पर्यटन मजदुरलाई राहत
पोखरा
पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड— १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको बताए । उनले सरकारले भ्रमण वर्ष— २०२० लाई घोषणा गरेपछि पर्यटन क्षेत्रमा व्यवसायीले करौडौं लगानी बढाएको र लगानी डुब्ने अवस्थामा रहेको धारणा राखे । सरकारले पनि पर्यटन क्षेत्रमा परेको असर अवस्थालाई मिल्नेसम्मको सहयोग गरेको उनका भनाइ थियो ।
पर्यटन व्यवसायी महिलाहरुले पर्यटन क्षेत्रमा गर्दै आएको सामाजिक कार्यसँगै संकटको अवस्थामा मजदुरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको बताए । उनले पर्यटन क्षेत्रमा पछिल्लो दिनहरु निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाउँदै समस्यामा सजगताका साथ अगाडि बढ्न आग्रह गरे ।
वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रमा परेको संकटमा अहिले धैर्य भएर सामना गर्नुपरेको बताए । कोरोनाको संक्रमण वडा देखिए पनि आत्तिएर भन्दा सुरक्षित भएर यसबाट जोगिनु पर्ने बताए ।
महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले पर्यटन क्षेत्रमा लागेका मजदुर र व्यवसायी एक सिक्काका २ पाटा रहेको बताए । उनले यस्तो अवस्थामा एक अर्कालाई सक्दो सहयोग गर्नुपर्ने उद्देश्यका साथ संस्थाले वार्षिक उत्सव पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताए ।
लायन्स क्लब अफ पोेखरा अञ्जुलीको तर्फबाट डिस्ट्रिकका एनएलएफ चिफ लायन दुर्गा ढकालले व्यवसाय सँगैसँगै मानवीय सेवामा पनि व्यवसायी महिला सक्रिय रहेको धारणा राखे ।
कार्यक्रममा पर्यटन क्षेत्रमा काम गर्ने ३० जना मजदुरहरुलाई चामल, दाल, तेल नुन लगायतका सामग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया