सम्पादकीय:भेन्टिलेटर बैंक

समाधान संवाददाता २०७७ भदौ ३ गते १४:४८

नेपालमा बिरामीहरुको सेवाका लागि ब्लड बैंक छ, जसले निशुल्क (लागतखर्चमात्रै) रगत उपलब्ध गराउँदै आएको छ । अक्सिजन लगायत सेवाचाहिँ पैसा तिरेरै लिनुपर्छ । रगतको चाहिँ प्याकेट र अरु प्राविधिक खर्चमात्रै लिइन्छ, रगतकै पैसा तिर्नुपर्दैन । न दिनेले पैसा पाउँछन्, न लिनेले तिर्नुपर्छ । बिरामीकै लागि भने नेपालमा नेपाल भेन्टिलेटर सर्भिसेस सुरु भएको छ, जसले निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने भएको छ । जसरी ब्लड बैंक रेडक्रसले सञ्चालन गर्छ, जुन आफैंमा सरकारी संस्था होइन । भेन्टिलेरका लागि पनि त्यस्तै गैरसरकारी स्तरबाट संस्था खडा हुनु स्वागतयोग्य कुरा हो । भेन्टिलेटर सर्भिसेसको नेतृत्व पोखराकै उद्यमीले गरेका छन्, यो गण्डकी प्रदेशका लागि गर्वको कुरा हो । लक्ष्मी ग्रुपका बोर्ड अफ डाइरेक्टर समेत रहेका नीरञ्जन श्रेष्ठ भेन्टिलेटर सर्भिसेसको अध्यक्ष छन् । भेन्टिलेटर सर्भिसेसले १०० दिनमा १ हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै भेन्टिलेटर उपलब्ध गराउने संस्थाले जनाएको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमण भएर सिकिस्त भएका बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ । नेपालका अस्पतालहरुमा भेन्टिलेटर पर्याप्तमात्रामा छैन । सरकारले भेन्टिलेर किनेर अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने हो तर बनाएका छैन । भेन्टिलेटर थपेको छैन । ४ महिना लामो लकडाउनमा पनि अस्पतालहरुको सुधारपट्टि खास प्रगति भएन । न आइसियु कक्षहरु थपिए न भेन्टिलेटर । देशभरका अस्पतालमा १ हजार ८ सय ८ आइसियु कक्ष छन् । १ हजार ७० वटा नै देशभरका अस्पतालहरुमा भएको भेन्टिलेटरको संख्या हो । भेन्टिलेटरले बिरामीलाई सास फेर्न सजिलो बनाउने काम गर्छ । यो मेडिकल मेसिन ३ देखि २० लाख रुपैयाँसम्मको हुन्छ । नेपाल भेन्टिलेटर सर्भिसेसले स्थापनायता ९० दिनमा उपत्यका र बाहिरका मुख्य अस्पताललाई २१ वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइसकेको छ । भेन्टिलेटर सर्भिसेसले केही ऋण लिएर त केही दाताबाट पैसा जुटाएर भेन्टिलेर ल्याउन लागेको छ ।

सहरमा टोलैपिच्छे अस्पताल छन्, तर त्यहाँ खास उपचार हुँदैन, केवल बिरामीको खल्तीको उपचार गरेर उल्टै आर्थिक बिरामी पार्ने काम ती अस्पतालले गर्दै आएका छन् । पैसा भइन्जेल आफैंकहाँ भर्ना गरिरहने र पैसा सकिएपछि अनि मृत्युको नजिक पुगेपछि सरकारी अस्पतालमा रेफर गर्ने निजी अस्पतालहरुको गलत प्रवृत्ति छ । कोरोना भाइरसको महामारीका बेला निजी अस्पतालहरुको द्रव्यमोहमात्रै पटाक्षेप भयो, उनीहरु बिरामीको सेवाको लागि पैसा कमाउन मात्रै खुलेका हुन् भन्ने प्रष्ट भयो । यस्तो अवस्थामा निजी क्षेत्रका व्यक्तिहरु संलग्न रहेर भेन्टिलेटर बैंकको परिकल्पना गरी त्यसलाई साकार पार्नुले सेवा अझै मरेको छैन भन्ने सन्देश पनि गएको छ । सबै व्यवसायी पैसा मात्रै हेर्दैनन्, कुवेरले झै चाहिँदा ढुकुटी फुकाएर खर्च गर्न पनि तयार हुन्छन् भन्ने सन्देश पनि यसले दिएको छ । तसर्थ भेन्टिलेटर सर्भिसेसका अगुवा नीरञ्जन श्रेष्ठ र उनको टिममा सहभागी डा. विशाल ढकाल, डा. सुवास आचार्य, दीपेन्द्र चौलागाईं र पूर्व अर्थसचिव रामेश्वर खनाल बधाईका हकदार बनेका छन् । धन्यवादको हकवाल बनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया