कोरोना समुदायमै फैलन थाल्यो, सावधान बनौं–मेयर जिसी

समाधान संवाददाता २०७७ साउन ३२ गते १८:२६

समाधान संवाददाता

Advertisement

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सबै खाले सतर्कता अपनाउन नगरबासीसंग आग्रह गरेका छन् ।

उनले पोखराका केही भागमा कोरोना भाइरस समुदाय मै फैलिन थालेको जानकारी दिदै यो फैलावटलाई नरोक्ने हो भने स्थिति भयावह हुन सक्ने दाबी गरे ।

Advertisement

पोखरा महानगरपालिकामा आइतबार बसेको सर्बदलीय बैठकले कम्तिमा १ हप्ता कडा खालको निषेधाज्ञा लगाउन सुझाव दिएपछि समाधानसँग बोल्दै मेयर जिसीले उहाँहरुको सुझावलाई आफूले गम्भिरतापूर्वक लिएको बताए ।

हिजो अस्तिसम्म पहिलो संक्रमित र उसको सम्पर्कमा आएका मानिसमा मात्र कोरोना भाइरस संक्रमण भएको पाइएको थियो भन्दै मेयर जिसीले आजको स्थिति फरक भैसकेको बताए ।

Advertisement

‘पहिलोबाट दोश्रो र दोश्रोबाट तेश्रो तहमा सम्पर्कमा रहेका मानिसमा पनि कोरोना भाइरस संक्रमण भएको पाइएको छ । यसले कोरोना भाइरस समुदाय मै फैलन थाल्यो भन्ने संकेत गर्छ ।’ जिसीले भने ।

पहिलोबाट तेश्रोसम्ममा संक्रमण फैलिएको पोखरा १९ को घटना हो । यस्तो घटना अन्य वडा पनि हुन सक्ने भन्दै जिसीले यस्तो अपिल गरेका हुन् ।

उनले अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे मास्क अनिवार्य लगाउन पनि अपिल गरेका छन् । ‘औषधी छैन, जोगिने एउटै उपाय भनेको संक्रमितको नजिक नपर्ने नै हो ।’ मेयर जिसीले भने ।

उनले राजनैतिक पार्टीले दिएको सुझावका बारेमा सोमबार गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया