मुस्ताङकी सिडिओ आफै होम क्वारेन्टाइनमा

समाधान संवाददाता २०७७ भदौ ४ गते ५:५९

एसके थकाली
जोमसोम

Advertisement

३८ औं प्रमुख जिल्ला अधिकारीको कार्यभारसहित हिमालपारीको जिल्ला मुस्ताङ आएकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल सोमबारदेखि आफ्नै प्रजिअ क्वाटरको होमक्वारेन्टाइनमा बसेकी छिन् ।
यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशकको पदमा रहेकी उनी प्रमुख जिल्ला अधिकारीको रुपमा आइतबार मुस्ताङ आएकी हुन् । उनी मुस्ताङ आएलगत्तै प्रजिअ निवासको क्वाटरमा सुरक्षित होम क्वारेन्टाइनमा बसेको जानकारी दिइन् ।

नयाँ प्रजिअ पौडेल मुस्ताङ आउँदा जिल्लास्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले सामाजिक दुरी कायम गरी नयाँ प्रजिअलाई अनौपचारिक रुपमा स्वागत गरे । यस लगत्तै उनी नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु भएको नियम÷कानुनलाई आत्मसाथ गर्दै एकान्तबार बसेको प्रजिअ पौडेलले टेलिफोन मार्फत् जानकारी दिइन् ।

Advertisement

पछिल्लो समय कोरोना भाइरसको अवस्था दिनप्रतिदिन भयावह भइरहेको र आफू पनि संक्रमित जिल्लाबाट ग्रिन जोन मुस्ताङमा आएकाले यस जिल्लालाई ग्रिन जोन कायम राख्न होसियारी र सर्तकता अपनाएको प्रजिअ पौडेलले बताइन् । तपाईं कति दिन होम क्वारेन्टाइनमा बस्नु हुन्छ भन्ने प्रश्नमा प्रजिअ पौडेलले आफू कम्तीमा एकसाता एकान्तबास बस्ने जानकारी दिइन् । उनले आफू मुस्ताङ आउँदा पिसिआर परीक्षण समेत गरेको उल्लेख गरिन् ।


मुस्ताङमा नयाँ प्रजिअको आगमन भए पनि जिल्ला प्रशासन कार्यालयमा भने उनको उपस्थित नभएको र जिल्लाको कार्यसम्पादन टेलिफोन मार्फत् भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नयाँ कार्यभार लिएर आएकी प्रजिअ पौडेलले मुस्ताङलाई कोरोना मुक्त राख्न साविकका योजनाहरुलाई कायम राख्दै सीमानाकालाई थप कडाई गर्ने जनाइन् ।

Advertisement

यसका लागि म्याग्दी प्रशासनसँग सहकार्य भइरहेको प्रजिअ पौडेलको भनाइ छ । उनले जिल्लालाई कोरोना मुक्त राखिराख्न व्यक्ति र समुदायले बुझ्न आवश्यक भएको भन्दै उनले जिल्लामा सभा सम्मेलन, भेला गोष्ठी र चाडपर्वमा हुने भीडभाडलाई तदारुकताका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइन् ।

नयाँ प्रजिअ पौडेलकै निर्देशनमा बिहीबार हुने भनिएको कर्मचारी मीलनकेन्द्रको दरखाने कार्यक्रम समेत स्थगित गरिएको छ । दोस्रो महिला प्रजिअको रुपमा हिरादेवी पौडेल मुस्ताङमा हाजिर भएकी हुन् ।

यसअघि मुस्ताङका लागि पहिलो महिला प्रजिअको रुपमा उषा नेपालले प्रजिअको कार्यभार सम्हालेकी थिइन् । उनले २०५२ साल कात्तिक १४ देखि २०५३ साल भदौ ६ गतेसम्म प्रजिअको जिम्मेवारी सम्हालेकी थिइन् । मुस्ताङको पहिलो प्रजिअ शशिमान केसी हुन् । उनी २०२८ सालमा मुस्ताङमा प्रजिअ थिए ।

तपाईको प्रतिक्रिया