दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई दिइयो शोक सलामी
समाधान संवाददाता, पोखरा
सडक दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितीमा शोक सलामी सहित श्रद्धान्जली व्यक्त गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत उनीहरुलाई पोखरा ५ मालेपाटनमा बोलेरो जिपले ठक्कर दिँदा बुधबार ज्यान गएको थियो ।
उनीहरुको शवमाथि डिआइजी अर्यालले प्रहरी संगठनको झन्डा ओढाई पुष्पगुच्छासहित श्रद्धान्जली अर्पण गरे । सोही अवसरमा प्रहरीको १ टुकुडीले शोक सलामी व्यक्त ग¥यो ।
डिआइजी अर्यालले दुबै जना मृत प्रहरी कर्मचारीका परिवारजनहरुसँग भेटघाट गरी समवेदना प्रकट गरे । इमान्दार, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई क्षति पुगेको उनले बताए ।
कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
डियुटीमा रहेकैबेला दुबै प्रहरीले ज्यान गुमाएका हुन् । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकमा गस्तीको क्रममा रहेका उनीहरुलाई बागलुङ बसपार्कबाट जिरो किमी जाने क्रममा सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बलेरो जिपले विशाल पेट्रोल पम्प अगाडि पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुबै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बर्दिया बढैयाताल ६ घर भएका ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू २०६२ असाार ८ गते नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदबाट सेवा प्रवेश गरेका थिए । दंगा नियन्त्रण प्रहरी गण तनहुँ दरबन्दी भएका उनी २०७६ असार ९ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ।
पाल्पा रिप्दिकोट गाउँपालिका ८ घर भएका प्रहरी जवान चन्द्रबहादुर बगाले २०७६ साउन १ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरेका थिए । दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नम्बर २ मा दरबन्दी भई २०७७ साउन २० देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया