घिलिङ र घमी लगायत स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्‍याएको जनाइएको छ ।

वारागुङ मुक्तिक्षेत्रको ताङ्वे, तिरी, फल्याक, खिङ्गा, कागबेनी र मुक्तिनाथ लगायत क्षेत्रमा लगाइएको फापर, मकै, सिमी र स्याउ बोट सखाप बनाएको कृषि प्राविधिक यल्मोले बताए ।
घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ, जोमसोम, मार्फा, छैरो र चिमाङ र थासाङ गाउँपालिका लेते, टुकुचे, कोबाङ र कुञ्जो लगायत गाउँमा पनि सलह कीराको झुन्डले आशिंक क्षति पु¥याएको थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए । यस वर्ष स्याउ, फापर लगायतमा सलहले पु¥याएको क्षति र स्याउमा देखा परेको स्क्याब रोगका कारण कृषि उपजको उत्पादन घट्ने प्रशासकीय अधिकृत केसीले बताए ।

मुस्ताङमा एक महिनादेखि सलह कीराको प्रभाव देखिएको हो । सलह किराले अन्नबालीमा क्षति पुर्‍याएपछि मुस्ताङका किसान चिन्तित बनेको घरपझोङका किसान अजित थकालीले बताए । मुस्ताङमा सलह कीराले किसानले लगाएको अन्नबाली क्षति पुर्‍याए पनि स्थानीय तहले यसको अनुगमन नगरेको थकालीको दुखेसो छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा सलह कीराको ठुलो झुन्ड बालीनालीमा प्रवेश गरेपछि स्थानीय किसानले आगो बालेर धुवाँ पुत्ताउने, थाल ठटाउने विधि अपनाएर सलह धपाएका छन् ।

मुस्ताङमा सातौंपटक लाखौंको संख्यामा सलहको झुन्ड देखिएको जनाइएको छ । भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड १ महिनासम्म निरन्तर देखा परिरहेको लोघेकर दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया