पृनाकाे नेपाली विभागमा ‘प्रतिगन्ध’ माथि परिचर्चा

समाधान संवाददाता २०७७ भदौ ३ गते ६:१०

समाधान संवाददाता
पोखरा

Advertisement

पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागमा सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ माथि परिचर्चा गरिएको छ ।

प्राध्यापकलाई अनुसन्धान र विश्लेषणमा सहभागी गराउने लक्ष्यका साथ गोष्ठी गर्दै आएको नेपाली विभागले ‘प्रतिगन्ध’ माथि जुममार्फत् सोमबार गोष्ठी गरेको हो । विभागीय प्रमुखमा प्राडा कुसुमाकर न्यौपाने आएपछिको यो दोस्रो गोष्ठी हो ।

Advertisement

विभागकै सदस्य डा.लक्ष्मीशरण अधिकारीले ‘डायस्पोरिक कोणबाट प्रतिगन्ध उपन्यासको विश्लेषण’ शीर्षकमा केन्द्रित भएर गोष्ठीपत्र प्रस्तुत गरे । गोष्ठीपत्रमाथि विभागकै सदस्य श्रीधर न्यौपानेले टिप्पणी गरेका थिए । त्यसपछि समूहमा विशद छलफल भएको थियो ।

शरीर विदेशमा अनि मन स्वदेशमा भएका व्यक्ति डायस्पोरा हो । यस प्रतिगन्ध उपन्यासमा नेपाली अमेरिकन डायस्पोराले अमेरिकामा झेल्नुपरेका समस्यालाई चित्रण गरिएको छ । यस उपन्यास भित्रका पात्रमा विभाजित मानसिकता, द्वेध सांस्कृतिक चेतना, अभिघात, पराइ मुलुकमा हुने रोमान्स र चिन्ता, जन्मभूमिप्रतिको प्रेम, २ भिन्न मुलुकको परिवेश जस्ता डायस्पोरिक गुणहरु भेटिन्छन् ।

Advertisement

त्यसैले ‘प्रतिगन्ध’ उपन्यास डायस्पोरिक उपन्यास हो । यसमा वर्णनात्मकता, स्वैरकल्पना, चेतनाप्रवाह शैली जस्ता शैलीगत विविधता पाइन्छन् । छलफलका सहभागीहरुले यस्ता विशेषता भएर पनि यो उपन्यास कौतुहलपूर्ण बन्न नसकेको निष्कर्ष निकालेका थिए ।

विभागीय प्रमुख प्राडा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभागीय सदस्य डा.वासुदेव भण्डारीले स्वागत गरे । यादवराज उपाध्यायले सञ्चालन गरेको कार्यक्रमको प्रतिवेदन निर्मल सापकोटाले तयार पारेका थिए ।

प्राज्ञिक उन्नयनका निम्ति श्रृंखलाबद्ध ढंगले गोष्ठी गर्दै अगाडि बढेको यस विभागले यही भदौ महिनामा तेस्रो गोष्ठी गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया