आज रातिदेखि कास्कीमा निषेधाज्ञा-निर्णयसहित

समाधान संवाददाता २०७७ भदौ २ गते १०:१२

पाेखरा

Advertisement

पोखरामा कोरोनाको महामारी फैलिएपछि कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ ।

जिल्ला स‌ंकट व्यवस्थापन समिति कास्कीकाे अहिले बिहान बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

Advertisement

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो ।

पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

Advertisement

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधीका बाहेक अरु सबै पसल बन्द रहने छन् ।

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

कोरोना महामारी रोक्न निषेधाज्ञा वा अरु कुनै औजार प्रयोग गर्ने अधिकार नेपाल सरकारले स्थानीय तहहरुलाई प्रत्यायोजन गरिसकेको छ ।

यस अनुसार कास्की लगायत जिल्लाका कतिपय गाउँपालिका र नगरपालिकाले निषेधाज्ञा गरिसकेका छन् । ‘हामीसँग आफ्नै प्रहरी, सेना छैनन् । २/४ सय नगर प्रहरी भएको भए आफैं गथ्र्यौं,’ मेयर मानबहादुर जिसीले भने, ‘निषेधाज्ञा हामीले भने पनि कार्यान्वयन गर्न प्रशासनको सहयोग चाहिन्छ, त्यसैले मंगलबार बिहानको बैठक पर्खियौं ।’

तीज र कुशे औंसी जस्ता पर्वमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित महानगर निषेधाज्ञाको निर्णयमा पुगेको थियाे ।

तपाईको प्रतिक्रिया