पोखरामात्रै होइन आवश्यकता अनुसार प्रदेशभर निषेधाज्ञा, तर भाेलि रातिदेखि

अनुप पौडेल, पोखरा
गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार अपरान्ह बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइने भएकाे छ ।
समुदायमा संक्रमण फैसिकेको कास्कीमा के-के बन्द गर्ने र के-के खुल्ला गर्ने भन्ने तयारी गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएकाे छ ।
पाेखरा महानगरले आजै राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे थियाे । तर प्रदेशले समय दिनुपर्ने भन्दै भाेली रातिबाट लागू गर्न भनेकाे छ ।
भदौ ७ गतेसम्म प्रदेशमा निषेधाज्ञा गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरामा निषेधाज्ञा गर्ने गरी मेयर मानबहादुर जिसीले प्रसंग उठाए पनि संक्रमण फैलन नदिन प्रदेशभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
‘कोही काठमाडौं जानुभएको हुनसक्छ । त्यसैले भोलि एकदिन ग्याप राखेर पर्सी बिहानबाट बन्द गर्ने निर्णय भयो,’ निर्देशक शर्माले भने । मंगलबार बिहान सूचना निकालिने र मध्यरातदेखि कडाई गरिने उनले जनाए ।
पोखरामा कडा खालको बन्दाबन्दी गरिने र अरु ठाउँमा मोबिलिटी कम गर्न बन्दाबन्दी गरिने भएको छ ।
पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले सोमबार मध्यरातदेखि बन्दाबन्दी गर्ने निर्णय गर्दै जिल्ला सिसिएमसीमा सिफारिस गरेको थियो ।
तीज, कुशे औंसीमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित महानगरको उक्त समितिले पोखरामा बन्दाबन्दी गरिने जनाएको थियो । निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन ।
स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।
पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । संक्रमितमध्ये १ सय २५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको छ । पोखराका मेयर मानबहादुर जिसीका अनुसार पोखरा १९ मा तेस्रो कन्ट्याकका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
प्रदेशभर १८४ सक्रिय संक्रमित
स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार हाल गण्डकी प्रदेशभर १८४ सक्रिय संक्रमित छन् । कास्की, स्याङ्जा र तनहुँमा सक्रिय संक्रमित बढी रहेको निर्देशनालयले जनाएको छ ।
कास्कीमा ८३, स्याङ्जामा ४१ र तनहुँमा ३५ सक्रिय संक्रमित रहेको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । म्याग्दी, मनाङ र मुस्ताङ संक्रमणमुक्त छन् ।
प्रदेशभर १७ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये १५ सय ५० संक्रमित निको भएको शर्माले जानकारी दिए । गण्डकीमा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ पुरुषको मृत्यु भएको हो ।
कोरोना परीक्षण हुँदै आएको क्षयरोग उपचार केन्द्रमा २ साता पहिले अटो एक्स्ट्याक्टर मेसिन जडान भएसँगै गण्डकीमा कोरोना परीक्षण क्षमता बढेको छ । अहिले दैनिक ८ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ ।
गण्डकीमा अहिलेसम्म ३५ हजार २ सय २४ नमुना परीक्षण भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ । कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन् ।
कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । कोरोना परीक्षणका लागि दुवै ल्याबमा गरेर २८ प्राविधिक छन् ।
क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर २ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया