कास्कीमा २५ मेगावाटको सेती हाइड्रो निर्माण थालियो

समाधान संवाददाता २०७७ साउन २५ गते ५:४८

ईश्वर देवकोटा
पोखरा

Advertisement

सरकारबाट जलविद्युत उत्पादनका लागि लाइसेन्स प्राप्तिपछि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ५ अर्ब लगानीको सेती जलविद्युत आयोजनाको काम धमाधम अघि बढाएको छ । कास्की माछापुच्छ्रे गाउँपालिका २ स्थित राजबगर सेती मुहानमा आयोजना सम्बन्धी पहिलो चरणको काम लकडाउनकै बीच थालेको हो ।

२५ मेगावाट जलविद्युत उत्पादनको अनुमति लिएको कम्पनीले फागुनबाट भौतिक संरचना सम्बन्धी काम सुरु गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताए । कोरोना महामारीका कारण काममा बाधा परेको भएपनि वैशाखदेखि निर्माणको काम सुरक्षा सतर्कता सहित अघि बढाइएको उनले सुनाए । ‘लकडाउनले असर गरेपनि आयोजनाका काम गर्न सकिने अघि बढायौं,’ उनले भने, ‘लकडाउन अवधिमा पनि प्रदेशमै रनिङ प्रोजेक्ट हाम्रो हो ।’

Advertisement

भदौ १५ पछि थप जनशक्तिका साथ रफ्तारमा काम बढाइने अध्यक्ष पोखरेलले बताए । ‘२ सिफ्टमा काम गर्ने गरी तयारी गरिरहेका छौं । सम्झौता अवधिमै निर्माण सक्ने लक्ष्य छ,’ उनले भने ।


पहुँच मार्ग, सुरुङ, पुल आयोजनाले बनाउन नपर्ने भएकाले छोटो समयमै उत्पादन थाल्ने

Advertisement

चालु आवको सुरुदेखि नै लागु हुने गरी आगामी २७ महिनामा आयोजना निर्माण सकेर उत्पादन थाल्ने सरकारसँग सम्झौता भइसकेको छ ।

आयोजनाको सिभिल वर्कको काम रसुवा लिजा जेभीले पाएको हो । १ अर्ब २० करोडमा ठेक्का पाएको उक्त कम्पनीले सिभिल वर्कसम्बन्धी काम धमाधम अघि बढाइरहेको छ । हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र ट्रान्समिसनका काम पनि प्रक्रियामा रहेको कम्पनी अध्यक्ष पोखरेलले जानकारी दिए ।

सिभिल वर्क अन्तर्गत नदीबाट पोखरीमा पानी पठाउन ४ सय मिटर लम्बाइको एप्रोच कल्भर्ट बनाउने काम भइरहेको छ । नदीबाट एप्रोच कल्भर्टसम्म डेढ सय मिटरको अर्को कल्भर्ट बन्ने छ । राजबगरमै बन्ने पोखरीमा जम्मा भएको पानी पाइपबाट ६ किलोमिटरको दुरीमा रहेको चिन्तेबगर हाइड्रो स्टेसनको टर्बाइनमा ठोक्किने छ । साढे १२ मेगावाटका २ वटा टर्बाइनबाट २५ मेगावाटको विद्युत उत्पादन हुने कम्पनी सञ्चालक बोमबहादुर गुरुङले जानकारी दिए ।

आयोजना क्षेत्रस्थलका कारण निर्माण अवधिमा पनि छोटिने भएको उनले बताए । ‘पहुँच मार्ग, सुरुङ, पुल आयोजनाले बनाउन नपर्ने भएको छ,’ उनले भने, ‘सम्भवतः छोटै अवधिमा सम्पन्न हुनेमा यो आयोजना पर्नेछ ।’ स्थानीयको सहयोग र सुझबुझका कारण पनि आयोजनाले छोटो समयमै उल्लेखनीय प्रगति हाँसिल गरेको गुरुङले बताए ।

आयोजनाको डिजाइनको जिम्मा लिएको हाइड्रो कन्सल्ट इन्जिनियरिङ डिजाइन डिभिजनलका प्रमुख श्यामप्रसाद भुसालले सञ्चालक बोर्ड गतिशिल भएका कारण काम गर्न सहज भएको सुनाए । ‘आयोजना थालेको साढे २ वर्षमा यो स्टेजमा आएको छ । कतिपय प्रोजेक्टहरु अघि बढ्नै नसकेर यत्तिकै थन्किएका छन्,’ उनले भने, ‘प्रोजेक्ट डिजाइनको जिम्मा पाउने बित्तिकै हामीले काम थाल्यौं ।’

आयोजना सम्पन्न भइसकेपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लाहाचोकस्थित निर्माणाधीन सबस्टेसनमा विद्युत पठाइने छ । हाइड्रो स्टेसनबाट सबस्टेसनसम्म विद्युत पु¥याउन साढे ४ किलोमिटरको ट्रान्समिसन लाइने बन्ने छ ।

मुआब्जा सम्बन्धी काम ८० प्रतिशत सकिएको आयोजना प्रमुख लेखनाथ पाण्डेले जानकारी दिए । सरकारी १३ हेक्टर र निजी साढे ३ हेक्टर जमिन आयोजना क्षेत्रले ओगट्ने छ । सरकारी जमिन प्राप्तिका लागि प्रक्रियाकै चरणमा सम्बन्धित मन्त्रालयमा पुगेको उनले बताए । निजी व्यक्तिका जग्गाको हकमा भने केही महिनाभित्रमा नै सबै प्राप्ति भइसक्ने प्रमुख पाण्डेले जानकारी दिए ।

आयोजना प्रभावित क्षेत्र भित्र पर्ने स्थानीयलाई निश्चित प्रतिशत सेयर दिइने कम्पनीले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकाको वडा २ लाई वार्षिक ९० लाख दिनुपर्ने सहमति भएको वडाध्यक्ष विक्रम गुरुङले जानकारी दिए । आयोजना निर्माणका लागि लिड बैंक एनएमबिले गरेको छ । साढे ३ अर्ब उक्त बैंकको लगानी रहेको कम्पनीले जनाएको छ ।

सेतीको पानी पोखरीसम्म पु¥याउन आवश्यक एप्रोच कल्भर्ट बनाइँदै । तस्बिरः ईश्वर देवकोटा/समाधान

तपाईको प्रतिक्रिया