सरुवा रोग अस्पतालमा संक्रमितको उपचार सुरु

समाधान संवाददाता २०७७ साउन २७ गते ७:२६

अनुप पौडेल
पोखरा

Advertisement

गण्डकी प्रदेश सरकारले काठमाडौं बाहिर पहिलोपटक छुट्टै सरुवा रोग अस्पताल तोक्यो । पोखरा ३० मोहरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश सरकारले आफू मातहत ल्यायो । १ साउनमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरिएको छ ।


एउटा भेन्टिलेटरसहित ३ बेडको आइसियु, ३५ बेड क्षमता

Advertisement

अस्पतालको आइसोलेसनमा सोमबार ८ संक्रमितलाई भर्ना गरिएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. त्रिभुवन भण्डारीले जानकारी दिए । ८ मध्ये ६ संक्रमित पोखरा १९ लामाचौरका हुन् भने २ जना सोमबार पोजेटिभ देखिएकाहरु छन् । उनका अनुसार संक्रमित महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न दोस्रो र तेस्रो तलामा ३५ बेडको आइसोलेसन बनाइएको छ ।

प्रदेश सरकार मातहतको उक्त संक्रामक तथा सरुवा रोग अस्पतालले लक्षण नभएका बिरामीको उपचार गर्नेछ । ‘लक्षण नभएका बिरामीको यहाँ उपचार गर्छौं । समस्या बढ्दै गए, लक्षण देखिए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर त्यहाँ लैजान्छौं,’ मेसु डा भण्डारीले भने ।

Advertisement

संक्रमितको उपचार सुरु गरे पनि अरु सेवा प्रभावित नहुने उनले बताए । ‘इमर्जेन्सीचाहिँ २४ घन्टा सञ्चालनमा रहन्छ । अरु सेवा के गर्ने भन्ने विषयमा छलफल गर्छौं,’ मेसु डा भण्डारीले भने ।

मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी र प्राविधिकको टोली बनाएर आइसोलेसन वार्डमा खटाइने उनले बताए । अस्पतालमा अहिले एउटा भेन्टिलेटरसहित ३ बेडको आइसियु छ । उक्त अस्पतालमा हाल सबै गरेर ३३ कर्मचारी छन् । डेडिकेटेड अस्पताल तोकिएको क्षेत्रीय अस्पतालको आइसोलेसन भरिन थालेपछि सरुवा रोग अस्पतालमा उपचार सुरु गरिएको हो ।

क्षेत्रीय अस्पताल परिसरमा ४० शैड्ढयाकौ छुट्टै आइसोलेसन कक्ष बनाइएको थियो । संक्रमित घरमै बस्नुपर्ने अवस्था सिर्जना भएपछि सरुवा रोग अस्पतालमा आइसोलेसन निर्माण थालिएको थियो ।

क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यका अनुसार अस्पतालको आइसोलेसनमा हाल २८ संक्रमितले उपचार गराइरहेको छन् । सुरुमा १० बेडको आइसोलेसन बनाइएकोमा त्यो भरिएपछि मेडिकल वार्डमा संक्रमितलाई राखिएको थियो । पछिल्लो समय अस्पताल परिसरमा आइसियु सेवासहितको अस्थाई भवन बनाएर संक्रमितलाई राखिएको छ ।

कोरोना महामारीको सुरुआती चरणमै प्रदेश सरकारले लेखनाथ लायन्स अस्पताललाई डेडिकेटेड बनाउन चाहेको थियो । तर संघ सरकारले क्षेत्रीय अस्पताल तोक्यो । पछि आफ्नै स्वामित्वमा आएपछि प्रदेशले लेखनाथको अस्पताललाई कोरोनाकै लागि प्रयोग गर्न लागेको हो ।

लेखनाथ अस्पतालको स्वामित्व हस्तान्तरण गर्दा अस्पताल र प्रदेश सरकारबीच १० बुँदे सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको कुनै एउटा कक्षलाई लायन्सको नामबाट नामकरण गर्न सकिने, अस्पतालको चलरअचल सम्पत्तिको स्वामित्व प्रथम पक्ष (प्रदेश सरकार) ले ग्रहण गर्ने, सम्झौता कार्यान्वयनका क्रममा कुनै समस्या भए प्रथम पक्षले निर्णय लिनेसहित १० बुँदा छन् ।

सम्झौतापत्रमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेल र प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव तेजप्रसाद काफ्लेले हस्ताक्षर गरेका थिए । २०६० साल फागुनमा महायज्ञ गरी उक्त अस्पताल निर्माण सुरुआत गरिएको थियो । त्यसबेला २ करोड रुपैयाँ जम्मा भएको थियो । रेवतीरमण र शान्ति पौडेल दम्पत्तीले अस्पतालका लागि सर्वस्व दान गरेका थिए । अस्पतालको सुरुआत भने २०६२ सालदेखि भएको हो ।
९० प्रतिशत संक्रमित निको

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भेटिएकामध्ये ९० प्रतिशत संक्रमित निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा सोमबार साँझसम्म १६ सय २३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १४ सय ७० संक्रमित निको भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २, कास्की, गोरखा र बागलुङका १÷१ जना छन् । गण्डकीमा अहिलेसम्म २९ हजार २६ नमुना संकलन भइसकेको छ । गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ । कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन् ।

पोखरामा कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । दुवै ल्याबमा गरेर दैनिक ३ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरेर कोरोना परीक्षणका लागि २८ प्राविधिक छन् । क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर डेढ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया