सत्यको विनिर्माण
प्रा. विश्वराज अधिकारी
‘सत्यको लागि लुकाउने, छिपाउने केही पनि हुँदैन, निकै ठूलो नोक्सानी हुने भए पनि सत्यलाई छोड्न हुन्न’ महात्मा गान्धी
आजभोलि मलाई महात्मा गान्धीको माथि उल्लेखित भनाइले सत्यको परिभाषा र यसको विनिर्माण समयचक्र अनुसार र समाजको विकासक्रम अनुसार कसरी विघटित भइरहेको छ भन्ने उत्सुकता जागेर आउँछ । सत्यलाई विभिन्न कालखण्डमा विभिन्न दार्शनिकहरुले परिभाषित गर्दै आएको पाइन्छ । इसापूर्वमा प्राचीन दार्शनिक अरस्तुले सत्य भनेको जे हो त्यो हो भन्ने तथा जे होइन त्यसलाई होइन भन्ने साधारण परिभाषा दिँदै सत्य भन्नाले तथ्य र यथार्थमा आधारित गुण हो जसमा मानिसको विश्वास अडेको हुन्छ भन्ने आशय व्यक्त गरेका छन् ।
सत्य भनेको त्याग हो, निष्ठा हो, अनुशासन हो, परम्परा पनि हो
प्राचीन ग्रिसका दार्शनिकहरु सुकरात, प्लेटो र अरस्तुले सत्यको समानता सिद्धान्तलाई प्रतिपादन गरे । समानताको सिद्धान्त भन्नाले हाम्रो बोली र व्यवहारले कसरी कुनै पनि वस्तु र घटनालाई प्रतिनिधित्व गर्दछ र ती घटना र वस्तुको ठिक ढंगले वर्णन गर्दछ भन्ने नै हो । अरू भनौं यथार्थतालाई दैनिक जीवनमा तालमेल राख्न सक्ने निर्णय पनि सत्यभित्र पर्दछ । त्यसरी नै वस्तुगत यथार्थतालाई ठिक किसिमले अनुकरण गर्न सक्नु पनि सत्य हो ।
सरसर्ती हेर्दा सत्य दर्शन, कला, साहित्य, धर्म शास्त्र तथा विज्ञानको क्षेत्रमा अधिकतम छलफल, वादविवाद तथा मत मतान्तर भएको विषय पनि हो । सत्यलाई कसरी परिभाषित गर्ने र ज्ञान निर्माणमा सत्यको भूमिका कस्तो हुन्छ भन्ने अहम् सवाल आज पनि उत्तिकै टड्कारो रूपमा उठेको छ । सबैभन्दा जटिल विषय भनेको सत्यलाई परिभाषित गर्नु नै हो । व्यक्ति वा समाजले के का आधारमा कुनै पनि विचार, शब्द, वाक्य वा विश्वासलाई सत्य मान्ने र तदअनुरूप समाजलाई सचेत बनाई सत्य र असत्यको मानक स्थापित गर्ने विषय पनि सान्दर्भिक नै हुन आउँछ ।
हामीले बुझ्नुपर्ने अर्काे पक्ष केहो भने तार्किकता, क्रमिकता र निरन्तरता पनि सत्य साबित गर्ने वा सत्यको उद्घाटन गर्ने सशक्त माध्यमहरु हुन् । यस अर्थमा समाजमा घटित घटना परिघटना, ऐतिहासिकता, राजनीति, धर्म, संस्कार, सभ्यता जस्ता विषयलाई सत्यको प्रयोगात्मक तथा अनुसन्धानात्मक पक्षलाई जोडेर बारम्बार अभ्यासबाट सिद्ध गर्ने विधि पनि नयाँ होइन ।
विलियम जेम्सले सत्य यस्तो गुण हो जसको प्रभावकारिता व्यवहारमा अभ्यास गरिरहेर मात्र प्रमाणित हुन्छ भनेका छन् । अमेरिकाका प्रयोगवादी दार्शनिक जोन दुबेले सत्यलाई यस्तो खोज भनेका छन् जसको वैज्ञानिक, प्राविधिक, सामाजिक, दार्शनिक वा सांस्कृतिक आधारमा समय चक्र सँगै अनुसन्धान र खोजी गर्ने समुदायले सिद्ध गर्ने, प्रष्ट पार्ने वा इन्कार गर्ने साहस राख्दछ ।
सामाजिक निर्माणवादका अनुसार सत्य भन्नाले ऐतिहासिक र संस्कृतिले; समाज र व्यवस्थले निर्माण गरेको सामाजिक प्रक्रिया हो र यसको निर्माण शक्ति सङ्घर्षका आधारमा हुने गर्दछ । गाम्बाटिस्टा भिक्का, हेगेल र माक्र्सले पनि सत्य आफै निर्माण हुने सामाजिक प्रक्रिया हो जसरी इतिहास र संस्कृति मानिसले निर्माण गरेका संरचनाहरु हुन् । कार्ल माक्र्सले ज्ञान, विज्ञान र सत्य ऐतिहासिक द्वन्द्वात्मकतासँग जोडिएको हुन्छ भने; विचार भौतिक वस्तुहरूको अर्थ प्रणालीसँग सम्बन्धित छ भनेका छन् । त्यसैगरी जुर्गेन हवरमासले सत्य भनेको सबैले मान्यता दिएको वा निश्चित समाज वा समुदायले मान्दै आएको आदर्श अवस्था हो । यसर्थमा सत्य स्थापित मान्यता हो, जसको परिपालनाबाट समाज, देश र विश्व नै आदर्श योग्य र रामराज्य निर्माण गर्ने प्रक्रियामा सामेल हुन्छ भन्ने मत दिएका छन् ।
सत्य वस्तुगत र वैयक्तिक २ किसिमका हुन्छन् भन्ने आधुनिक दार्शनिक सोरेन किर्केगार्ड हुन् । उनका विचारमा वस्तुगत सत्य भन्नाले मानिसले प्राप्त गरेका अपारिवर्तनीय तथ्यसँग सम्बन्धित छ भने वैयक्तिक सत्य मानिसका दैनन्दीनि सँग सम्बन्ध राख्दछ । वस्तुगत सत्य अन्तिम, शाश्वत् र अटल हुन्छ भने वैयक्तिक सत्य परिवर्तन भइरहन्छ । यसरी सत्यलाई इशापूर्वदेखि आजसम्मका विभिन्न विद्वान् दार्शनिकहरुले अनुभव, अभ्यास र आविष्कारका रूपमा समाजमा स्थापित मूल्य मान्यताका आधारमा परिभाषित गरेको पाइन्छ ।
आध्यात्मवादीहरु सत्यलाई धर्मसँग जोडेर हेर्ने गर्दछन् । हिन्दु धर्म अनुसार सत्य भनेको अपरिवर्तनीय, अविनाशी, व्यक्ति, समय र स्थानले असर नपार्ने, यो ब्रह्माण्ड भरी एकै किसिमले रहने विचार, भावना, पदार्थ वा वस्तुलाई मानेको पाइन्छ । पौराणिक पात्रहरु राजा हरिशचन्द्र, ऋषि दधिची, राम, सिता, लक्ष्मण आदि थुप्रै उदाहरण दिइने सत्य, अनुशासन, कर्तव्य र निष्ठाका पात्रहरु आजसम्म उपमेय बनेर रहनु उनीहरुको त्याग, वलिदान र समर्पण भन्न सकिन्छ । त्यसैले सत्य भनेको त्याग हो, निष्ठा हो, अनुशासन हो, परम्परा पनि हो ।
एक्लै भए पनि विजय प्राप्त गर्न सक्ने, स्वतन्त्रता दिन सक्ने, करुणा, दया र उपकार जस्ता गुणले भरिएको, सबैभन्दा उत्कृष्ट विचार नै सत्य हो भन्न धक मान्नु पर्दैन । सत्यको पटाक्षेप गर्नु आजको दुनियामा असम्भव प्रायः छ । किनकि आजको धर्म, राजनीति, व्यापार, शिक्षा, इतिहास समेत नक्कली, भ्रामक, बनावटी, क्षणिक तथा स्वार्थ र घमण्डले पकड जमाउने बाटोमा अग्रसर भए जस्तो लाग्नु दुःखद हो ।
बुद्ध धर्ममा विशेष गरी महायान परम्परामा सत्यका दुई रूप बताइएको छ । पहिलो सापेक्षिक वा परम्परा सत्य र दोस्रो अन्तिम सत्य । पहिलो सत्य भनेको साधारण मानिसले बुझ्ने र व्यवहारिक अभ्यास गर्ने सत्य हो । त्यसैगरी अन्तिम सत्य भनेको साधारण अनुभव र तर्कहरू वास्तविक भ्रम हुन् भनेर चिन्ने सत्य हो । अथवा काम, क्रोध, लोभ, मोह, जस्ता विकार युक्त भावनाहरुलाई त्यागेर, राज्य, वैभव, परिवार ऐश आरामको जिन्दगीबाट छुटकारा लिँदै शाश्वत सत्यको खोजीमा निस्केका सिद्धार्थ गौतमले पाएको दिव्य ज्ञान पुरापुर सत्य नै हो ।
हुन त कुनै पनि व्यक्तिको स्वतन्त्र रहने शक्तिशाली हतियार सत्य हो । तापनि क्रिष्टियन धर्मभीरुहरु बाइबललाई धर्मको मूल र जिसस क्राइस्टले निर्देशित गरेका वाणीहरु नै सत्यको आधार मान्दछन् । सत्यको अन्तिम स्रोत भगवान हुन्, सत्यले यथार्थलाई बुझाउँछ र यो निरपेक्ष हुन्छ भन्ने धार्मिक आवरणमा रमाउने व्यक्ति विशेषको संख्या यस संसारमा उल्लेख्य छ ।
हामीले मानि आएको सत्यको प्रकटीकरणलाई विभिन्न प्रश्नहरुको वर्षा गरेर ससाना टुक्रे सत्यलाई स्थापित गर्ने कार्य विनिर्माणवादी दार्शनिकले गर्दछ जसको प्रत्यक्ष सम्बन्ध उत्तरआधुनिकता सँग छ । छोटकरीमा विनिर्माण भन्नाले निर्माण भएको सत्यलाई प्रश्न गर्ने केन्द्रियतालाई भत्काउने, इतिहासलाई पुर्नव्याख्या गर्ने; ससाना सत्यमा रमाउने शताब्द्यियौ देखि चल्दै आएका धर्म, संस्कृति, विचार तथा संरचनाहरुलाई प्रश्नै प्रश्नले थिलो थिलो पारी विकेन्द्रित र विभाजित नक्कली यथार्थमा रमाउनु हो ।
विसंरचना वा विनिर्माणका प्रवर्तक फ्रान्सका विचारक ज्याक डेरिडा हुन् । उनको विचार अनुसार कुनै पनि साहित्य, संस्था, परम्परा, समाज, विचार वा अभ्यासहरू सानो वा ठूलो जे भए पनि एकार्थी र निर्णायक हुँदैनन् । तिनीहरु बहुअर्थी, केन्द्र बाहिर, अनियमित तथा अनेक रूपमा प्रकट भएर शक्ति नियन्त्रित प्रणालीलाई बारम्बार पुनः संरचित गराउँदछ ।
यसर्थमा विनिर्माणवाद उत्तरआधुनिक वादको एउटा सशक्त दार्शनिक धरातल हो । त्यसले सत्यको विनिर्माण गर्दा उत्तर आधुनिकतावाद महत्त्वपूर्ण आधार हुन सक्दछ । विशौ शताब्दीको आधुनिक समाज र यसले स्थापित गरेका मूल्य मान्यताहरु जस्तै धर्म, राजनीति, अर्थ व्यवस्था, कला र साहित्यबाट मानिसहरू रुष्ट, खिन्न, नैराश्य भए ।
त्यसैको प्रतिक्रिया स्वरूप उपयोगवादी पुँजीवाद नक्कली, कृत्रिम र टुक्रे–टाक्रे सत्यमा रमाउने व्यक्तिलाई विकेन्द्रित, दिग्भ्रमित र विभाजित बनाउने अमानवीय र संवेदनाहीन अवस्थामा पुर्याउने काम उत्तरआधुनिकतावादका चालबाजीहरु हुन् । आधुनिकतावादीहरु यावत विसंगति र विकेन्द्रिकृत प्रणालीमा दुखित हुने र चिन्ता व्यक्त गर्दछन् भने उत्तरआधुनिकतावादी त्यसैको वरपर रहेर रमाउने गर्दछन् ।
फेडरिक जेमिसनले हाम्रो जीवनबाट सत्य हराउँदै गएको छ । हामी यथार्थबाट टाढा भइसकेका छौं । जसरी सञ्चारले उत्तरआधुनिकवादलाई पछ्याउँदै गएको छ, बहुराष्ट्रिय पुँजीवाद र भूमण्डलीकरणले सिमाहीन उपभोगवादी पुँजीवादमा समाजलाई जबरजस्ती घचेटेको छ भनेका छन् ।
यसै सन्दर्भमा उत्तर आधुनिकतावाद भनेको समूल रूपमा वास्तविकताको अनुकरण गरेर मूल सत्यलाई भ्रमपूर्ण, नक्कली र कृत्रिम बनाउनु हो भन्ने विचार फ्रान्सका दार्शनिक जाँ बोल्डेयले उजागर गरेका छन् । उतको मनमा हामी सत्य र असत्यलाई छुट्याउन नसक्ने अवस्थामा पुगेका छौ किनकि सत्य र यथार्थलाई कृत्रिम, नक्कली वस्तु, विचार वा छायाँले प्रतिस्थापन गरिरहेको छ ।
अहिलेको विश्व प्रणाली र यसमा उभिएका सबैजसो आधारहरू सत्यभन्दा धेरै टाढा, भ्रम, झुट र नक्कली हुनुमा उत्तरआधुनिकतावादको प्रत्यक्ष सम्बन्ध छ । अव्यवस्थित र विशृङ्खलित समाजमा मानवीय मूल्य मान्यता र सत्यको रटान लगाउनु बालुवा पेलेर तेल निकाल्न जस्तै हो । असत्यका तिखा काँडाले न्याय, समानता, मानवता तथा नैतिकतालाई बारम्बार घोचेर रक्तमुछेल पारेको छ । त्यसैले आजको समाजमा निष्पक्ष नैतिकवान् र आदर्श युग पुरुषको अभाव फेरि पनि टड्कारो रूपमा महसुस भएको छ ।
तपाईको प्रतिक्रिया