थासाङमा २७ सय केजी सलह खाल्डोमा पुरियो

समाधान संवाददाता २०७७ भदौ ६ गते १८:५०

प्रतिकेजी १ सय रुपैयाँका दरले २ लाख ७० हजार रुपैयाँ वितरण

Advertisement

एसके थकाली
जोमसोम, ६ भदौ

मुस्ताङमा किसानले लगाएको बर्खे अन्नबाली सलह कीराले नष्ट गरेको छ । भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलह कीरा १ महिना अघिदेखि जिल्लाका विभिन्न ठाउँमा देखा परेका छन् । कोरोना भाइरसका कारण त्रास बढिरहेकाबेला मुस्ताङमा सलह कीराको प्रवेशले किसान चिन्तित बनेका छन् ।

Advertisement

साउन पहिलो सातादेखि सुरु भएको सलहको झुन्ड प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । मुस्ताङमा पटकपटक गरी करोडौंको संख्यामा सलह कीरा भित्रिएको थासाङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामशरण सापकोटा बताउँछन् ।

सलहले अन्नबालीमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्वार थासाङ गाउँपालिकामा किसानले किटनासक औषधी प्रयोग गर्न थालेका छन् ।

Advertisement

किसानले सलह निर्मुल गर्न किटनासक औषधी प्रयोग गर्न थालेपछि थासाङ गाउँपालिकाले सलह नष्ट गर्ने अभियान थालेको हो । अन्नबालीमा विषादी प्रयोगले मानवीय तथा वातावरणीय जोखिम उत्पन्न हुनसक्ने भन्दै सलह नष्ट गर्ने अभियान अघि बढाएको कृषि प्राविधिक सापकोटाले बताए ।

थासाङ गाउँपालिकाका विभिन्न ठाउँबाट संकलित सलह किरा नष्ट गरिँदै । तस्विर : रामशरण सापकोटा

सलह कीरा संकलन गर्नेलाई प्रतिकेजी १ सय रुपैयाँ पारिश्रमिक दिने निर्णय गाउँपालिकाले गरेको थियो । गाउँपालिकाका किसानले शुक्रबारसम्म करिब २७ सय केजी सलह कीरा संकलन गरेको थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।

थासाङ ३ को लेते, कोखेठाटी र धम्पुमा १४ सय ३० केजी र थासाङ—५ को छयो, भिप्रा देउराली, कुञ्जो र टिटी गाउँबाट करिब १३ सय केजी सलह कीरा जम्मा गरिएको हो । किसानले संकलन गरेको सलह कीरा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायको उपस्थितिमा शुक्रबार खाल्डो खनेर नष्ट गरिएको हो ।

१ हप्ताका लागि सलह संकलन गर्न स्थानीयलाई आह्वान गरिएको र अब किसान आफैले नष्ट गर्नुपर्ने अधिकृत केसीले उल्लेख गरे । ‘सलह कीराको संख्या घटेको छैन । जति नष्ट ग¥यो उति बढेको छ,’ उनले भने ।

५ भदौसम्म २ लाख ७० हजार रुपैयाँ बराबरको सलह नष्ट गरिएको अधिकृत केसीले जानकारी दिए । खेतबारीमा लगाएको अन्नबाली नष्ट गरेको र पालिकाले पनि सलह संकलन गर्न पारिश्रमिक दिएकाले आफूहरु सलह संकलनमा जुटेको थासाङ ३ लेतेका स्थानीय विशाल विकले सुनाए ।

सलह कीराले थासाङमा जस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा बालीमा क्षति पुर्‍याएको छ । ताङ्बे, छुसाङ, कागबेनी, पाक्लिङ, फल्याक, झोङ र मुक्तिनाथ लगायत गाउँमा मकै, आलु, फापर, सिमी लगायतमा सलहले क्षति पुर्‍याएको गाउँपालिकाका सूचना अघिकारीले सूर्य तिमिल्सिनाले जानकारी दिए ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि सलह कीराले किसानको अन्नबालीमा क्षति पु¥याएको छ । घरपझोङको मार्फा, ठिनी र स्याङ लगायत गाउँमा पनि सलहले बालीनालीमा क्षति पु¥याएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाले सलह नष्ट गर्न बजेट नै छुट्याएको छ भने अन्य पालिकाले वास्ता गरेका छैनन् । अन्य पालिकामा किसानले सलह धपाउन आगो बालेर धुँवा पुत्याउने र थाल ठटाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया