सकसमा शिक्षक
कृष्ण तिमिल्सिना
यो लकडाउन अवधिमा विश्वभर अर्बौ विद्यार्थी प्रथामिकदेखि विश्वविदालयसम्म प्रत्यक्ष शिक्षा ग्रहण गर्ने शैक्षिक प्रक्रिया बाट प्रभावित भए । नेपालमा मात्र करिब ५० लाख विद्यार्थी प्रत्यक्ष शिक्षा ग्रहण गर्ने प्रक्रियाबाट प्रभावित छन् । लाखौं शिक्षकहरू सकसमा छ्न कि के गर्ने के नगर्ने ? ६ महिनादेखि कहिले अनलाइन कहिले प्रत्यक्ष घर टोल मा कहिले लुकी छिपी प्रत्यक्ष अप्रत्यक्ष विद्यालयमा पढाउँदै गरेका शिक्षक हरूका लागि यो समय ज्यादै पीडादायी र कष्टकर समय भएको छ ।
प्यारा विद्यार्थीसँग कक्षा कोठामा अन्तरक्रिया गर्दै रमाउँदै र हात समाउँदै पढाउने तीब्र इच्छा छ
अनलाइन शिक्षामा सबै विद्यार्थीको पहुँच पुर्याउने क्षमता नराख्ने शिक्षक न ढुक्कसँग पढाउन सके न ढुक्कसँग घरमा बस्न सके । शैक्षिक वर्षभित्र कि स्वअध्यायन, कि अध्यापनका पूर्व तयारी, कि प्रश्नपत्र निर्माण, कि उत्तरपुस्तिका परीक्षण, कि नतिजा निर्माण प्रयोग सश्लेषण विश्लेषण अतिरिक्त कक्षामा व्यस्त हुने शिक्षक यो लकडाउनले खासै प्रयोगात्मक रुपमा यी सबै अवसरबाट वञ्चित भए ।
विद्यालयका शैक्षिक प्रशासन, नतिजा, भर्ना, शैक्षिक सामग्री निर्माण, तथ्यांक निर्माणमा लागि रहेका शिक्षकहरू आफूले तयार पारेका ती शैक्षिक सामग्री कक्षाकोठा मा प्रयोग गर्न नपाउदै नष्ट हुने कि भन्ने चिन्तामा छन् । अनलाइन मार्फत् दर्जनौं तालिमबाट शिक्षण कौशल सिकेका शिक्षकहरु त्यसलाई कक्षामा विद्यार्थीबीच कति बेला पु¥याउने भन्ने चिन्तामा छन् । तालिमको ज्ञान कक्षामा नपुग्दै मर्ने हो कि भन्ने ठूलो सकसमा छन् । यहि सकसका बीचमा कहिले अभिभावकको निर्देशन, कहिले विद्यालय व्यवस्थापन समितिको निर्देशन कहिले वडा शिक्षा, नगर शिक्षा, प्रदेश सरकार, संघीय सरकार गृह प्रशासनका निर्देशनका चाङले थिचिनु पर्ने सकसमा छन् । काम नै नगरी विद्यार्थी अर्कोतिर नपढाइ हाजिर मात्र गरी तलब खाए भन्ने सुन्नु पर्ने सकस । यस्तो सकसमा बाँचेका शिक्षकलाई शिक्षा विज्ञका भनाइले केही राहत त दिन्छ । तर मन मान्दैन । ती प्यारा विद्यार्थीसँग कक्षा कोठामा अन्तरक्रिया गर्दै रमाउँदै र हात समाउँदै पढाउने तीब्र इच्छा छ । शिक्षाका विज्ञहरू भन्छन्, एक वर्ष स्कुल कलेजको पढाई ढिलो भए आकाश खस्दैन । एक वर्ष ढिलो भएर कसैको भविष्य सोत्तर हुँदैन । धैर्य गर्नुहोस सबैभन्दा पहिला सुरक्षित रहनुहोस १५ वर्षको उमेरमा क÷ख सिकेर पिएचडी गर्नेको पनि हामीले जीवन कथा पढेका छौं ।
फिनल्यान्डमा स्कुल सुरु भर्ना हुने उमेर ७ वर्ष हो । त्यहाँका विद्यार्थी विश्वका उत्कृष्टमध्येमा पर्छन् । अब २०७७ सालको शैक्षिक सत्रलाई कसरी व्यवस्थापन गर्ने, महत्वपूर्ण विषय पढाएर समायोजन गर्ने वा २०७८ मा समय समायोजन गर्ने शिक्षा विज्ञ, शिक्षाका जानकारसँग सल्लाह गरौं ।
ख्यालख्यायालको परीक्षा लिने र प्रमाण पत्र दिने नाटक नगर्दा राम्रो होला, काम पनि नगर्दा राम्रो होला । शिक्षण सिकाइ एउटा जीवन पर्यन्त प्रक्रिया हो । कर्मकाण्ड होइन । त्यतिकै पूरा भयो भन्नलाई । सिकाई त जीवनभर चलिरहने प्रक्रिया हो जीवन भोगाइ । माहामारी के हो ? स्वास्थ्यको महत्व स्वास्थ्य क्षेत्रमा राज्य कमजोर र सबल हुँदा मानव जीवनलाई कस्तो प्रभाव पार्दो रहेछ रोगसँग लड्ने क्षमता विस्तार, पारिवारिक माया सदभावको महत्वजस्ता विश्व विज्ञान स्वास्थ्य क्षेत्रको विशाल ज्ञान प्राप्त गर्ने ठुलो खुल्ला विश्व विद्यालय हो यो माहामारी । यो समयमा टेलिभजनका समाचार, सामाजिक सञ्जालमा विज्ञका विचार अध्यायनका महासागर हुन् ।
यिनै लाखौं लाख ज्ञानरुपी स्रोतबाट ज्ञान प्राप्तिको मृगतृष्णा पूरा गर्न शिक्षकले विद्यालय, विश्वविद्यालय र विद्याथीलाई अनुरोध गर्नु उपयुक्त हुन्छ ।
विद्यार्थी घर परिवारमा बसेर पनि धेरै कुरा सिक्न सक्छन् । संसार बुझ्न ६ वर्ष नपुगेकाको बच्चा र ७० वर्ष कटेको ज्येष्ठ नागरिकको कुरा सुन्नुहोस् । महामारीका बारेमा धारणा बुझ्नुहोस् । इतिहासका कुरा सुन्नुहोस् । सलह किराको इतिहास सुन्नुहोस । बाल्यकालका, जवानीका माया प्रेमका कुरा गर्नुहोस, जीवन र जगतको विषयमा घरमै कुरा गर्नुहोस् । त्यति ठूलो विश्व विद्यालय घरमै छ ।
तपाईं ज्ञान प्राप्तिको भोकले लकडाउन तोड्ने काममा नलाग्नु होस् । तपाईंको घरमा बालबालिका वा किशोरकिशोरीलाई सिकाइको वातावरण कसरी निर्माण गर्ने भन्ने बारे बरु विज्ञहरूले सञ्चार माध्यमबाट भनेका कुरा सुन्नुहोस, पढ्नुहोस् । सार्वजनिक यातायात, सिनेमा हल, पार्टी प्यालेस, भेला समारोह र स्कुल कलेजमा सामाजिक दुरी कसै गरे पनि सम्भव हुन्न । त्यसैले यो नखोली पनि सिक्न सकिन्छ भन्ने भावना र उच्च मनोवल राख्दै वैकल्पिक शिक्षण प्रक्रिया मार्फत् निरन्तर शिक्षण सिकाईमा लाग्न म सम्पूर्ण गुरुहरुमा अनुरोध गर्दछु ।
त्यसैले ठूलो सकसमा नबस्नुहोस् । धैर्य गर्नुहोस् । संसारले यो माहामारीरुपी विश्वविद्यालयबाट निरन्तर ज्ञान प्राप्त गरिहेको छ भन्ने सम्झनुहोस् ।
तपाईको प्रतिक्रिया