हेलिकोप्टर कुर्दाकुर्दै बिरामीको मृत्यु

समाधान संवाददाता २०७७ साउन २९ गते २१:१०

एसके थकाली
जोमसोम, २९ साउन

Advertisement

हेलिकोप्टर उडान लगातार मौसम प्रतिकुलताका कारण रोकिएपछि मुस्ताङको जोमसोम अस्पतालमा बिरामीकोे मृत्यु भएको छ ।

पोखरा—जोमसोम उडान हुन नसक्दा लोमान्थाङ गाउँपालिका—४ छोनुपकी ५८ वर्षीया ढोका गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

Advertisement

उनी जन्डिसका बिरामी रहेको अस्पतालका डाक्टर साजन बरालले जानकारी दिए। १०/१२ दिन अघिदेखि नै जन्डिसले शरीरको सबै भाग पहेंलो भइसकेको थियो ।

उनलाई उपचारका लागि पोखरा लैजाने तयारी थियो । जन्डिसले मस्तिष्कलाई असर गर्ने, अचेत हुने, शरीर काप्ने र शरीर लरखराउने आदि हुने डाक्टर बरालले बताए ।

Advertisement

बिरामीलाई आकस्मिक सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्नेमा त्यो सुविधा उपलब्ध नभएको डा. बरालको भनाइ छ ।

यसअघि जन्डिसग्रस्त महिला बिरामीलाई उपचारका लागि पोखरा लैजान उपल्लो मुस्ताङबाट आइतबार साँझ जोमसोम ल्याइएको थियो । हेलिकोप्टरबाट पोखरा लैजान हेलिकोप्टरको सहजीकरण गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले गरेका थिए ।

प्रभु हेलिकोप्टर प्रालिको उडानका लागि सोमबार गृह मन्त्रालयबाट चार्टर उडान अनुमति लिइएको थियो । बिरामीलाई पोखरा लैजान सांसद बिष्टले आधा खर्च व्यवहोर्ने र आधा बिरामी पक्षले व्यवहोर्ने भनिएको थियो । सोमबार बिरामी र बिरामीका आफन्त दिनभर जोमसोम विमानस्थलमा हेलिकोप्टरको पर्खाइमा बसे ।

लगातार मौसम प्रतिकुलताका कारण हेलिकोप्टर उडान हुन नसकेको सांसद बिष्टले जानकारी दिए । हेली उडान नभएपछि बिरामीलाई जोमसोम अस्पतालमा राखियो । त्यसपछिका २ दिनसम्म मौसम खुला र बिरामीलाई उपचारका लागि पोखरा लैजाउँला भन्ने बिरामीका आफन्तको योजनामा मौसमले साथ दिएन ।

असार २८ गते र साउन ५ गतेको अविरल वर्षाले बेनी—जोमसोम सडक बाढीपहिरो र नदी कटानले अवरुद्ध भएपछि सडक यातायात ठप्प छ । सडक असहजता र मौसम प्रतिकुलताका कारण मुस्ताङका बिरामीले समयमै भरपर्दो उपचारका लागि वञ्चित छन् ।

तपाईको प्रतिक्रिया