बाराही ग्रुपले पुर्यो सडकका खाल्डा
समाधान संवाददाता, पोखरा
प्रतिष्ठित व्यावसायिक घराना बाराही ग्रुपले लेकसाइडको मूल सडक मर्मत गरेको छ । निरन्तरको वर्षाका कारण पर्यटकीय राजधानी पोखराको मुख्य आकर्षण लेकसाइडको सडकमा खाल्डाखुल्डी परेपछि सडक मर्मत कार्य सुरु गरिएको हो ।
सोमबार र मंगलबार दुई दिन लगाएर पोखरा महानगरपालिका वडा नम्बर ६ को हल्लनचोकदेखि शान्तिनगर र बाराही चोकदेखि बैदाम चौकीसम्मका १०० भन्दा बढी खाल्डामा रेडी मिक्स भरेर सडक मर्मत गरिएको हो । वडा नम्बर ६ कार्यालयसँग सम्वन्वय गरेर सडक मर्मत गरिएको व्यवसायी पोम नारायण श्रेष्ठले बताए ।
पहिलो चरणको सडक मर्मतमा २ लाख भन्दा बढी खर्च भएको बाराही ग्रुपका निर्देशक वैभव पौडेलले जानकारी दिए । ‘आफूले गर्न सक्ने काममा सरकारलाईमात्रै किन दोष दिनु भनेर काम थालेका हौं । केही ठाउँमा अझै बाँकी छ । त्यसलाई पनि पुर्र्छौं,’ उनले भने । हाल मर्मत गरिएको सडकमा पछि कुनै समस्या आए त्यसलाई पुनः मर्मत गरिने निर्देशक पौडेलले सुनाए ।
पर्यटकीय केन्द्र लेकसाइडको सडक नराम्रो हुँदा पर्यटकहरुमा नकारात्मक प्रभाव पर्ने र दुर्घटनाको जोखिम उच्च भएकाले सडक मर्मत सुरु गरेको निर्देशक पौडेलले बताए । ‘हाम्रो कामले गर्दा अब खाल्डोमा परेर मोटरसाइकल दुर्घटना हुँदैन भन्ने विश्वास छ । यो सानो प्रयास मात्र हो,’ उनले भने ।
सुरुवाती चरणमा मूल सडक मर्मत गरे पनि आगामी दिनमा लेकसाइडका भित्रि सडक पनि मर्मत गर्ने बाराही ग्रुपको योजना रहेको पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया