नआत्तिनोस्, गण्डकीका ९० प्रतिशत संक्रमित निको भइसके
अनुप पौडेल, पोखरा
बागलुङ नगरपालिका–३ गौंडाकोटकी मनकुमारी पौडेलमा २० चैतमा कोरोना पोजेटिभ देखियो । १५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । उच्च आत्मबलले नै उनले कोरोना भाइरसलाई जितिन् ।
‘सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ,’ अस्पतालबाट घर जाँदै गर्दा उनले भनेकी थिइन्, ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।’
मधुमेह र उच्च रक्तचापबाट ग्रसित उनी ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल फर्किएकी थिइन् । नेपालकी छैटौं कोरोना संक्रमित पौडेलको उपचार धौलागिरी अञ्चल अस्पतालले गरेको थियो ।
…
चैत पहिलो साता फर्किने गरी मुस्ताङको छैरोस्थित शरणार्थी शिविरबाट ८३ वर्षे वृद्ध मंसिरमा काठमाडौं गए । तर एक्कासि घोषित लकडाउनले उनकी श्रीमती, छोरी र नातिनी काठमाडौंमै रोकिए ।
३१ जेठमा बसमा जिल्ला फर्किएका उनी मुस्ताङको पहिलो संक्रमित बन्न पुगे । बुवामा कसरी कोरोना स¥यो भन्नेमा छोरी डोल्मा छिरिङ र ज्वाइँ छेवाङ राप्टेन पनि अनभिज्ञ छन् ।
६ असारमा कोरोना पोजेटिभ देखिएका ती वृद्ध १० दिनमा निको भएर घर फर्किए । अहिले उनी शिविरमै बसिरहेका छन् । ‘बुवा त एक्दम तन्दुरुस्त हुनुहुन्छ । हिँड्डुल गरिराख्नुभएको छ । क्याम्पमै छौं । अहिले त यहाँ कोरोनाको डरै छैन,’ ज्वाइँ राप्टेनले समाधानसँग भने ।
…
मुस्ताङका वृद्ध र बागलुङकी पौडेल जस्तै गण्डकी प्रदेशमा हालसम्म १६ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमध्ये १५ सय २० (९०.३७ प्रतिशत) संक्रमित निको भएका छन् । गण्डकीमा संक्रमितमध्ये अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, गोरखा र कास्कीका १/१ जना छन् ।
गण्डकी प्रदेशमा हाल संक्रमितको संख्या अरु प्रदेशकोभन्दा कम भए पनि ढुक्क हुने अवस्था नरहेको स्वास्थ्य अधिकारीको भनाइ छ ।
लकडाउन खुकुलो भएकाले ढुक्क हुनुभन्दा अझ बढी सचेत हुनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बताउँछन् । ‘निको हुने दर बढी छ । तर यस्तो भन्दैमा ढुक्क हुनु हुँदैन । लकडाउन खुकुलो भएकाले जोखिम बढिरहेको छ,’ उनले भने ।
सेकेन्डेरी कन्ट्याकका व्यक्तिमा कोरोना पुष्टि हुने संख्या बढे त्यसले जोखिम सिर्जना गर्ने उनले सुनाए । गण्डकी प्रदेशका आइसोलेसन र क्वारेन्टाइन अरु प्रदेशको भन्दा स्तरीय हुनु राम्रो पक्षका रुपमा लिनुपर्ने निर्देशक शर्माको भनाइ छ ।
स्याङ्जाका स्वास्थ्य प्रमुख यामप्रसाद शर्मा संक्रमितको संख्या बढी भए पनि निको हुनेको दरले काममा उत्साह थपिएको बताउँछन् । ‘८२ प्रतिशतभन्दा बढी संक्रमित निको हुनुभएको छ । यसले सक्रिय संक्रमित र स्वास्थ्यकर्मीमा उत्साह थपेको छ,’ उनले भने ।
संक्रमण समुदायमा फैलिएको पाइए पनि त्यसले स्याङ्जामा भयावह रुप लिएको छैन । संक्रमितको संख्या बढ्न सक्ने आँकलन गर्दै प्रशासनले जिल्लालाई ४ भदौसम्म सिल गरेको छ । स्याङ्जामा हालसम्म २ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये २ सय ५६ जना निको भएका छन् ।
गण्डकीमा अहिलेसम्म ३२ हजार ३ सय ४६ नमुना परीक्षण भइसकेको छ । गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ । कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन् ।
कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । दुवै ल्याबमा गरेर दैनिक ३ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।
प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरेर कोरोना परीक्षणका लागि २८ प्राविधिक छन् । क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर २ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।
कुल संक्रमित : १६८२
निको भएकाको संख्या : १५२०
सक्रिय संक्रमित : १५७
मृत्यु : ५
हाल क्वारेन्टाइनमा रहेकाको संख्या : १११२
आइसोलेसन संख्या : ३८ (१३९७ बेड)
क्वारेन्टाइन संख्या : ७९० (१० हजारभन्दा बढी बेड)
तपाईको प्रतिक्रिया