कोरोना संक्रमित बाबाकी छोरीको बकपत्र

समाधान संवाददाता २०७७ साउन ३२ गते १६:२०

सिर्जना न्युरे

Advertisement

जीवन संघर्ष हो । हरेक उकाली ओराली हुँदै यात्रा गर्नुपर्छ । कहिले सुखैसुख त कहिले नसोचेको दुःख पनि आउँछ । त्यही सुखदुःख अनि समयसँगै निरन्तर बहेर अघि बढ्नुपर्छ । सबैले जस्तै मैले पनि मेरो जीवनका असहजतालाई सहजतामा बदल्दै अघि बढ्दै छु । हो कति दुःख गरेको मान्छे पनि कहिलेकाहीँ सानो कुरामा कमजोर हुन्छ । मैले त्यस्तै महसुस गरें नदी आडैमा उभिए पनि कुनै व्यक्ति पानी पिउन नपाएर छटपटिएझैं । सबैथोक छ तर केही छैनजीवन शून्य छ । अब कुरा गरौं यस्तो किन भयो त ?


लाग्यो, बाबाको त पोजेटिभ रिपोर्ट आयो त्यही रिपोर्ट हाम्रो पनि हो । ममी, भाइ अनि मेरो अवस्था शब्दमा पोख्न नमिल्ने जस्तै भयो ।

Advertisement

तपाईंले अनि मैले मात्र नभएर यस विशाल संसारमा रहेका हरेक देश हरेक व्यक्तिले अहिले संघर्ष गरिरहेको कोरोनाका कारण । हुन त म आफू कोरोना संक्रमित होइन तर कोरोनाका कारण नेपाल लकडाउन हुँदैछ भनेपछि कामकै सिलसिलामा काठमाडौं गएकी म लकडाउनपूर्व नै घर फर्कें। हाम्रो समाजमा कोरोनाले यति छाप छोडेको रहेछ भन्ने त्यतिबेला बल्ल महसुस गरेंजब म घरमा आएँ तबकेही छिमेकीले मसँग सोध्नुभयो– ‘विमानस्थलबाट किन आएकी ? त्यहाँ विदेशबाट जहाजमा आउनेलाई कोरोना लागेको छ रे ।’मानौं जहाजमा आउनेलाई मात्र कोरोना लाग्छ अरूलाई लाग्दैन ।

कोरोना संक्रमण फैलनुभन्दा २ महिना पहिला म छिमेकी देशबाट घर आएकी थिएँ र त्यसपछि काठमाडौं गएकी थिएँ । कोरोनाकै कारण पुनः २ महिना नहुँदै म घर फर्कें । २÷४ दिन त घरबाट बाहिर निस्कन पनि मन लागेन । त्यति मात्र त सामान्य थियो तर यहाँ त जिम्मेवार व्यक्तिको असावधानीले गर्दा मैले मानसिक तनाब बेहोनुपर्‍यो ।

Advertisement

एकजनासाथीले एकदिन हाम्रो घर अगाडिबाट हिँडिहँदा बोलाएर मलाई सोध्नुभयो– ‘काठमाडौं भनेर तिमी भारत गएकी हौ र किन घर बसेकी ?तिम्रो नाम त भारतबाट आउनेको लिस्टमा छ ।’उहाँको कुरा सुनेर म छक्क परेँ । जिम्मेवार व्यक्तिले नसोधीकन र नबुझीकन मेरो नाम पनि लिस्टमा राख्नुभएछ । म भारत त गएकी थिएँ तर २०७६ माघ १ गते नै घर आइपुगेकी थिएँ । त्यसपछि १५ दिनको घरको बसाइपछि काठमाडौं गएकी थिएँ ।

कोरोनाका समाचारहरू सुनिरहँदा लाग्यो परिवार सबैभन्दा ठूलो हो र म परिवारसँगै हुनुपर्छ । ममी र भाइको खुब याद आयो । विमानस्थल हुँदैघर फर्केको हो । घर आएपछि ममी र भाइ त सँगै हुनुहुन्थ्यो तर बाबा र सानो भाइ रोजगारीका सिलसिलामा भारतमा रहेका कारण चिन्तित हुने विषय नै त्यही बन्यो । नेपालमा भन्दा बढी जोखिम भारतमा छ भन्दा अझै डर लाग्थ्यो । डराएर अनि चिन्तित भएर पनि केहीहुँदैन भन्ने थाहा थियो तर मनले कहाँ मान्थ्यो र दिनहँु समाचारका हेडलाइन यति संक्रमितर यति व्यक्तिको मृत्यु भन्ने आउँछ ।

भारतबाट नेपाल आउने सबैलाई कोरोना पोजेटिभ देखिएपछिको अवस्थामा भारतबाट आउने व्यक्तिका हरेक परिवार र आउने व्यक्तिलाई समाजले गरेको तुच्छ व्यवहार मैले नजिकबाट नियालिरहेकीथिएँ । म आफैले पनि त्यो सबै भोग्नुपर्छ भनी अरुको देखेर आत्तिएकी थिएँ । मैले कसरी आफैले त्यस्तो उपेक्षात्मक व्यवहारको सामना गर्नुपर्छ भनेर सोचिरहेकी थिएँ ।

आफ्नै गाउँठाउँमा काम गर्ने र घरमा बस्नेलाई समेत कोरोनाले बिहानबेलुकाको छाक टार्न धौ धौ भएर राहतको लाइनमा थिए । कोरोनाले आर्थिक क्षेत्र धराशायी बनाएको छ । कतिले रोजगारी गुमाए । रोजगारी गुमेसँगै बिहानबेलुकाको छाक टार्न मुस्किल परिरहेको छ । लकडाउनका कारण रोजगारी गुमाएपछि सहर पसेका गाउँ फर्किए । त्यो पनि हजारौँ किलोमिटर भोकभोकै,तिर्खाले तड्पिँदै र खाली खुट्टा नै हिँडेर घर फर्किन लागेकाविषयहरू समाचारका हेडलाइनमा दिनहुँ सुनिथ्यो । जसका कारण अति अजिब छ है दुनियाँको सोच नै मेरो दिमागमा यही आउँथ्यो ।


बाटामा हिँड्ने छिमेकीहरु हामीले कुनै ठूलै अपराध गरेका छौं कि झैं गरी हेर्थे र कानाखुसी गर्दै हिँड्थे ।

हो, यस्तै समस्या संसारभरिका मान्छेले भोग्दा म र मेरो परिवार पनि कहाँ अछुतो रहन्थ्यो र ? बाबा चेन्नइमा होटल व्यवसायमा आबद्ध हुनुहुन्थ्यो । भारतमा संक्रमित बढेसँगै त्यहाँको सरकारले पनि लकडाउन ग¥यो १ दिन २ दिन वा हप्ता वा महिना दिन यति मात्रै हुन्थ्यो भने दैनिकी सहज हुन्थ्यो । तर कहिलेसम्म लकडाउन भन्ने थाहा नभएपछि र काम नभएपछि सबैलाई आआफ्नो देशको सम्झना आउनु, मरेपनि बाँचेपनि परिवारसँग बस्न मन लाग्नु त मानवीय स्वभाव नै हो । हो, यस्तै रहर बाबाका मनमा पनि आयो । हामीलाई पनि लागेको थियो बाबा, ठूली ममी अनि भाइहरु आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

दिनहुँ कुरा त हुन्थ्यो फोन म्यासेन्जरमा तर नजिकै भएको महसुस फोनमा बोल्दैमा नहुँदो रहेछ । अरु कोही आउनुभएन अथवा भनौं परिस्थिति मिलेन तर बाबा असार २ गते बसबाट नेपाल आउनुभयो । बाबा आउनुभयो भन्ने खुसी एकातिर थियो भने अर्कातिर समाजले गर्ने व्यवहारमा आउन थालेको परिवर्तनले मन दुखाएको थियो । जे होस् बाबाको माया सबैभन्दा ठूलो लाग्यो त्यतिबेला । दुःखलाई सामान्य सोचें अनि खुसी पनि भएँ। म मात्रै कहाँ हो र बाबा आउने भएपछि ममी र भाइ पनि उत्तिकै खुसी । बाबाआमालाई सन्तानको खुसी देख्दा जति खुसी लाग्छ त्यसभन्दा बढी खुसी ममीको अनुहारको खुसीले मलाई दिलायो ।

बाबा त आउनुभयो तर भारत भनेर नाम नै काफी भएको ठाउँमा भारतमा नै बसेर आएको मान्छेलाई हेर्ने दृष्टिकोण यति नकारात्मक थियो कि जो भारतबाट आउँछन् उनीहरुले कोरोना नै उपहारजस्तै लिएर आउँछन् र जबरजस्ती कोरोना सारिदिन्छन् । भारतबाट आउने मान्छे अनि उसको परिवारका सदस्य सबैभन्दा ठूलो अपराध गरेका अपराधी हुन् कि जस्तैभन्ने ठानेर समाजमा व्यवहार गरिन्छ । बाबा आउनुभयो र जनक माविमा निर्माण गरिएको क्वारेन्टिनमा उहाँलाई पनि राख्ने व्यवस्था मिलाइयो ।

बाबासँगै क्वारेन्टिनमा घरबाट म मात्र गएकी थिएँ । आफै सञ्चारक्षेत्रमा रहेर काम गर्ने अनि स्वास्थ्य कार्यक्रम चलाउने मान्छे सजग र सचेत पक्कै पनि थिएँ ।केही दिनपछि बाबासँगै घरमा हुन्छौँ,केही दिनलाई किन हेलचक्र्याइँ गर्ने भन्ने सोचले नै म एक्लै गएको थिएँ । विश्वभर फैलिएको कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनका मापदण्ड नियम सबैले पालना गर्नुपर्छ नै गर्न हँुदैन त कहाँ भनेका थियौँ र ? सर्तक हुनुपर्ने ठाउँमा सान्त्वनाका शब्द कसैले किन खर्च गरोस् ? घरमा आएर बसे उनीहरुसँग बोल्दा नै कोरोना सर्छ, त्यो बाटो हिँड्न हँुदैन समेत गाउँभरि नै भनेको सुनियो । बाबालाई क्वारेन्टिनमा राखेर आउँदाको मानसिक तनाब अनि भारतबाट आएका सबैलाई कोराना लागेका समाचारले झन् चिन्ता थपेको थियो ।

क्वारेन्टिन व्यवस्थापन राम्रो छ, खाना र खाजाको व्यवस्था राम्रो छ भन्नुहुन्थ्यो बाबाले तर अन्य व्यक्तिको व्यवहार भने पूरै परिवर्तन भएको थियो । दिनहुँ हाम्रो घरमा आउने छिमेकी र साथीभाइहरु बाबालाई क्वारेन्टिनमा राखेको थाहा पाएपछि घर आउनै छाडे । अरुले जे भने पनि जे गरे पनि बाबालाई ठीक छ भनेर मैले चित्त बुझाउँथे । ९ दिन क्वारेन्टिनमा बसेपछि बाबाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरियो । यसबीचमा अपराधीझैं व्यवहार गर्ने अनि माया र हौसला दिने दुवैथरिका मान्छेलाई नजिकैबाट चिन्ने मौका मिल्यो । धेरैले सोध्थे रिपोर्ट के आयो कस्तो छ ?भनेर । त्यसले चिन्ता झनै बढाउँथ्यो । के गर्न नै सक्थेँ र ठीक छ रिपोर्ट केही दिनमा आउँछ रे भन्थेँ ।

बाबा स्वस्थ देखिनुहुन्थ्यो हामी पनि ढुक्क थियौं कि बाबाको रिपोर्ट नेगेटिभ आउँछ भनेर तर सोचेजस्तो कहाँ हँुदो रहेछ र नसोचेको रिजल्ट आयो । कोरोना संक्रमितको नाम र संख्यामा मेरो बाबाको नाम पनि थपियो अनि एउटा संख्या बढ्यो । अरुका लागि १ संख्या बढेहोला तर हाम्रा लागि सारा संसारका मान्छेलाई कोरोना लागेजस्तै भयो । त्यसपछि त झनै हामीलाई हेर्ने नजर फरक भयो ।

लाग्यो, बाबाको त पोजेटिभ रिपोर्ट आयो त्यही रिपोर्ट हाम्रो पनि हो । ममी, भाइ अनि मेरो अवस्था शब्दमा पोख्न नमिल्ने जस्तै भयो । बाटामा हिँड्ने छिमेकीहरु हामीले कुनै ठुलै अपराध गरेका छौं कि झैँ गरी हेर्थे र कानाखुसी गर्दै हिँड्थे । कता कता हामीलाई समाजबाट बहिष्कार भएजस्तै आभास हुन्थ्यो । यससमयमा म र मेरो परिवार मात्र होइन मसँग जोडिएका मेरा साथीभाइ अनि परिवारसँग जोडिएका आफन्तले समेत यो समस्या भोग्नुपरेको थियो । टोलका गन्यमान्यको व्यवहार र मेडिकल पढेर स्वास्थ्य क्षेत्रमा काम गर्छु भन्नेको व्यवहार पनि नकारात्मक थियो । सरोकारवाला जनप्रतिनिधिहरु र नजिकैकाले पनि सान्त्वनासमेत दिएनन् । सायद प्राथमिकता फरक परेर हो कि आशा चाहिँ बढी नै लाग्ने रहेछ ।

बाबालाई रजहर प्राकृतिक चिकित्सालयमा लगेर राखियो । सुविधा राम्रो थियो, हुन पनि किन नहोस् देशकै उत्कृष्ट आइसोलेसनको ताज पहिरिएको थियो । खाना र खाजा प्राकृतिक चिकित्सालयमा अर्गानिक थियो । योग र ध्यान सिकाइन्थ्यो । संक्रमितलाई छिटै स्वस्थ बनाउने काम भइरहेको थियो । नगर, प्रदेश र केन्द्रबाट अनुगमन हुन्थ्यो ।

विशेष गरी अस्पतालका निर्देशक डा. विनोद पौडेलप्रति आभारी छु । समयसमयमा फोन गरेर जानकारी दिने र नआत्तिईकन बस्नू, ठीक हुन्छ भनेर सान्त्वना दिनुहुन्थ्यो । हामी पनि केही दिनको अन्तरमा पुग्थ्यौँ । यता समाजमा सान्त्वना दिने आफन्त त थिए नै तर धेरैले हतोत्साही बनाउँथे । बाबालाई रजहर प्राकृतिक चिकित्सालयमा राखेको २/३ हप्तासम्म पनि पिसिआर परीक्षण गर्दा पाजेटिभ रिजल्ट आउँदा मन आत्तिन्थ्यो । डा. विनोद पौडेलको फोनले धेरै राहत महसुस गथ्र्यौं।

यसैबीच एकदिन डा. पौडेलको फोन आयो अनि भन्नुभयो तपाईं आत्तिनुभएको छ, नआत्तिनुस् है निको हुन्छ,कसैलाई छिटो र कसैलाई ढिलो मात्र हो । एकदिन पहिला मात्रै फोन गरेर कुरा गर्नुभएका सरले भोलिपल्टै फोन गरेर नआत्तिन भन्दा डर लाग्यो, धेरै समय हँुदा पनि बाबालाई निको नहुनु, यसरी फोन आउनु ।नाइँ आत्तिएकी छैन भनेँ अनि उहाँले मलाई गैंडाकोटबाट फोन आएको थियो किन निको नभएको के हो भनेर भन्नुभयो ।

त्यसपछि बल्ल महसुस गरें हाम्रो परिवारलाई मात्रै मानसिक तनाव नदिएर अस्पतातलमा नै अप्रत्यक्ष फोन गरेर सोध्ने मान्छे पनि रहेछन् ।

बाबालाई रजहरस्थित प्राकृतिक चिकित्सालयमा राखिएको ३६ दिनका दिन विनोद सरले नै फोन गरेर खुसीको खबर भनेर सुनाउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाबालाई कोरोना जितेको प्रमाणपत्र दिनुभयो । लाग्यो मैले नै कोरोना जितेँ । शरीरमा स्फुर्ती आयो अनि मन चंगा भयो । हुनत कोरोना जितेर आए पनि हरेक व्यक्तिको मानसिकतालाई परिवर्तन गर्न नसकिने रहेछ । आशा छ, हाम्रो परिवारलाई मात्र होइन यो समस्या दिनानुदिन संक्रमितको संख्या बढ्दै छ । भोलि तपाईंको परिवारमा भयो भने कस्तो हुन्छ ?सर्तक र सचेत रहेर सहयोग गर्नुपर्ने होइन र ? आशा छ, कसैको परिवारले यस्तो पीडा भोग्न नपरोस् । कोही संक्रमित र मृत्यु भएको खबर सुन्न नपरोस्।

संक्रमितलाई छिटो निको होस् शुभकामना अर्पण गर्छौं । यस्तो समयमा साथ दिने आफन्त, साथीभाइ, जनक कलेज क्वारेन्टिन व्यवस्थापन समिति, जनप्रतिनिधि अनि रजहर प्राकृतिक चिकित्सालय परिवारप्रति आभारी छु ।

आउनुहोस् सबै मिलेर कोरोनालाई जितौं । संक्रमितव्यक्ति र उसको परिवारलाई उपेक्षात्मक दृष्टि र व्यवहार होइन माया र हौसला प्रदान गरेर आत्मबल बढाउने प्रयत्न गरौं ।
(लेखक, विजय एफएमकी पूर्व सञ्चारकर्मी हुन् ।)

तपाईको प्रतिक्रिया