बाढीपहिरो र चट्याङबाट २ महिनामा २३१ को मृत्यु, ७७ बेपत्ता

समाधान संवाददाता २०७७ भदौ १ गते ७:२७

काठमाडाै‌ं

Advertisement

मनसुन सक्रिय भएपछिको २ महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ ।

अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए । नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको २ महिनामा मात्रै ठूलो मानवीय क्षति भएकाे छ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए । उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए ।

बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् । यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भए । विपदमैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्पलगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिराको जोखिम हुन्छ ।

Advertisement

यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ । गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए ।

त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् । दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् ।

मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ । मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया