कोरोना संक्रमितको शव सहजै गाडियो
समाधान संवाददाता, पोखरा
कोरोना संक्रमणबाट शनिबार मृत्यु भएका व्यक्तिको शव पोखरा ३२ स्थित मजुवा घाटमा सहजै व्यवस्थापन भएको छ । पोखरा १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
मधुमेहका रोगीसमेत रहेका उनी साउन १९ गते प्रतिष्ठान अस्पतालमा भर्ना भएका थिए । आइसियु कक्षमा उपचाररत उनको निधन भएको हो ।
यसअघि कोरोनाबाट संक्रमित व्यक्तिको शव मजुवामै व्यवस्थापन गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तर आइतबार भने त्यस्तो कुनै व्यवधान नभएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका निमित्त प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
‘शव व्यवस्थापनमा जिल्ला र हाम्रो कार्यालयबाट टोली पुगेका थियौं । शसस्त्रको टोली पनि थियो,’ उनले भने, ‘साढे ११ बजे शव व्यवस्थापन गरेका हौं । अवरोध कहीँकतैबाट भएन ।’ सहज रुपमा शव व्यवस्थापन सकेर सुरक्षा टोली फर्किसकेको उनले बताए ।
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । तीमध्ये ३ जनाको मृत्यु पोखरामै भएको हो । बाँकी २ बागलुङ र गोरखाका हुन् ।
गोरखामा पनि शव व्यवस्थापन गर्न प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउनुपरेको थियो । यसअघि पोखरामा पनि प्रहरीले बल प्रयोग गरेर मात्रै शव व्यवस्थापन गर्न सकेको थियो ।
तपाईको प्रतिक्रिया