शैक्षिक क्षति कम गर्न अभिभावकीय भूमिका

समाधान संवाददाता २०७७ भदौ ३ गते १४:५४

शैक्षिक क्षति हुन र लागुऔषध तथा दुव्र्यसनीको कुलतमा फस्ने समस्या, विद्यालय छाड्ने क्रमलाई रोकौं । हाम्रो सम्पति भनेका हाम्रा सन्तति हुन् ।

Advertisement

सन्तोष आचार्य

कोरोना संक्रमणले विश्वका सम्पूर्ण क्रियाकलापहरूमा असर पारिरहेको अवस्थामा विद्यालयमा नै उपस्थित भएर हने छोरा छोरीहरूको सिकाई निरन्तरतामा प्रत्यक्ष गिरावट आइरहेको छ ।

Advertisement

नेपालको सन्दर्भमा वैशाख महिनामा सुरु हुनु पर्ने शैक्षिक सत्र भदौ महिनाको सुरुवातसम्म पनि अन्योलमा गुज्रिरहेको छ ।

धेरै संस्थागत विद्यालय र केही सामुदायिक विद्यालयमा सुरु भइरहेको अनलाइन कक्षाले थोरै सहयोग त पु-याएको होला तर शिक्षकको प्रत्यक्ष निगरानीमा पाठ्यपुस्तक अध्ययन गर्दै अघि बढ्ने सिकाइ क्रियाकलापहरू प्रभावकारी तरिकाले अघि बढ्न सकिरहेका छैनन् ।

Advertisement

यस अवस्थामा शिक्षक अभिभावक तथा विद्यार्थीहरूमा दुविधा र खालीपन सृजना भएको छ । यदि अभिभावक जागरुक नहुने हो भने बालबालिकाको नियमित शिक्षामा रोकावट आउने मात्र नभई विद्यालय छाड्ने दर बढ्ने कुरामा विज्ञहरूको सुझावहरू आइरहेका छन् ।

यस अवस्थामा भर्खरै प्राप्त गरेका पाठ्यपुस्तक झोलामा नै थन्किए भने विस्तारै विस्तारै यस वर्षको शैक्षिक सत्र खेर जाने र विद्यार्थीको जीवनको अमूल्य वर्ष खेर जाने डर पैदा भइरहेको छ । यस अवस्थामा विद्यार्थी, अभिभावक दुबैमा मानसिक पीडा बढिरहेको छ ।

कोराना संक्रमण रोकथामका उपायहरू अवलम्बनका लागि सन्ततिहरू घरमा नै बसी रहँदाको समयमा विद्यालयको नियमित सिकाइको वैकल्पिक उपायका रुपमा घरमा नै नियमित अध्ययन वातावरण सृजना गर्नु हामी सबै अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो ।

हाम्रा बाबुनानीहरू आफ्ना शिक्षक शिक्षिकाको उत्तर नै सर्वमान्य उत्तर मान्ने तर अभिभावकको सहयोग तथा सहजीकरणलाई नमान्ने संस्कृतिबाट हुर्किरहेका छन् तर यो संक्रमणको वेलाले शिक्षकको सहयोगबिना पनि स्वध्ययन गर्ने बानीको विकास गर्नु हामी सबैको जिम्मेवारीको विषय हो ।

छोरा छोरीहरूले अनलाइन कक्षा, रेडियो वा टेलिभिजनबाट प्रसारित जुनसुकै कक्षाबाट सिकाइ प्रक्रियामा सहभागित्व भए पनि अभिभावकको प्रत्यक्ष र नियमित निगरानी, सहजिकरण र समय व्यवस्थापन विना कुनै पनि किसिमका कक्षाहरू प्रभावकारी हुँदैनन् भन्ने कुरा सबैलाई प्रष्ट हुनु आवश्यक छ ।

यस्तो अवस्थामा विद्यालयमा हुने जस्तै पिरियड, घण्टीको अवधारणा घर घरमा अभिभावकले सिर्जना गर्नुपर्ने देखिन्छ । जुन सुकै मोडलको कक्षामा सहभागि भए तापनि पाठ्यपुस्तकको अध्ययन र दिइएका अभ्यास सामग्रीहरूको अभ्यास गर्नु अति आवश्यक देखिन्छ ।

यस परिस्थितिमा आफ्ना बाबुनानीहरूमा भएको पढाइ लेखाइ सिप पनि क्षति भइरहेको हुन्छ तसर्थ अभिभावकको प्रत्यक्ष निगरानीमा नै पाठ्यपुस्तक अध्ययन र अभ्यास सामग्रीको लेखनमा सहजिकरणको आवश्यकता खड्कीरहेको छ । यस परिस्थितिमा अभिभावकले केही महत्वपूर्ण विषयहरूमा ख्याल पुर्याउनु पर्छ ।

१) सिकाइ माध्यमको पहिचान

हामीले आफ्ना बाबुनानीको विद्यालयले सहजिकरण गरेको वैकल्पिक शिक्षाको मुख्य माध्यम कुन हो प्रष्ट आपूले पनि बुझ्नु पर्दछ र छोराछोरीहरूलाई पनि प्रष्ट बुझाउनुपर्छ ।

अनलाइन, रेडियो, टिभी, स्वाध्ययन सामग्री जुन माध्यम भएपनि तिम्रो दैनिक सिकाइको माध्यम यो हो भनि प्रष्ट पार्नुपर्छ । सबै माध्यमका राम्रा र नराम्रा पक्षहरू हुन्छन् ।

यस्तो अवस्थामा हाम्रा छोराछोरीहरूको सिकाइको माध्यमका सवल पक्षहरू आफूले पनि राम्ररी बुझ्ने र छोराछोरीहरूलाई पनि बुझाउनु अति आवश्यक हुन्छ । अनलाइन या रेडियो वा टेलिभिजन जुन माध्यम भए तापनि उक्त माध्यमबाट सिकाई प्रक्रिया अघि बढ्न सम्भव छ भन्ने कुरामा अभिभावक र विद्यार्थी दुबै विश्वस्त हुनुपर्छ ।

जुनसुकै सिकाइ माध्यमबाट अध्ययन गर्दा अवरोध जतिवेला पनि आउन सक्छ तर उक्त अवस्थामा आफ्ना पाठ्यपुस्तकको स्वअध्ययन सँगै अभ्यासका कामहरू अघि बढाउन अति आवश्यक छ भन्ने कुरामा हाम्रा बाबुनानीलाई प्रष्ट बनाउन अति आवश्यक छ ।

तसर्थ हाम्रा बाबुनानीलाई तिमीले सिक्ने माध्यमले भन्दा तिमीले दिने पाठ्यपुस्तकको निरन्तर र नियमित अध्ययनले नै तिम्रो शैक्षिक क्षति हुँदै हुँदैन भन्ने कुरामा प्रष्ट पार्नु पर्दछ ।

राज्यले पनि हाल आएर वैकल्पिक शैक्षिक कार्यक्रमलाई पनि वार्षिक नतिजामा केही अंक गणना गरेर अघि बढ्ने धारणा प्रस्तुत गरिसकेको छ । जसरी जटिल परिस्थितिमा एसइई परीक्षाको नतिजा विद्यालयहरूले विभिन्न शैक्षिक क्रियाकलापको आधारमा तयार गरी सकेको छ ।

त्यसैगरी सम्पूर्ण विद्यार्थीहरूको हालको वैकल्पिक अध्ययनलाई पनि वार्षिक शैक्षिक कार्यक्रमको रुपमा समावेश गर्न सक्ने प्रवल सम्भावना पनि रहिरहेको छ ।

परिस्थितिमा थोरै मात्र सुधार भएमा हालको वैकल्पिक सिकाइको मूल्यांकन परीक्षा पनि विद्यालयहरूले लिन सक्ने छ । यस परिस्थितिलाई विद्यार्थी तथा अभिभावकले प्रष्ट बुझ्न र बुझाउन पर्छ ।

२) सन्ततिले घरमा नै पढ्ने कार्यतालिका निर्माण

विद्यालयमा गएर पढ्ने समयतालिका जस्तै घरमा पनि छोराछोरी र अभिभावकको संयुक्त छलफलबाट कार्यतालिका बनाउन अति आवश्यक छ ।

यसरी कार्य तालिका बनाउँदा सर्वप्रथम विद्यालयबाट सिफारिस गरिएको अनलाइन, रेडियो, टेलिभिजन वा स्वाध्ययन सामग्रीको अभ्याास समयलाई मुख्य समय बनाई अघि बढ्नुपर्छ ।

विहान उठेबाट नसुते सम्म छोराछोरीलाई पढ पढ मात्रै भन्यौँ भने बच्चा बच्चीहरूमा मानसिक पीडा र पढाइ प्रति अझ वितृष्णा पैदा हुन सक्छ ।

अभिभावक र छोराछोरीको रोजाइमा कार्यतालिका निर्माण गर्नुपर्छ । जसमा विहान उठ्ने समय, चिया नास्ता खाने समय, विद्यार्थीको आफ्नै पाठ्यपुस्तक स्वध्ययन गर्दै अभ्यास गर्ने समय, खाना खाने समय, लुगा कपडा धुने समय, शारीरिक सरसफाइ गर्ने, खेल्ने, टिभी हेर्ने समय तथा कुन कुन विषयको कुन वेला स्वध्ययन र अभ्यास गर्ने हो घरमा नै कार्यतालिका निर्माण गरी छोराछोरीले प्रष्ट देख्ने स्थानमा टाँस्न अति आवश्यक छ ।

यसरी कार्यतालिका निर्माण गरिदिएर मात्र पुग्दैन, दिइएको कार्यतालिका अनुसार कार्य अघि बढाउन अति आवश्यक हुन्छ । प्राय अभिभावकको बानी भनेको बाबुनानीहरूलाई पढ–पढ भन्ने तर आफू भने टिभी, मोबाइलमा भुल्ने बानी हुन्छ ।

सन्ततिको कार्यतालिकाको समयमा यदि आफ्नो फुर्सद छ भने आपूm पनि सँगै बसी पाठ्यपुस्तक, अभ्यास सामग्री व्यवस्थापन र असहज अवस्थामा सहयोगका लागि अभिभावक उत्सुक तथा इच्छुक भएर तयारी अवस्थामा बस्नु अति आवश्यक हुन्छ । कार्य तालिका निर्माण गर्दा छोटो छोटो विश्राम समय (ब्रेक) पनि राख्नु पर्ने हुन्छ ।

३) अर्थ पूर्ण सिकाइ वातावरणको निर्माण

कक्षाकोठाका बेन्च, कुर्सी, टेबलमा अध्ययन गर्ने बानी परेका बाबुनानीहरूलाई हाम्रो घर र कोठाको निश्चित भागलाई बच्चा बच्चीहरूले सधैं पढ्ने स्थानको रुपमा निश्चित गर्नुपर्छ ।

यसरी स्थानको निश्चित गर्दा उज्यालो भाग तथा घरका अन्य सदस्यको निगरानी पुग्ने तथा टिभी, रेडियो तथा अन्य बाधाले असर नपर्ने ठाउँमा स्थानको सुनिश्चित गर्नुपर्छ ।

छोराछोरीलाई मानसिक रुपमा मैले पढ्ने स्थान (कक्षाकोठा भए जस्तै) घरको स्थान यहि हो भन्ने निश्चित गर्नुपर्छ र विस्तरै बानी पार्नुपर्छ ।

४) सहयोगी समूह निर्माण

विद्यालयमा साथीहरूसँगै पढ्ने, खेल्ने बानी परेका बाबुनानीहरूलाई घरमा पनि ठूलो सानो कक्षामा पढ्ने समूहलाई एकै ठाउँमा र एकै कार्य तालिकामा सँगै बसेर पढ्ने वातावरण तयार गर्नु पर्दछ ।

माथिल्लो कक्षामा अध्ययन गर्ने बाबुनानीले तल्लो कक्षामा अध्ययन गर्ने बाबुनानीलाई सिकाउँदै आफ्नो कार्य गर्ने वातावरण सृजना गर्नु पर्दछ ।

यसो गर्दा माथिल्लो कक्षामा अध्ययन गर्ने बालबालिकामा सिकाइ सहजीकरण गर्ने सीप, नेतृत्व गर्ने सीप, समूहमा कार्य गर्ने सीप तथा सकारात्मक व्यवस्थाको स्थिति पनि सिर्जना गर्दछ ।

यसरी सहयोगी सिकाइ समूह निर्माण गर्दा यदि आफ्नो समुदाय कोरोनाको उच्च जोखिममा पर्दैन भने साँझ बिहान सँगै खेल्ने, छिमेकका साथीभाइलाई संलग्न गरी बनाउन पनि सकिन्छ ।

यसो गर्दा सँगै पढ्ने सँगै खेल्ने वातावरण सिर्जना हुन्छ । यदि टोल छिमेकमा एसइई दिएर बसेका वा कक्षा एघार, वाह्र पढ्ने वा स्नातक, स्नातकोतर तहमा पढ्दै गरेका वा पढाइ सकेर बसेका दाइ, दिदी, भाउजु, आमा, काकी जसको पनि सहयोग लिन सकिन्छ ।

पढाइको निरन्तरता होस् र सिकाइ नटुटोस् भनेर थोरै सहजीकरण खर्च (ट्युसन खर्च जस्तै) पनि छुट्याउन सकिन्छ । हुन त कोरोना संक्रमणले आर्थिक मन्दी लागेको वेला अभिभावकलाई आर्थिक बोझ जस्तो त लाग्न सक्ला तर थोरै आर्थिक विनियोजनले सहयोगी सहजकर्तालाई निरन्तर र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

५) भावनात्मक सहयोग

निरन्तर विद्यालय गएर फर्कने विदामा रमाउने बालबालिकाहरूलाई घरमा बसिरहँदा अनिश्चितताको पीडामा रुमल्लीइ रहेका छन् । बालबालिकाहरूलाई पनि लामो समयसम्म घरमा बसिरहँदा मानसिक समस्या आउन सक्दछ ।

तसर्थ बालबालिका सँगै समय विताउने, घरको कार्यतालिका निर्माण गर्दा खेल्ने, लुगा धुने, टिभी हेर्ने जस्ता समय प्रष्ट छुट्याउनु आवश्यक छ । सहर बजारमा छ भने सुरक्षित क्षेत्र पत्ता लगाई हिँडाइ तथा हाइकिङमा पनि लैजान सकिन्छ ।

नृत्य, चित्रकला, रङरोगन, गायन, आदिमा रुचि छ भने यसका लागि पनि आवश्यक पुर्वाधार सृजना गर्न सक्नु हुन्छ । घरमा नै सामान्य हाँजिरीजवाफ, अन्ताक्षरी, चित्रकला, कथालेखन, गायन, जस्ता आन्तरिक प्रतिस्पर्धा र पुरस्कृत गरेर सिकाईलाई सृजनात्मक र रमाइलो पनि बनाउन सक्नुहुन्छ ।

६) विद्यालयहरूलाई वैकल्पिक शैक्षिक कार्यक्रमका बारेमा घच्घच्याउँ

प्राय संस्थागत विद्यालय तथा केही सामुदायिक विद्यालय र स्थानीय तहहरुले वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

आफ्ना बाबुनानीहरू अध्ययन गर्ने विद्यालयको वैकल्पिक शैक्षिक माध्यम कुन हो प्रष्ट बुझौं । बालबालिकालाई सोही कार्यक्रममा निरन्तर सहभागी गराऔं । कुनै विद्यालयले वैकल्पिक शैक्षिक कार्यक्रम लागू गरेको छैन भने पनि वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिऊँ ।

ढिलो नगरौं वैकल्पिक शैक्षिक क्रियाकलापमा आफ्ना बाबुनानीहरूको सहभागिता बढाओं ।

७) सिकाइलाई समाजको अंगको रुपमा सिर्जना गर्ने

हाम्रो समाजमा भएका टोल विकास, आमा समूह, युवा क्लव तथा एनजिओ, आइएनजिओ, छन् भने उक्त संघसंस्थाहरूमा भौतिक दुरी कायम गर्दै आवश्यक सहजिकरणको वातावरण निर्माण गर्न पनि सहयोग जुटाउन सिकन्छ ।

सम्भव छ भने अभिभावकीय दायित्व विषयमा छलफल, सामग्री निर्माण तथा सहजिकरण विषयमा विज्ञहरूको सहयोग पनि लिन सकिन्छ । उक्त विषय छलफलमा बाबुनानीहरू पढ्ने विद्यालयका उपलब्ध हुन सक्ने प्रधानाध्यापक, शिक्षक तथा विव्यस, शिअसंघका व्यक्तिहरूलाई पनि निमन्त्रणा गरी सहज वातावरण सृजना गर्न सकिन्छ ।

८) वैकल्पिक शैक्षिक कार्यक्रम र अभिभावकीय आर्थिक दायीत्व

संस्थागत विद्यालय स्थापना तथा सञ्चालनमा व्यक्ति तथा समूहको ठूलो लगानी परेको हुन्छ । त्यस्तै गरी आवश्यक दरबन्दी नपाएर सहयोग शुल्क उठाई निजीश्रोत शिक्षकलाई तलब प्रदान गर्ने सामुदायिक विद्यालयहरूको पनि मुख्य आधार भनेको अभिभावक नै हो ।

यसैले विद्यालय तथा अभिभावकको समझदारीमा तय भएको मासिक शुल्क तथा सहयोग शुल्कलाई पनि सिकाईको न्युनतम आवश्यकता हो भन्ने अभिभावकले बुझ्न आवश्यक छ र बाबुनानीहरूका अगाडि नकरात्मक टिकाटिप्पणी नगरी शुल्क व्यवस्थापन गरी वैकल्पिक शिक्षामा अभिभावकीय जिम्मेवारीलाई सहर्ष स्वीकार गर्नु हामी अभिभावकको दायित्व पनि हो ।

यसो भन्दैमा अस्वाभाविक शुल्कभार व्यहोर्न बाध्य हुनुपर्छ भन्ने धारणा भने पटक्कै होइन बरु विद्यालयसँग छलफल गरी न्यूनतम सहभागित्व हुनुपर्छ भन्ने धारणा हो । मुख्य कुरा भनेको अभिभावकको शुल्कसँग सम्बन्धित नकरात्मक टिप्पणी भयो भने वैकल्पिक सिकाई प्रक्रिया अघि बढाउन मानसिक रुपमा तयारी हुँदैनन् भन्ने धारणा हो ।

तसर्थ यो समय राज्य, प्रदेश, स्थानीय तह, विद्यालयलाई गाली गर्ने समय होइन । आ–आफ्ना सन्ततिमा शैक्षिक क्षति हुन नदिन, अभिभावक जागरुक र जिम्मेवार बनौं, सिकाई प्रक्रियालाई निरन्तरता दिऊँ ।

शैक्षिक क्षति हुन र लागुऔषध तथा दुव्र्यसनीको कुलतमा फस्ने समस्या, विद्यालय छाड्ने क्रमलाई रोकौं । हाम्रो सम्पति भनेका हाम्रा सन्तति हुन् । यिनै सन्ततिको शैक्षिक वातावरण बनेन भने हाम्रा दैनिक क्रियाकलापको महत्वपूर्ण पक्ष ओझेलमा पर्दछ भन्ने कुरा हामी पनि बुझौं । ढिलो नगरौं वैकल्पिक शैक्षिक कार्यक्रममा यथाशक्य सक्रियता बढाऔं ।

(आचार्य माछापुच्छ्रे मावि, माछापुच्छ्रे २, भुर्जुङखोला, कास्कीका प्रधानाध्यापक हुन् ।)

तपाईको प्रतिक्रिया