पोखरामा लकडाउन, निषेधाज्ञा वा कर्फ्यु ? आज निर्णय हुँदै

समाधान संवाददाता २०७७ भदौ १ गते ७:३८

समाधान संवाददाता
पोखरा

Advertisement

घरमै सच्चाई चलाउँदै आएका पोखरा १९ का ६२ वर्षे पुरुषमा गत १७ साउनमा कोरोना पोजेटिभ देखियो । २५ साउनमा उनको ज्यानै गयो । उनको सम्पर्कका ६७ जनाको स्वाब परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भयो ।

लकडाउन गर्ने, निषेधाज्ञा गर्ने वा कर्फ्यु लगाउने अथवा कुन ढाँचामा जाने भनेर पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले गृहकार्य गरिरहेका छन् ।

Advertisement

६२ वर्षे सच्चाई सञ्चालक ती पुरुषको पहिलो घेराका ६ जनाको सम्पर्कमा आएका अरुमा पनि कोरोना देखियो । गर्दागर्दै समुदायमा संक्रमण फैलियो । पोखरामा तेस्रो कन्ट्याकका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो । तर यो घटनाले पोखरामा विस्तारै संक्रमण समुदायमा फैलिन थालेको पुष्टि हुन्छ ।

पोखराका अरु वडामा पनि संक्रमण दर विस्तारै उकालो लाग्दै छ । लकडाउन गर्ने, निषेधाज्ञा गर्ने वा कफ्र्यु लगाउने अथवा कुन ढाँचामा जाने भनेर पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले गृहकार्य गरिरहेका छन् ।

Advertisement

कसरी अघि बढ्ने भन्ने विषयमा आइतबार पोखरा महानगरपालिकाले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल ग¥यो । सर्वदलीय बैठकमा सहभागीले पोखरामा कडा खालको निषेधाज्ञा जारी गर्न महानगरलाई सुभाव दिए ।

बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए । सहभागीले कडा निषेधाज्ञा गर्न सुझाएको र के गर्ने भन्ने विषयमा सोमबार बस्ने कोरोना रोकथाम मूल समिति पोखराको बैठकमा छलफल हुने मेयर मानबहादुर जिसीले जानकारी दिए ।

त्यहाँ छलफल गरेपछि प्रस्ताव जिल्ला विपद व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा लगिने उनले बताए । निषेधाज्ञामा महानगर अघि बढे साथ दिने दलका प्रतिनिधिहरुले बैठकमा बताएका थिए । ‘संक्रमित बढिरहेका छन् । निषेधाज्ञा गर्नुपर्छ भन्नेमा सायद सिडिओ साब पनि सकारात्मक हुनुहोला,’ बैठकका एक सहभागीले भने ।
मूल समितिको बैठक सोमबार बिहान साढे ७ बजेलाई बोलाइएको छ । महानगरद्वारा गठित कोरोना रोकथाम मूल समिति संयोजक उपमेयर मञ्जुदेवी गुरुङ छिन् । दलहरुले सुझाए झै निषेधाज्ञाको निर्णय समितिले गर्न सक्ने सम्भावना छ ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार पनि १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आइतबारसम्म पोखरामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशका अरु जिल्लामा पनि संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार कास्की, स्याङ्जा र तनहुँमा सक्रिय संक्रमित बढी छन् । हाल म्याग्दी, मनाङ र मुस्ताङ संक्रमणमुक्त छन् । प्रदेशभर १७ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये १५ सय २७ संक्रमित निको भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १÷१ पुरुषको मृत्यु भएको हो । कोरोना परीक्षण हुँदै आएको क्षयरोग उपचार केन्द्रमा २ साता पहिले अटो एक्स्ट्याक्टर मेसिन जडान भएसँगै गण्डकीमा कोरोना परीक्षण क्षमता बढेको छ । अहिले दैनिक ८ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ ।

गण्डकीमा अहिलेसम्म ३४ हजार ३ सय २७ नमुना परीक्षण भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ । कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन् ।

कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । कोरोना परीक्षणका लागि दुवै ल्याबमा गरेर २८ प्राविधिक छन् । क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर २ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया