पोखरामा आज रातिदेखि १ साता कडा निषेधाज्ञा

समाधान संवाददाता २०७७ भदौ १ गते ९:१०

अनुप पौडेल, पोखरा

Advertisement

समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

साेमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिए । स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्ने/नथप्ने भन्ने निर्णय गरिने उनले बताए ।

Advertisement

‘चाडपर्व आउँदै छन् । बढी भीड हुने भएकाले जोखिम झन् बढ्ने निष्कर्षसहित बन्द गर्ने निर्णय गर्‍यौं । बैठकमा भएको निर्णय सिसिएमसीमा सिफारिस गर्छौं,’ सदस्य पौडेलले भने ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् ।

Advertisement

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार पनि १२ संक्रमित भेटिएका थिए । पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।

संक्रमितमध्ये १ सय २५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको छ ।

प्रदेशभर २०१ सक्रिय संक्रमित

स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार हाल गण्डकी प्रदेशभर २०१ जना सक्रिय संक्रमित छन् । कास्की, स्याङ्जा र तनहुँमा सक्रिय संक्रमित बढी रहेको निर्देशनालयले जनाएको छ ।

कास्कीमा ८३, स्याङ्जामा ३८ र तनहुँमा ३५ सक्रिय संक्रमित रहेको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । म्याग्दी, मनाङ र मुस्ताङ संक्रमणमुक्त छन् ।

प्रदेशभर १७ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये १५ सय २९ संक्रमित निको भएको शर्माले जानकारी दिए ।

गण्डकीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ पुरुषको मृत्यु भएको हो ।

कोरोना परीक्षण हुँदै आएको क्षयरोग उपचार केन्द्रमा २ साता पहिले अटो एक्स्ट्याक्टर मेसिन जडान भएसँगै गण्डकीमा कोरोना परीक्षण क्षमता बढेको छ । अहिले दैनिक ८ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ ।

गण्डकीमा अहिलेसम्म ३४ हजार ३ सय २७ नमुना परीक्षण भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ । कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन् ।

कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । कोरोना परीक्षणका लागि दुवै ल्याबमा गरेर २८ प्राविधिक छन् । क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर २ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया