लकडाउनमा श्रमिकका समस्या झन् चर्किदैं
समाधान संवाददाता
पोखरा
सयुंक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी) गण्डकी प्रदेशलले लकडाउनको अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका सवालमा रोजगारदाता र ट्रेड युनियन महासंघहरु बीच काठमाडाैंमा भएको द्विपक्षीय सहमति कार्यान्वयनको बारेमा प्रदेश स्तरीय छलफल चलाएको छ ।
रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरुबीच अन्तरक्रिया गराएर प्रदेश स्तरमा सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न कार्यक्रम गरेको जेटियुसिसीका गण्डकी प्रदेश संयोजक मुरारी शर्माले जानकारी दिए ।
उनले केन्द्रमा भएको सहमतिको बारेमा श्रम कार्यालय गण्डकी, सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, गण्डकी प्रदेशसभाका सदस्यहरु लगायत सरोकारवालासँग छलफल चलाएर आएको निष्कर्ष केन्द्रमा पठाउने जानकारी दिए । संयोजक शर्माले कार्यक्रममा रोजगारदाता र श्रमिकबीचको सवाललाई सामुहिक रुपमा उठाउन केन्द्रमा जस्तो श्रम सल्लाहाकार समिति गठन गर्ने निर्णय भएको बताए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले निजी क्षेत्र र श्रमिकहरुबीच सुमधुर सम्बन्ध कायम गर्नको लागि साझा सयन्त्र आवश्यक रहेको उल्लेख गरे । ‘दुबै पक्ष एक्ला एक्लै जाँदा भन्दा सामूहिक रुपमा प्रयास गर्दा चुनौतिलाई अवसरको रुपमा रुपान्तरण गर्न सकिन्छ,’ उनले भने, ‘सबै पक्ष बीच समन्वय र समझदारी गरे जुन सुकै सहमति कार्यान्वयन गर्न सकिन्छ ।’ केन्द्रमा भएको सहमति प्रदेश तथा जिल्लातहमा कार्यान्वयनको समस्या रहेको उल्लेख गर्दै अध्यक्ष खत्रीले केन्द्रमा भएको सहमतिलाई सबै प्रतिष्ठानले मान्नु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले काठमाडौंमा भएको सहमति तथा उद्योग वाणिज्य महासंघले गरेका निर्णयहरु प्रदेश, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु मान्न तयार रहेको बताए ।
केन्द्रमा सहमति निजी क्षेत्रको समग्र सम्झौता भएको उल्लेख गर्दै अध्यक्ष कोइरालाले सहमति राजपत्रमा प्रकाशित हुने कानुनी दस्तावेज भएकाले महासंघमा आवद्ध १ सय ३ वस्तुगत संघले मान्नुपर्ने तर्क गरे । केन्द्रमा भएको सहमतिलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै उनले रोजगारदाता र श्रमिकहरुले द्वन्द्व चर्काउन भन्दा पनि न्यूनीकरणमा ध्यान दिएको धारणा राखे । अध्यक्ष कोइरालाले श्रममैत्री वातावरण बनाएर उद्योगी र श्रमिकहरु बाँच्ने वातावरण बनाउन लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोतीप्रसाद पौडेल, पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, गण्डकी प्रदेश चेम्बर अफ कमर्शका महासचिव राजु श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम, निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याप्सन)कास्कीका अध्यक्ष प्रेमराज शर्मा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका गण्डकी प्रदेश संयोजक भानुभक्त बराल लगायतका वक्ताहरुले रोजगारदाता र ट्रेड युनियन महासंघका प्रतिनिधिबीच भएको सहमतिको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया