बेनी—जोमसोम सडकमा सुख्खा पहिराले भागाभाग

समाधान संवाददाता २०७७ भदौ ६ गते २१:४८

एसके थकाली
जोमसोम

Advertisement

गण्डकी प्रदेशकै लाइफ लाइन राजमार्ग मानिएको राष्ट्रिय गौरवको निर्माणाधीन बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत ७६ किलोमिटर बेनी—जोमसोम सडकको काभ्रेभीरमा शुक्रबार बिहान अचानक सुख्खा पहिरो खसेपछि त्यहा सडक ट्रयाक खोल्न खटिएका मजदुर र सडक निरीक्षणमा खटिएका जनप्रतिनिधिहरुको भागभाग भएको छ ।

म्याग्दी र मुस्ताङको अन्तिम अवरुद्ध बेनी—जोमसोम सडकको काभ्रेभीर सडकको ट्रयाक शुक्रबार साझसम्म सूचारु गराउने योजना थियो । तर मौसम प्रतिकुलताका कारण सुख्खा पहिरो गएको स्थानमा ढुङ्गा र माटो खस्ने क्रम नरोकिएपछि सडक खोल्ने योजना अन्योल तत्कालका लागि स्थगित गरिएको हो ।

Advertisement

गत साउन ५ गते बेनी—जोमसोम सडकको दर्जनौं स्थानमा बाढी ÷पहिरो र नदी कटानले विगत १ महिना अघिदेखि सडक आवागमन ठप्पै छ । यस्तै, असार २८ गते बेनी—जोमसोम जोड्ने म्याग्दीको रघुगंगा गाउपालिकाको गलेश्वरको बेलिब्रिज बाढीले क्षति बनाएको थियो । साउन २७ गते मुस्ताङ जोड्ने उक्त बेलिब्रिज पुल सञ्चालनमा आएपछि म्याग्दी र मुस्ताङ खण्डको काभ्रेभीरमा गएको पहिरो र नदी कटानले सडक सञ्चालन गर्न अझै कठिन परेको जनाइएको छ ।

उक्त स्थानमा करिडोर, निर्माण कम्पनीका मजदुर र सुरक्षा निकायले जोखिम मोलेर सडक खुलाउने काममा खटिएको पाइएको छ ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गापा र मुस्ताङको थासाङ गापाका विभिन्न स्थानमा भएको अवरुद्ध सडक कामचलाउको रुपमा सञ्चालनमा ल्याए पनि काभ्रेभीर सडकको ट्रयाक खोल्न कठिन परेको करिडोरका सबइन्जिनियर किरण घिमिरेले जानकारी दिए ।

काभ्रेभीर नजिकको साविक सडकको पूरै सडक संरचना पहिरोले भासिएपछि सडक खोल्न चुनौती बनेको छ । त्यहाँ सडक संरचना नभएको र ठूला÷ठूला चट्टाने पहाड भएकाले काम गर्न गाहे परेका सबइन्जिनियर घिमिरेले बताए ।

त्यहाँको चट्टान फोरेर मात्र सडक खुलाउने अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा विष्फोटक पदार्थ विष्फोट गर्न अनुमति लिइएको थियो । त्यहाँ बुधबारदेखि नेपाली सेना र स्थानीयबासी, निर्माण कम्पनीको सहयोगमा सडक स्रोन्नतिको काम सुरु गरेको शर्मा गजुरमुखीका सडक सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

यस्तै, काभ्रेभीर ट्रयाक खोल्न मुस्ताङका संघ तथा प्रदेशका सांसदले पनि उक्तिकै पहल गरेको सुपरभाइजर शेरचनको भनाइ छ । कोभ्रेभीरको चट्टान फोर्न अहिले करिब ३ दर्जन बढी होल खोलिए पनि मौसम प्रतिकुलताका कारण विफोटक पदार्थ पड्काउने काम हुन नसकेको थासाङका वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।

उनका अनुसार त्यहा शुक्रबार ५ गते ट्रयाक खोल्ने लक्ष्य रहे पनि बिहान अचानक सुख्खा पहिरो गएपछि सडकको काममा खटिएका मजदुर, सुरक्षाकर्मी र सांसदहरुको टोलीको भागदौड चलेको थियो ।

करिडाेरका अनुसार निर्माणाधीन सडक माथिबाट अझै ढुंगा र माटो खसेकाले काममा बाधा पुगेको छ । अब मौसम सुधारसँगै पहिरो पूूर्णरुपमा रोकिएपछि एकदिनमा सडक ट्रयाक खुल्ने करिडोरले जनाएको छ । शुक्रबार सडक खुलाउन गएको सांसदको टोली सुख्खा पहिरोपछि त्यसै फर्किएको थियो ।

सडक अवरुद्ध भएसँगै मुस्ताङमा उत्पादित आलु र गाजर कुहिन थालेको छ । गण्डकी पोखरामा ट्रक मार्फत निर्यात गरिने आलु र गाजर सडक नभएपछि खेतबारीमा कुहिन थालेको थासाङ—२ का किसान सोजना हिराचनले जानकारी दिए ।

यस्तै, बर्सेनि हरितालिका तीज पर्वमा निर्यात हुने २५ प्रतिशत स्याउ समेत कोराना कहर र सडक अवरुद्धले कारोबार रोकिएको हिराचनले बताए । यसपटक स्याउ खरिद गर्ने व्यापारी समेत कोरोृना र सडकले जिल्लामा नआएको उनको भनाइ छ । झन्डै १ महिनासम्मको सिघा सडक अवरुद्धले मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्री ढुवानीमा समस्या परेको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले बताए । उनले सडक खुलाउन सडक आयोजना, सुरक्षा निकाय, स्थानीयबासी र जनप्रतिनिधिको टोली निरन्तर खटिएको उल्लेख गरे ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरको अवरुद्ध सडक । तस्बिर: इन्द्रसिंह शेरचन

तपाईको प्रतिक्रिया