कोरोनाभन्दा पार्टीको भाइरसले दुख दियोः मुख्यमन्त्री

समाधान संवाददाता २०७७ साउन २८ गते १२:४१

भाइरसलाई समाप्त पार्ने खोप अनुसन्धान गर्नुपर्छ

Advertisement

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसभन्दा पनि आफ्नो पार्टीभित्रको भाइरसले दुख दिइरहेको सुनाएका छन् ।

Advertisement

मुख्यमन्त्री गुरुङ मंगलबार पोखरामा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले आयोजना गरेको संस्थाको २१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्रीले पार्टीको भाइरसको दुखेसोमात्रै पोखेनन् उक्त भाइरस समाप्त पार्नुपर्ने विचार पनि व्यक्त गरे ।

Advertisement

‘स्थिर सरकार दिने जनतासँग लिएको ऐतिहासिक अभिभारा पूरा गर्ने, लोकतन्त्र र गणतन्त्रको जरासम्म मजबुत बनाउने कुरालाई पुरा गर्नुपर्ने समयमा दलभित्रको भाइरस अन्त्य गर्ने खोपको विकास जरुरी छ । त्यो खतरनाक भाइरसको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘कोरोना नोवल भाइरसको महामारीभन्दा पार्टीको भाइरस खतरनाक छ ।’ अहिले संक्रमणै संक्रमणमा रहेको पनि उनले सुनाए । अत्यासै अत्यासमा छौं, कठिनाइ नै कठिनाइमा छौं, यत्रोचाहिँ भाइरसको महामारीमा छौं, पार्टीको भाइरसले पो झन् बढी दुख दिएको छ,’ उनले भने ।

मुख्यमन्त्री गुरुङले कम्युनिस्टलाई जनताले ५ वर्ष सरकार सञ्चालन गर्न जिम्मेवारी दिएको बेला पार्टीभित्रको भाइरसबाट दुख पाइराखेको बताए । ‘५ वर्ष सरकार चलाउने बेलामा किन झगडा गर्छाैं हामी ? खुरुखुरु सरकार चलाउने,’ उनले भने, ‘कमजोरी ग¥या छ भने पार्टीभित्र छलफल चलाउने हो तर एउटा सानो कमजोरीलाई लिएर सरकार चेन्ज गरेर जनताले दिएको जनमतको अपमान गर्ने अधिकार कुनै नेतालाई छैन । कुनै नेता र हाम्रो पार्टीलाई पनि छैन ।’

मुख्यमन्त्री गुरुङले कम्युनिस्ट पार्टीले इतिहास मेन्टेन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘चाहे त्यो नाकाबन्दीको बेला होस्, चाहे त्यो अन्तर्राष्ट्रिय परिवहनको कुरा होस्, चाहे दुई देशको सम्बन्ध स्थापित गर्ने कुरा होस्, इतिहास निर्माण गरेको पार्टी हो कम्युनिस्ट पार्टी,’ उनले भने, ‘चाहे संविधान निर्माणको नेतृत्व गरेको कुरा होस्, चाहे शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गरेको कुरा होस्, कम्युनिस्ट पार्टीले इतिहास निर्माण गरिरहेको छ, तर अब एउटा इतिहास बनाउन बाँकी छ, त्यो भन्या, जनताका सामु बाचा गरेको कुरा ।’ उनले जनतासँग बाचा गरे झैं कम्युनिस्ट पार्टीले स्थायी सरकार दिन सक्नुपर्ने बताए ।

‘हामी लगातार ५ वर्ष सरकार चलाउँछौं, जनताको समृद्धिमा योगदान गर्छाैं भन्या हैन, हामीले कबुल ग¥या हैन, त्यसो भएर यो सरकारलाई दायाबाया नगरेर काम गर्न दिनुपर्छ,’ उनले भने, ‘१५, ४८, ५१, ५६, ६४ र ७४ मा भएका आम चुनावपछि कम्युनिस्टले मात्रै ५ वर्ष सरकार चलाउन सक्यो भन्ने सन्देश दिनुप¥यो । नेपाल कम्युनिस्ट पार्टीमा जुन भाइरस लागेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ खोप पत्ता लगाउन जरुरी छ, त्यो भाइरसलाई समाप्त पार्न जरुरी छ ।’

पार्टीभित्र लागेको भाइरस पार्टीको विरुद्ध, नेताको विरुद्धमात्रै नभई नेपाली जनताको विरुद्धमा, समृद्धिको विरुद्ध र स्थिरताको विरुद्धमा रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

फोनिजको वार्षिकोत्सवका अवसरमा कञ्चन पत्रकारिता पुरस्कार वितरण भएको थियो । मुख्यमन्त्री गुरुङले उक्त पुरस्कार पुराना पत्रकार रुद्रबहादुर थापा र राजेश राजभण्डारीलाई मंगलबार हस्तान्तरण गरे ।

क्षेत्रीय अस्पतालले असहयोग गर्यो

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना रोकथाम र उपचारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले सहयोग नगरेको आरोप लगाएका छन् । भएको पिसिआर मेसिन चलाउन पनि नमानेको उनले सुनाए ।

चल्ने मेसिन पनि थन्क्याएर राखेको उनको भनाइ थियो । केन्द्रबाट आएका विज्ञले मेसिन चलाएको प्रसंग उनले सुनाए । ‘त्यहाँ (पोखरा क्षेत्रीय अस्पतालमा) पिसिआर मेसिन पहिले नै थियो । त्यो बिग्रेको छ भनियो । चलाउन मानिएन । पदाधिकारीले चल्दैन भने,’ मुख्यमन्त्रीले सुनाए, ‘हामीले यहाँ स्वाब संकलन गरेर टेकु पठाउनुपर्ने अवस्था आयो । पछि प्राविधिक ल्याएर हेर्दा राम्रो काम गर्दोरहेछ ।’ ‘किन चल्दैन भनियो ? चलाउन किन खोजिएन ? पिसिआर परीक्षण गर्ने कुरा, कोरोना संक्रमण विरुद्ध लड्ने कुरा संघीय सरकारको पनि प्राथमिकताको विषय थियो । किन सहयोग गरिएन ?’ उनले भने ।

पोखरामा कोरोनाको संक्रमण अलिअलि बढेको मुख्यमन्त्रीले बताए । ‘आइसोलेसनहरु व्यवस्था गरेका छौं । तर एउटा ठाउँमा ५० जनालाई उपचार गर्ने ठाउँ हुँदा हुँदै पनि ठाउँ छैन ठाउँ छैन भनेर फर्काइरहेको अवस्था छ,’ उनले भने, ‘त्यसै कारणले चाहिँ हामीले आफ्नै सरुवा रोग अस्पतालमा उपचार सुरु गर्या छौं ।’

निजी अस्पतालले पनि सहयोग गर्छु भनेका अवस्था सरकारीबाट भने असहयोग हुनु विरोधाभास भएको उनको भनाइ थियो । ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले यो कोभिड १९ सँग लड्नेबारेमा प्रदेश सरकारलाई किन असहयोग ग¥या छ ? संघको भएर ? संघ सरकारको चाहिँ यो दायित्व होइन ?’ उनले भने । त्यस्ता इभिल थिंकिङ भएकाविरुद्ध आवाज उठाउन मुख्यमन्त्रीले पत्रकारहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया