म्याग्दीमा सुरु भयो ठूलो कृषि फर्म, कालिज पालेर कमाउने आशा
राकेश शर्मा
म्याग्दी
धवलागिरीमा नै पहिलो पटक कानुनी रुपमा नै व्यावसायिक रुपमा नै म्याग्दीमा कालिजको व्यावसायिक पालन सुरु गरिएको छ । व्यापारिक घरानाले भने सोखको रूपमा कालिज पाल्ने गरेका छन् । तर जिल्लाको बेनी नगरपालिका–४ सिंगामा हरियाली ग्रुप प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरेको हो ।
दक्षिणकालिका काठमाडांैबाट चल्ला लिएर पहिलो पटक परीक्षणका लागि म्याग्दीमा कालिज पालन सुरु गरिएको हो । करिब ३२ लाखको लगानीमा हरियाली ग्रुप प्रालि कालिज पाल्न सुरु गरेको छ ।
हरियाली ग्रुपबाट सञ्चालन मोडल फर्मका ए ब्लक इन्चार्ज भगवान खड्काका अनुसार ५ महिना अघिबाट पालन सुरु गरिएको कालिज अहिले खानयोग्य भएका छन् । ‘करिब ५ महिना पालेपछि कालिज अहिले २ किलोसम्मका छन्, खड्काले भने, ‘हामीले खानका लागि बिक्री वितरण गर्ने तयारीमा रहेका छौं,’ अहिले पहिलो चरणमा प्रतिकालिज ३ हजार ५ सयका दरले बिक्री वितरण गरिने उनको भनाइ छ । खड्काका अनुसार अहिले फार्ममा करिब १ हजार कालिज छन् ।
‘अहिले हामीले ४ सय ५० भाले कालिज मात्र बेच्ने भनेका छौं, कालिज बिक्री गर्ने भन्नासाथ फोन आउन सुरु गरेको छ,’ खड्काले भने, फर्ममा तयार भएका भाले कालिज मासुको रूपमा बिक्री गरिने, पोथी कालिजबाट अण्डा उत्पादन गर्ने र ह्याचिङ गरी धेरैभन्दा धेरै चल्ला उत्पादन गर्ने योजनाअनुसार काम अघि बढेको छ ।’
अण्डाबाट ह्याचिङ गरी २३ देखि २५ दिनमा चल्ला निस्कन्छन् । ‘हामीले यहाँ ७ हजारसम्म कालिज पाल्ने गरी संरचना बनाएका छौं, प्रालिका लगानीकर्ता शेरबहादुर केसीले भने, ‘हामी पहिलो चरणमा सफल भयौं ।’ योजना आयोगका पूर्वउपाध्यक्ष मिनबहादुर श्रेष्ठको योजनामा म्याग्दीमा हरियाली ग्रुपले कृषिजन्य बस्तुहरु उत्पादन गर्दै आएको छ । ‘पहिलो चरणमा हामीले कालिजको बजार म्याग्दीलाई बनाएका छौं तर कालिजको संख्या बढ्दै गएपछि बजार पनि बढाउँदै लैजान्छौं’ केसीले भने, ‘हामीले कालिज मात्र नभएर यहाँ तरकारी माछा, लोकल कुखुरा समेत पालन गरेका छौं ।’
अहिले कालिजसँगै प्रालिले व्यावासायिक लोकल कुखुरा पालन गर्ने उद्देश्यले ६ सय वटा लोकल कुखुरा समेत पालन गरेको छ ।
सिंगाको आगेबगरमा ६१ जनाको लगानी १० करोडको लगानी हरियाली गु्रपले नयाँ मोडलको आधुनिक कृषि फार्म सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापा लगायतको अवधारणा र लगानीमा खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समूहकृत पद्धतिमा व्यावसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो ।
फार्ममा स्थानीय समेत ६१ जनाको लगानी । कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।
कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको लगानीकर्ता केसीको भनाइ छ । ‘यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य छ ।’ उनले भने । ३६ जना कृषकहरुको १ सय ६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ ।
कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका केसीले बताए । फार्ममा तरकारी खेती, ड्रागन फुड (सिउँडी फल) माछा पालन, मौरी पालन, फूल खेती गरिएको छ ।
तपाईको प्रतिक्रिया