पाेखराकाे अमरसिंहमा कृषि उपज संकलन केन्द्र

समाधान संवाददाता २०७७ साउन ३२ गते ७:२०

समाधान संवाददाता
पोखरा

Advertisement

उत्पादित तरकारी तथा फलफूलको बिक्री वितरणको लागि आजीवन कृषि सहकारी संस्था लिमिटेडले पोखरा १० अमरसिहचोकमा आजीवन कृषि उपज केन्द्र स्थापना गरेको छ ।

पोखरा १४ चाउथेमा कृषि फर्म खोलेको सहकारीले १२ लाख ९६ हजारको लागतमा कृषि उपज संकलन केन्द्र स्थापना गरेको हो । सहकारीको दोस्रोे वार्षिक साधारणसभाको अवसरमा प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले शनिबार कृषि उपज संकलन केन्द्रको उद्घाटन गरे । प्रतिनिधिसभाका सदस्य अधिकारीले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत केन्द्र निर्माणको लागि १० लाख बजेट विनियोजन गरेका थिए ।

Advertisement

पूर्वमन्त्री अधिकारीले ३ खम्बे अर्थनीति अन्तर्गतको महत्वपूर्ण हिस्सा भएको सहकारीले स्थानीय उत्पादन बढाउन र रोजगारीको सिर्जनामा ध्यान दिनु पर्ने बताए । ‘आर्थिक क्रियाकलाप बढाएर धेरै भन्दा धेरै उत्पादन गरे बजारीकरणको समस्या छैन,’ उनले भने, ‘उत्तर तथा दक्षिण दुबैतर्फ नाका खोलेपछि नेपाली उत्पादनहरुको बजार प्रर्वद्धनका लागि सहज भएको छ ।’ देशभक्त नागरिकले स्वदेशी उत्पादनमा जोड दिनु पर्ने उल्लेख गर्दै पूर्वमन्त्री अधिकारीले सरकार, निजी क्षेत्र र सहकारी मिलेर राष्ट्रिय पुँजीको निर्माणमा लाग्नु पर्ने बताए ।

पोखरा महानगर कृषि महाशाखाका प्रमुख मनहर कडरियाले सहकारीले स्थापनाको एक वर्षमा कृषि फारम र बिक्री केन्द्र खोलेर स्थानीय उत्पादनलाई बजारी करणमा सहयोग पु¥याएको उल्लेख गरे । आम उपभोक्ताको लागि स्थानीय उत्पादन प्राथमिकतामा नपर्दा बजारीकरणमा समस्या रहेको उनको भनाइ छ ।

Advertisement

सहकारीका अध्यक्ष हितमान गुरुङले पोखरा महानगरको वडा नम्बर १०, १२ र १४ कार्य क्षेत्र रहेको सहकारीले कृषि क्षेत्रमा स्थानीय उत्पादन ग्रेडिङ र बजारीकरणमा विशेष काम गर्ने जानकारी दिए ।

केन्द्रबाट गण्डकी प्रदेशमा उत्पादन भएका तरकारी र फलफूलहरुको बिक्री वितरण गर्ने उल्लेख गर्दै अध्यक्ष गुरुङले अर्को वर्ष गुणस्तरीय शीत भण्डार (कोल्डस्टोर) खोल्ने योजना सुनाए ।

कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष तथा सहकारीका सल्लाहाकार विश्वप्रकाश लामिछाने, सहकारीका उपाध्यक्ष पवित्रादेवी गुरुङ, सचिव राजेन्द्र पौडेल लगायतले सहकारीका बारेमा बोलेका थिए ।

कार्यक्रममा कृषि फर्म र कृषि उपज संकलन केन्द्र स्थापनामा योगदान गरेका सेयर सदस्य रामकुमारी गुरुङ, नेत्रनारायण पौडेल र विष्णुमाया गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष हितमान गुरुङको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक प्रकाश क्षेत्रीले पेस गरेको प्रतिवेदन सुझावसहित पारित गरेको सहकारीका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया