गण्डकीमा वन्यजन्तु उद्धारकाे लागि छुट्टै एम्बुलेन्स
वन्यजन्तु उद्दारका लागि आगामि दिनमा डार्टिङसहितको एम्बुलेन्स योजना
समाधान संवाददाता, पोखरा
वन्यजन्तु उद्धारका लागि पोखरामा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । डिभिजन वन कार्यालय कास्कीले एम्बुलेन्स खरिद गरेको हो । पोखरा आसपास घाइते तथा वेवारिसे अवस्थामा फेला परेका वन्यजन्तुलाई अन्य सवारीमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा हालसम्म उपचार गरिँदै आएको छ ।
अब त्यस्ता वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्था सहितको एम्बुलेन्सले उद्धार गर्ने छ । वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि गत आवमा प्रदेश सरकारले डेढ करोड बजेट विनियोजन गरेको थियो । सोही बजेट मार्फत डिभिजन वन कार्यालय कास्कीले एम्बुलेन्स खरिद गरेको हो ।
४६ लाख लागतमा एम्बुलेन्स ल्याइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रदेशले वन्यजन्तु उद्धार केन्द्रका लागि बजेट दिएको थियो । सोही बजेटमार्फत एम्बुलेन्स आइपुगेको छ,’ उनले भने, ‘वन्यजन्तु उद्धारका लागि आवश्यक एम्बुलेन्सकै जस्तो बोडी मोडिफाइ गर्न प्रक्रिया थालेका छौं ।’ स्कारपियोको पछाडिको संरचना परिवर्तन गर्न यातायात व्यवस्था कार्यालयमा सवारी स्वरुप परिवर्तनका लागि सिफारिस गरेको उनले बताए ।
एम्बुलेन्स सञ्चालनको जिम्मा पनि पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी कार्यालयको छ । त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर मात्र हस्तान्तरण गर्ने योजना रहेको डिभिजन प्रमुख श्रेष्ठले बताए ।
विशेषगरी चितुवा सहरी क्षेत्रमा पस्ने र त्यसको उद्दारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको थियो । गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ (सुई हानेर बेहोस बनाउने विधि) गर्ने टोली छैन । एम्बुलेन्स सहितको डार्टिङ काठमाडौं र सौराहामा मात्र उपलब्ध छ । कास्की लगायतका क्षेत्रमा वनजन्तुलाई डार्टिङ गरी उद्धार गर्नुपर्दा काठमाडौं वा सौराहाकै टोली गुहार्नु पर्ने बाध्यता छ ।
डिभिजन कार्यालयले भने डार्टिङ सहितको टोली तयार गर्ने योजना बनाएको छ । डिभिजन प्रमुख श्रेष्ठका अनुसार आवश्यकता बमोजिमको जनशक्ति प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट माग गरिने भएको हो ।
डार्टिङ गन र औषधि विदेशबाट आयात गर्न सकिने भएकाले पहिले जनशक्ति तयार गर्नतर्फ कार्यालयको ध्यान रहेको उनले सुनाए । ‘वनजन्तु उद्धार केन्द्रको डिपिआरमै डार्टिङ टोलीको पनि व्यवस्था छ । अब योजनाअनुसारको जनशक्ति माग गरी परिचालन गर्ने छौं,’ उनले भने ।
डार्टिङ टोली तयार नभइसक्दाको अवस्थामा भने यथास्थितीकै प्रयोगविधिअनुसार वन्यजन्तु उद्धार गरिने डिभिजन प्रमुख श्रेष्ठको भनाई छ । चितुवाको लागि छुट्टै केजनै चाहिने भएकाले एम्बुलेन्समा सो उपलब्ध हुनेहुँदा धेरै सहज हुने उनले बताए ।
एम्बुलेन्स सञ्चालनले वनजन्तु संरक्षण र उद्दारमा महत्वपूर्ण योगदान पुग्ने पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले बताए । निर्माणाधीन पार्कमा रहेको वन्यजन्तु उद्धार केन्द्रका लागि थप भएको पूर्वाधारले प्रदेशमै वन्यजन्तु उद्धारमा सघाउ पुग्ने उनको विश्वास छ ।
वन्यजन्तु उद्धारका लागि स्तरीय एम्बुलेन्ससहित जनशक्तिको व्यवस्थापन गर्न माग गरिरहेको सन्दर्भ सुनाउँदै पार्कका संयोजक बख्रेलले सञ्चालनका लागि आवश्यक कार्यविधि व्यवस्थितरुपमा तर्जुमा गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया