बागलुङमा समुदायस्तरमा कोरोना जाँच
गलकाेट
बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ । जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो । आज र भोलि गरी सदरमुकामभित्रका कम्तीमा २०० जनाको स्वाब सङ्कलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, ग्यारेज, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने व्यक्तिको कोरोना जाँच हुने कार्यालय प्रमुख सुरज गुरौले बताए । “यो परीक्षणले समुदायमा कोरोना सङ्क्रमणको स्थितिबारे थाहा हुन्छ”, उनले भने ।
जिल्लामा अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिएको छैन । अधिकांश विदेशबाट आएकामा सङ्क्रमण देखिएको छ । मालढुङ्गा नाकाबाट जिल्ला भित्रने सवारीका चालक, मजदूर र ट्राफिक प्रहरीको पनि स्वाब लिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । उनका अनुसारमा आज एक सय भन्दाबढी स्वाबको नमूना संकलन गरिएको छ । जाँचका लागि भोलिमात्र स्वाब पोखरा पठाइने भएको छ ।
दुई÷तीनभित्रमै जाँचको रिपोर्ट आउने जनाइएको छ । कोरोना जाँचका लागि अहिले पनि पोखरामा निर्भर हुनुपर्ने अवस्था छ । धवलागिरि अस्पतालमा पिसिआर मेसिन राखेर कोरोना जाँच सेवा शुरु गर्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।
स्वास्थ्य कार्यालय, धवलागिरि अस्पताल, नगरपालिकाको स्वास्थ्य शाखा मिलेर संयुक्त रुपमा स्वाब सङ्कलनको काम भइरहेको छ । बागलुङमा पहिलोपटक गत चैत १५ गते कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता २६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
तीमध्ये २३५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार १२५ जना क्वारेन्टिनमा छन् । आज मात्रै १३ नयाँ सङ्क्रमित थपिएका छन् । धवलागिरि अस्पतालको भवन निर्माणका लागि महोत्तरीबाट आएका मजदूरमा कोरोना संक्रमण पुष्टि भएको हो । एक साताअघि आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टिनमा थिए ।
सङ्क्रमित २२ देखि ३५ वर्ष उमेर समूहका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । भवन निर्माणका लागि आएका १७ जनामध्ये एक जनामा कोरोना देखिएपछि सबैको जाँच गर्दा थप १३ जनाका सङ्क्रमण देखिएको हो । सङ्क्रमित मजदूरलाई आइसोलेशन कक्षमा राखिएको छ । रासस
तपाईको प्रतिक्रिया