गाँजासहित पोखराबाट २ जना पक्राउ
समाधान संवाददाता, पोखरा
कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित २ पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।
गाँजा विक्री तथा ओसापसार आरोपमा पोखरा २७ अर्घौ ज्यामिरकुनाबाट २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सिनालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
विक र तिमिल्सिना सवार ग५प ५८७९ नम्बरको मोटसाइकलबाट २० ग्राम गाँजा फेला परेपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले उनीहरु बस्ने कोठामासमेत खानतलासी गरेको थियो ।
सन्दीप विक बस्ने कोठाबाट १ किलो ४ सय ४० ग्राम गाँँजा फेला परेको प्रवक्ता हमालले जानकारी दिए ।
उनीहरुको साथबाट २ थान मोबाइल र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरिएको छ । घटनाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कास्की प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट दोषि ठहर भइसकेपछि फरार भएका १ जनालाई पक्राउ गरेको छ ।
पोखरा १९ का २४ वर्षीय अश्विन बास्तोलालाई २०७६ कात्तिक २६ मा कास्की जल्ला अदालतले उक्त मुद्दामा ८ महिना कैद र २२ हजार जरिवाना सजाय तोकेको थियो ।
तर त्यसको झन्डै १ महिना पछि नै मंसिर २४ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
फैसला लगत्तै फरार रहँदै आएका बास्तोलालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनी लेकसाइडमा बस्दै आइरहेको पत्तो पाएपछि प्रहरीले खोजी थालेको थियो ।
प्रहरीले उनलाई अदालतमा पेश गरिसकेको छ ।
तपाईको प्रतिक्रिया