कास्कीमा के होला निषेधाज्ञा, ३ विकल्पबारे छलफल हुँदै

समाधान संवाददाता २०७७ भदौ ६ गते १८:४०
फाइट तस्बिर

हालको अवस्थालाई कायम राख्ने, केही परिवर्तन गरेर जाने वा तत्काललाई हटाउने भन्ने ३ विकल्पमा केन्द्रित रहेर छलफल गरिने

Advertisement

समाधान संवाददाता
पोखरा, ६ भदौ

कास्कीमा जारी निषेधाज्ञाबारे ३ विकल्पमा छलफल गरेर निष्कर्ष निकालिने भएको छ । पालिकाका प्रमुख, विज्ञको सुझाव, ट्रेसिङको अवस्था, संक्रमणको दर हेरेर निर्णय लिइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

Advertisement

‘अहिलेसम्म केही निर्णय भइसकेको छैन । सरोकारवालासँग छलफल भइरहेको छ । भोलि (आइतबार) निर्णय हुन्छ,’ उनले समाधानसित भने, ‘हालको अवस्थालाई अलिकति समय कायम राख्ने,केही परिवर्तन गरेर जाने वा तत्काललाई हटाउने भन्ने ३ विषयमा केन्द्रित रहेर छलफल गर्छौं ।’

कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञा आइतबार मध्यराति सकिँदै छ । निषेधाज्ञा जारी भएपछि जिल्लाभर निकै कडाइ गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि निषेधाज्ञामात्रै समाधान नभएकाले मोडालिटी परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।

Advertisement

‘निषेधाज्ञामात्रै समाधान होइन होला, त्यसैले जानकारवालासँग सुझाव मागेका छौं । बन्द गर्नुभन्दा पनि नयाँ के गर्ने भन्ने खोज्छौं,’ उनले भने । निषेधाज्ञाको अवधि लम्बिए पनि डराउनुपर्ने अवस्था नरहेको मेयर जिसीले बताए ।

तीज र कुशे औंसीमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित पोखरा महानगरपालिकानिषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेको थियो ।

महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिले १ भदौदेखि पोखरामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । तर जिल्ला संकट व्यवस्थापन केन्द्रले २ भदौको मध्यरातदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया