पोखराको ग्यालेक्सी हस्पिटलमा मृत्यु भएकी बन्दीपुरकी युवतीको रिपोर्ट नेगेटिभ
अनुप आत्रेय, पोखरा
पोखराको ग्यालेक्सी हस्पिटलमा मृत्यु भएकी तनहुँको बन्दीपुर गाउँपालिकाकी युवतीको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा राति १० बजे आएको उनको रिपोर्ट नेगेटिभ रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्रोतले जानकारी दिएको छ । स्वास्थमा समस्या भएपछि मंगलबार बिहान पोखरा ल्याइएकोमा ती युवतीको उपचारको क्रममा मृत्यु भएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि उनको कोरोना परीक्षण गरिएको थिएन । मृतक युवतीको शव अहिले अस्पतालमै छ ।
उनको घर बन्दीपुर गाउँपालिका–६ हो । स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि साउन तेस्रो हप्ता चितवन पुगेकी थिइन् । त्यहाँ उपचार गरेर फर्किएपछि पुनः स्वास्थ्यमा समस्या देखियो । त्यसपछि तनहुँकै १ अस्पतालमा पुगिन् । त्यहाँबाट उनलाई मंगलबार बिहान पोखरा पठाइयो ।
पोखराको ग्यालेक्सी हस्पिटल ल्याएको १ घन्टा नहुँदै उनको मृत्यु भएको हो ।
२४ घन्टामा २ संक्रमितको मृत्यु
पोखरामा एकैदिनमा २ संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरा १६ का ८७ वर्षे वृद्धको सोमबार मध्यराति र कास्की सेवा हस्पिटलमा ५० वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो । दुवै दीर्घरोगी थिए ।
वृद्धमा उच्च रक्तचाप, सुगर र मिर्गाैला सम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि गत ३२ साउनमा उनी अस्पताल भर्ना भएका थिए । क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु हुने उनी चौथो संक्रमित हुन् । यसअघि पोखराकै १ पुरुष र स्याङ्जाका २ पुरुषको त्यहीँ मृत्यु भएको थियो ।
कोरोनाबाटै मृत्यु भएकी महिलाचाहिँ निमोनियाकी बिरामी थिइन् । छोरीसहित तनहुँबाट पोखरा आएकी ती महिलाको सोमबार मध्यराति हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा मृत्यु भएको हो ।
हेपाटाइटिस, नेमोनिया, सुगर, प्रेसर, मुटुको रोग लगायत दीर्घ रोगबाट ग्रसित उनी ३ दिन पहिले पोखरा आएकी थिइन् । मृतक महिलाकी २५ वर्षकी छोरीमा समेत कोरोना पुष्टि भएको छ ।
दुवै मृतकको शव पोखरा ३२ मजुवामा व्यवस्थापन गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । कास्कीका २, स्याङ्जाका २, तनहुँ, बागलुङ र गोरखाका १/१ संक्रमितको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया