पुनर्निर्माण पर्खिदै मुक्तेश्वर महादेव घाट

समाधान संवाददाता २०७७ साउन २४ गते १९:२०

समाधान संवाददाता
स्याङ्जा

Advertisement

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ५ स्थित एकराहे नजिकै जिल्लाकै नमुना मुक्तेश्वर महादेव घाट निर्माण गरिएको छ । घाट परिसरमा सामुदायिक भवन, शिव मन्दिर, मलामी बस्ने प्रतीक्षालय, शव जलाउने व्यवस्थित ठाउँ निर्माण गरिएको छ ।

मुक्तेश्वर महादेव घाट व्यवस्थापन समितिको निर्देशनमा एकातिर भौतिक निर्माणका कामहरू भएका छन् भने अर्कातिर सामाजिक कुसंस्कारमुक्त समाज निर्माणका लागि विभिन्न विधि विधानहरू बनाइएका छन्, जसलाई समुदायका सदस्यहरूले पालना गर्दछन् । त्यहाँ मृतकको दाहासंस्कारका लागि आआफ्नो घरबाट ल्याइएका दाउराहरूको प्रयोग गरिन्छ । दाउरा बढी भएमा जगेडा कोषमा राखिन्छ भने कम भएमा जगेडा कोषकै दाउरा प्रयोग गरिन्छ ।

Advertisement


शव दाहासंस्कारपछि मलामीहरूलाई चिया खुवाएर त्यही दिन फुकाउने प्रचलन राखिएकाले १३ दिनमा अनावश्यक खर्च गरी मलामी खुवाउने झन्झटबाट मुक्त गर्दै आर्थिक बोझ कम गर्न खोजिएको छ । त्यसपछि किरियापुत्रीलाई चाहिने च्यादर, करूवा, मृतकको घरमा चाहिने कुर्ची, पाल, कम्मल, ताउला, पन्यु, खोंचा, धार्मिक पुस्तकहरू अति व्यवस्थित तरिकाले राखिएको छ ।

भेटीका रूपमा प्रत्येक सदस्यले अर्को सदस्यको मृत्यु हुँदा सत्तरी रूपियाँ पैसा मात्र दिने प्रचलन कायम गरिएको छ । यो घाटको सामुदायिक भवनका बाहिरी भित्ताहरूमा आध्यात्मिक निर्वाणसँग सम्बन्धित विभिन्न कोटेसनहरू लेखिएको छ । सदाचारका लागि मानिसलाई प्रेरित गरिएको छ ।

Advertisement

सामुदायिक भवन वरिपरि केरा, रूद्राक्ष, लिची, एलोभेरा लगायत विभिन्न फलफूल र जडीबुटीका रूखहरू रोपिएका छन् । सामुदायिक भवनको छेउमै शिव मन्दिर बनाइएको छ, जहाँ प्रत्येक शिवरात्रिमा शिवभक्त श्रद्धालु भक्तजनहरूले शिवको पूजा आराधना गरी प्रसाद ग्रहण गर्ने गर्दछन् । शिवरात्रिको दिनमा त्यहाँ मानिसहरूको ठूलै जमघट हुने गरेको छ । सामुदायिक भवन र शिव मन्दिरबाट केही मिनेटमै पुगिने घाटमा जानका लागि व्यवस्थित बाटो बनाइएको छ ।

घाट आँधीखोलाको किनारमा फराकिलो ठाउँमा छ, जसको निर्माणमा पर्यावरणीय स्वच्छतालाई समेत ध्यान दिइएको छ । शब दाहासंस्कार गर्दा मलामीलाई घामपानीबाट सुरक्षा दिन ट्रस्ट (प्रतीक्षालय) बनाइएको छ । यस्तो सामाजिक सम्पत्ति समुदायमा कमै मात्र हुन्छ ।

पहिले यस क्षेत्रमा मानिसको मृत्यु हुँदा पोखराको रामघाट वा राम्दी किनारमा शव दाहासंस्कार गर्ने प्रचलन थियो ।पहिले परिवारका सदस्यको मृत्यु हुँदा साहु महाजनको चर्को ब्याजसहितको ऋण लिएर काजकिरिया उम्काउनुपर्ने बाध्यताका कारण गरिब परिवारको बिल्लिबाठ हु्न्थ्यो भने बसमा राम्दी वा पोखरा लैजाँदा अनावश्यक यातायात भाडामा पैसा खर्च हुन्थ्यो ।

तेह्रौं दिनमा फेरि मलामी खुवाउँदा फेरि उत्ति नै खर्च हुने कारणले विपन्न वर्गका मानिसका लागि यो एउटा ठूलो पीडाको विषय बनेको थियो । गरिब परिवारका लागि प्रियजनको मृत्युको पीडाभन्दा ऋणको पीडा बढी कारूणिक हुन्थ्यो ।

यस स्थितिलाई यो मुक्तेश्वर महादेव घाट र अभियानमार्फत् अन्त्य गर्ने प्रयास गरिएको छ । संविधानले निर्दिष्ट गरेको समाजवाद र गरिबी निवारणका लागि यस्ता संस्थाहरूको भूमिका असाध्यै महत्वपूर्ण रहने स्थानीय अभियन्ता तथा युवराज पौडेलले बताए । उनी भन्छन्, ‘यतिबेला समाज सम्पूर्ण रूपमा ‘नेगेटिभ भाइब्स’ ले ग्रसित छ ।

समाजमा जसले जे काम गरे नि सबैलाई एउटै बास्केटमा हालेर मूल्यांकन गर्ने प्रवृत्तिका कारण राम्रो काम गर्नेहरूमा उत्प्रेरणा छैन, जुन समाजको विकासका लागि धेरै नै हानिकारक छ ।’

यस महान् कार्यका परिकल्पनाकार शिक्षाप्रेमी व्यक्तित्व, सामाजिक अभियन्ता तथा घाट व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द शर्माले मृत्युमा पनि वर्ग सिर्जना गरी गरिब वर्गलाई थिचिराख्ने सामन्तवादी सोचको अन्त्यका लागि आफूले यस अभियानको नेतृत्व गरेको धारणा व्यक्त गरे । उनी भन्छन्, ‘समाजमा समानता स्थापित गर्न र मितव्ययी संस्कारको विकास गर्न यस्ता संस्थाहरूले प्रेरणादायी भूमिका खेल्न सक्ने हुनाले यस्ता कार्यहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्दछ । यसमा योजना अनुसारका बाँकी धेरै कामहरू आर्थिक समस्याका कारण अघि बढाउन सकिएको छैन । यसलाई थप व्यवस्थित बनाउनका लागि सबैले हातेमालो गर्नुपर्दछ ।’

नागडाँडा कार्कीनेटा सडक पुनर्निमाणका क्रममा यसको सामुदायिक भवन, शौचालय र बाटोमा क्षति पुगेको छ । यस्तो महत्वपूर्ण सामाजिक सुधारको अभियानमा स्थानीय गाउँपालिकाले आवश्यक चासो नदिएको गुनासो स्थानीयहरूले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया