रेडक्रस कास्कीको भवन बनाउन वडाध्यक्षको साथ
समाधान संवाददाता
पोखरा
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको बहुउद्देश्यीय भवन निर्माणमा पोखरा महानगरका जनप्रतिनिधिले सघाउने भएका छन् । महानगरका २६ वटा वडाका अध्यक्षले भवन निर्माणका लागि वडामार्फत् सक्दो सहयोग गर्ने वचन दिएको रेडक्रस कास्की शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिए ।
२ चरणमा २६ वटा वडाका अध्यक्षसँग बैठक गरिएको र भवन निर्माणमा स्थानीय तहको तर्फबाट हातेमालो गर्न प्रस्ताव गरिएको उनले बताए । दुबै चरणको बैठकमा सहभागि वडाध्यक्षले राज्यले गर्नुपर्ने काम रेडक्रसले गरेको भन्दै प्रसंशा गरेका थिए । बाँकी वडाध्यक्षहरुसँग समेत छिट्टै छलफल गरिने उनले जनाए ।
पहिलो चरणको बैठकमा सहभागी भएका वडा नम्बर ३१ का वडाध्यक्ष शिवराज आचार्यले महानगरलाई वडाको तर्फबाट २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाए ।
सोमबार भएको दोस्रो चरणको बैठकमा सहभागी वडाध्यक्षहरुले वडाको तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने र महानगरमा समेत सहयोगका लागि प्रस्ताव गर्न आग्रह गरेका छन् । महानगरको कार्यपालिका बैठकमा प्रस्ताव आए आफूहरुले भरपुर सहयोग गर्ने उनीहरुले बताए ।
कार्यक्रममा रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले भवन निर्माणका लागि ७ करोड ३२ लाख लाग्ने बताए । संघीय सरकारले १ करोड र प्रदेश सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएको जानकारी उनले दिए । बाँकी रकम जनप्रतिनिधि र रेडक्रसलाई माया गर्ने संघसस्था र व्यक्तिहरुसँग हातेमाले गर्दै जुटाउने उनले बताए ।
कार्यक्रममा कास्की रेडक्रसका उपसभापति कृष्ण तिमिल्सिनाले रेडक्रसका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
कास्की शाखाका मन्त्री धर्म अधिकारीले वर्तमान कोभिड १९ को संक्रमणमा पनि रेडक्रस कास्कीले प्रदान गरेको एम्बुलेन्स र रक्त सञ्चार सेवा उत्कृष्ट रहेको जानकारी दिए ।
वार्षिक अहिले २६ हजार युनिट रगतको आपूर्ति हुने गरेको जानकारी दिए । त्यसका लागि पूर्वाधार विस्तार गर्नुपर्ने हुँदा भवन निर्माणको कार्य थालिएको उनले बताए ।
रेडक्रस कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले उक्त अवसरमा अत्याधुनिक सेवासहितको रक्तसञ्चार केन्द्र र रेडक्रसका सबै गतिविधि सञ्चालन समेत सोही भवनबाट सञ्चालन गर्ने गरी निर्माण निर्माण गरिने भवनका लागि साथ दिन आग्रह गरे । निर्माण संयोजक डन्डराज पौडेलका अनुसार अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन ठेकेदार कम्पनीले २४ महिनामा सकेर हस्तान्तरण गर्ने गरी सम्झौता भएर काम अगाडि बढेको छ । निर्माणको ठेक्का सिद्धार्थ कन्स्ट्रक्सनले पाएको छ ।
छलफल कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल, १६ का अध्यक्ष जीवन आचार्य, १७ का अध्यक्ष तीर्थराज अधिकारी, १८ का अध्यक्ष रणबहादुर थापा, २० का अध्यक्ष सीम गुरुङ, २२ का अध्यक्ष मित्रलाल बराल, २४ का अध्यक्ष ओम सुवेदी र अन्य वडाका जनप्रतिनिधिले वडामा रहेका संघसस्थाहरुलाई समेत सहयोग गर्न लगाउने र आफूहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया