पोखरामा प्रहरी, बैंक र मालपोतका कर्मचारीमा कोरोना पुष्टि
समाधान संवाददाता, पोखरा
पोखरामा शनिबार १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २ दिनयता संकलित स्वाब प्रदेश क्षयरोग उपचार केन्द्रस्थित ल्याबमा परीक्षण गर्दा १० पुरुष र ६ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार १६ जना संक्रमितमध्ये ३ जना प्रहरी, १ जना बैंकका र १ जना मालपोतका कर्मचारी हुन् ।
बाँकी १० जना पनि संक्रमितको सम्पर्कका व्यक्ति हुन् । संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् ।
गत बिहीबार पनि उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित २७ वर्षीया युवती बैंक अफ काठमाडौं खैरेनीटार शाखाकी कर्मचारी हुन् । उनको घर पोखरा ३० हो ।
‘एक जनाचाहिँ गरिमा विकास बैंकको कर्मचारी भनेर स्वाब दिनुभएको रहेछ । तर अहिले सोध्दा त्यहाँको नभएको पाइयो,’ महानगर स्रोतले भन्यो। ती ३५ वर्षे पुरुष वडा नम्बर ६ का हुन् ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले अहिले संक्रमितसँग सम्पर्क गरिरहेको छ ।
कुन वडामा कति संक्रमित थपिए ?
पोखरा ४ – ३ जना
पोखरा ५ – १ जना
पोखरा ६ – २ जना
पोखरा ८ – ४ जना
पोखरा ९ – ३ जना
पोखरा १६ – १ जना
पोखरा २७ – १ जना
पोखरा ३० – १ जना
तपाईको प्रतिक्रिया