महिनादिनमा बन्यो राहुखोलाको पुल

समाधान संवाददाता २०७७ साउन २८ गते १२:३७

राकेश शर्मा, म्याग्दी

Advertisement

लगातारको वर्षापछिको बाढीले क्षति पु¥याएको राहुघाटको बेलिब्रिज मर्मतपछि मंगलबारदेखि सञ्चालनमा आएको छ । असार २५ गते रातिको वर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ को सिमानाको बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको थियो ।

त्यसयता पूर्णरुपमा अवरुद्ध भएको आवतजावत मंगलबारबाट खुलेको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।

Advertisement

‘हलुका गाडी सञ्चालनमा आएका छन्, केही दिन ठूला गाडीलाई रोक लगाइएको छ,’ तिवारीले भने । पुलबाट अहिले विद्युतका ठूला उपकरण र गह्रौं सामान पार गराउँदा भार थाम्न नसकी फेरि भासिन सक्ने भएकाले प्रहरीले नियमित निगरानी गरेको छ ।

पुल पुनर्निर्माणमा जनश्रमदानसहित करिब ५० लाख खर्च भएको छ । बेनी जोमसोम, कोरोला सडक आयोजनाको आकस्मिक कोषबाट खर्च हुने गरी मर्मत गरिएको तिवारीको भनाइ छ । भदौ ८ गते सम्मका लागि ट्याक्टर, ट्क्सी, जिप सम्म पुलबाट आवाजजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।

Advertisement

आयोजना सब–इन्जिनियर गजेन्द्र प्रसाद रावतले भने, ‘यो पुल अहिले पुरानो स्वरुपमा नै फर्किएको छ, पुलको क्षमता १८ दशमलब ५ टन सहितको छ ।’ उनका अनुसार भत्किएको पुललाई उठाउन भ्याट सहित १० लाख, पुलको दुवै साइटमा ४ सय ४६ घनमिटर ग्याबिन लगाइएको छ । ‘भत्किएको पुललाई मर्मत गरेर पुरानै स्वरुपमा ल्याउनका लागि ४६ लाख लागत लागेको छ,’ रावतले भने, ‘यसमा हामीले जनश्रमदानलाई राखेका छैनौं, जनश्रमदान सहित करिब ५० लाख लागत लागेको छ ।’

पुल बाढीले बगाएपछि म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने सिधा सवारी अबरुद्ध भएको थियो । पुल सञ्चालनमा आएपछि अन्नपूर्ण गाउँपालिका–३ दानाको सुके बगरसम्म सिधा सवारी सञ्चालनमा आएको छ । ‘पुल बगाएपछि निकै समस्या भएको थियो, अब गाउँपालिकाका जनतालाई राहत हुने भयो,’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी भने,

‘कतिपय सवारी चालकहरु भोकभोकै गाडीमा नै सुत्ने गरेका थिए ।
पुल नहुँदा व्यपारीहरुले महँगो भाडा दिएर वारपार गर्नुपर्ने बाध्यता समेत हटेको छ । हिस्तानका व्यापारी रमेश पुर्जाले भने, ‘हामीले मान्छे लगाए एक बोरा चामल वारिपारि गराउदा ५० रुपैयाँ सम्म दिनुपर्ने अवस्था थियो, यसले गाउँमा सामान महंगो मूल्यमा बेच्नुपर्ने बाध्यता हटेको छ ।’

भत्किएको पुल निर्माणका ढिलासुस्ती भएपछि म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले समेत मर्मतमा दवाव दिएका थिए भने राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार–शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक विभाग, स्थानीय तह र जिल्ला प्रशासनको समन्वयमा मर्मत कार्य सम्पन्न गरिएको थियो । यसैबीच ठाउँठाउँमा सडक अवरुद्ध हुदाँ बेनी–जोमसोम सिधा सडक सञ्चालनमा भने अझै समय लाग्ने बताइएको छ । केही दिनमा अन्य स्थानको अवरुद्ध सडक मर्मत हुने भए पनि रुप्से झरनाले पक्की पुल नै बगाएपछि सिधा यातायात सञ्चालनमा समस्या हुने भएको छ ।

तपाईको प्रतिक्रिया