भद्रकालीमा फुट अपरेटिङ सिस्टमको पानी टंकी
पोखरा
लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले नेपालमा लायन्स क्लब वर्ष स्थापनाको ५० औं वर्षको अवसरमा सुरु गरिएको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार भद्रकाली मन्दिरमा ५०० लिटरको पानी टंकी निर्माण गरी हस्तान्तरण गरेको छ । टंकीमा अटोमेटिक फुट अपरेटिङ सिस्टम छ । ह्यान्ड वास वेसिन पनि टंकीसँगै जडान गरिएको छ ।
भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीका कार्कीले मन्दिरमा अत्यावश्यक सुरक्षित हातधुने पानी टंकी सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिए । मन्दिरको वरिपरी फुट ट्र्याक बनाउने र ०७२ सालको भूकम्पमा क्षति भएको भद्रकाली मन्दिरलाई करिब ४ करोडको लगानीमा नयाँ बनाउने समेत कार्कीले जानकारी गराए ।
भद्रकाली मन्दिर व्यवस्थापन समितिका सचिव योगेन्द्रमान श्रेष्ठले भद्रकाली मन्दिर करिब २ वर्ष पुरानो रहेको र त्योभन्दा अगाडि गणेश मन्दिर रहेको सुनाए । करिब १०० रोपनीभन्दा बढी जमिनमा फैलिएको भद्रकाली मन्दिरमा केही व्यक्तिहरुले व्यक्तिगत दर्ता गरेको र त्यस अतिक्रमण जमिन १७ वर्ष लगाएर अहिले मन्दिरकै स्वामित्वमा ल्याउन सकेको जानकारी पनि उनले दिए ।
लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले साप्ताहिक कार्यक्रम अन्तर्गत राधाकृष्ण मन्दिर, पस्र्याङमा सरसफाइ तथा मास्क, सेनिटाइजर, ग्लोबस् र खानेपानी वितरण, सिद्ध परोपकार बैदिक गुरुकुल आश्रम ढुंगेसाँघुमा खाद्यान्न, माक्स, औषधि र नगद सहयोग, एडपटेसन कार्यक्रम अन्तर्गत बरपाटन मावि, विन्ध्यवासिनीका शुशन गिरीलाई कक्षा १२ सम्मको छात्रवृत्ति वितरण, चिसाखोला वेद विद्याआश्रममा बटुकहरु तथा गुरुलाई पोसाक तथा न्यानो कपडा वितरण कार्यक्रम, परमहंश मोक्ष आश्रममा वृक्षरोपण, आर्थिक सहयोग तथा बोट बिरुवा गोडमेल कार्यक्रम गरेको छ ।
भद्रकाली मन्दिरमा टंकी हस्तान्तरपछि लायन्सकी डिस्ट्रिक चिफ एड्भाइजर सुचित्रा थापाले माउन्टेन सिटी क्लबको कार्यशैली फरक भएको सुनाइन् । ‘मन्दिरलाई सहयोग गरिएको बेसिन जडान पानी टंकीमा हातले नछोइकन हात धुन मिल्ने फुल प्रोटेक्टेड मेसिन आफूलाई नौलो भएको महसुस भएको छ । यसलाई मन्दिर व्यवस्थापन समितिले सही सदुपयोग गर्नुहुनेछ,’ थापाले भने ।
क्लबका चाटर अध्यक्ष तथा डिस्ट्रिक सिनियर एओजी डोलराज पोखरेल, पूर्वअध्यक्ष तथा डिस्ट्रिक जिएलटी कोर्डिनेटर कृष्णप्रसाद पराजुली, रिजन चियरपर्सन ज्ञानेन्द्रराज कोइराला, पूर्वअध्यक्ष तथा ओएडी डिस्ट्रिक जोन चियरपर्सन हर्कबहादुर अधिकारी (मिरज), निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक चियरपर्सन राजु देवकोटा, प्रथम उपाध्यक्ष मोहदत्त भुसाल, सचिव भोविन्द गिरी, सहकोषाध्यक्ष नवीन केसी, मेम्बरसिप चियरपर्सनद्वय रविन केसी, लायन सुदीप गौतम र पब्लिक रिलेसन अफिसर पदम श्रेष्ठ लगायत सहभागी थिए ।
लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका सचिव भोविन्द गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सह–सचिव एवं डिपार्टमेन्ट चिफ शान्तराज श्रेष्ठ शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष लायन कृष्णप्रसाद कोइरालाले कार्यक्रमको समापन गरेका थिए ।
तपाईको प्रतिक्रिया