धौवादीमा कति होला फलाम ? परिमाण पत्ता लगाउन १ साताभित्र टेन्डर खुलाइँदै

समाधान संवाददाता २०७७ भदौ ७ गते ६:३१

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेशकै ठूलो धौवादी फलामखानीमा प्रयोग गर्न सकिने फलामको परिणाम पत्ता लगाउन संघीय सरकारले वृहत अनुसन्धान थाल्ने भएको छ । नवलपुरको हुप्सेकोटमा रहेको उक्त फलामखानीलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ ।


धौवादी फलाम खानी कम्पनीमा गण्डकी प्रदेश सरकारले ३ प्रतिशत सेयर पाइसकेको छ ।

Advertisement

चिनियाँ प्रयोगशालाले धौवादीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि गरेसँगै खानी तथा भूगर्भ विभागले प्रक्रिया अघि बढाउन लागेको हो ।

विभागका भूगर्भविद नारायण बाँस्कोटाका अनुसार पहिलो चरणमा पूर्वपश्चिम १० किलोमिटर क्षेत्रभित्रको फलामको परिमाण यकिन गरिनेछ । ५ ठाउँमा ड्रिलिङ गरेर फलामको परिमाण यकिन गर्न यसै साता टेन्डर आह्वान गर्न लागिएको उनले बताए ।

Advertisement

पहिलो चरणमा ६ महिनाको अवधिमा परिणाम थाहा लागेपछि दोस्रो चरणमा फलामखानी क्षेत्रको प्राप्तिको काम गरिने भएको छ । कार्यालय स्थापनाका लागि हुप्सेकोट आसपासको क्षेत्र र कावासोती नगरपालिका–१ मा रहेको हात्तीखोर क्षेत्र उपयुक्त हुने सुझाव विज्ञले दिएका छन् ।

खानीबाट फलाम र स्टिल निकाल्न सकिने चिनियाँ प्रयोगशालाले प्रमाणित गरेको छ । गत भदौमा खानीबाट ५ टन फलामको धाउ (नमुना) परीक्षणका लागि चीन पठाइएको थियो । परीक्षणमा मेटालर्जिकल (फलाम बन्छ कि बन्दैन भन्ने जाँच) रिपोर्ट उत्साहजनक पाइएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा अध्ययनका लागि बजेट विनियोजन गरेको छ । साढे २ वर्षभित्र त्यहाँबाट फलाम उत्पादन सुरु हुने घिमिरेले बताए ।

संघीय सरकार मातहत सञ्चालन हुन लागेको नवलपुरको धौवादी फलाम खानी कम्पनीमा गण्डकी प्रदेश सरकारले ३ प्रतिशत सेयर पाइसकेको छ । ४ अर्ब लगानीमा चल्ने खानीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको ३ प्रतिशत बराबर हुन आउने १२ करोड बापतको सेयर लगानी स्वीकार गरेको हो । गण्डकी सरकारले थप ४८ करोड बराबरको सेयर प्राप्तिका लागि संघीय सरकारको सम्बन्धित मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

फलाम खानी सञ्चालनका लागि गत मंसिरमा कम्पनी दर्ता भइसकेको छ । सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालनमा आउने कम्पनीको सेयर संघ, प्रदेश र स्थानीय तहका सरकारको ५५ प्रतिशत र बाँकी निजी क्षेत्रको लगानी रहने छ ।

फलामखानीबाट फलामे छड र स्टिलका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ बिलेट उत्पादन गर्ने योजना खानी तथा भूगर्भ विभागले अघि सारेको थियो ।

भूगर्भविद्का अनुसार धौवादीमा १० किलोमिटर लामो फलामखानी (फलामको मात्रा धेरै रहेको पहाड) छ । धौवादीको फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १ सय मिटर गहिरो छ । देशको सबैभन्दा ठूलो यो फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको प्रारम्भिक अध्ययनले देखाएको थियो ।

धौवादीको फलाम खानीमा २०६७÷६८ देखि नै अन्वेषण थालिएको हो । २०७२÷७३ देखि मात्रै यसमा नियमित अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

उक्त खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनका लागि मंसिर पहिलो साता कम्पनी रजिस्ट्रारको कार्यालयमा धौवादी फलाम खानी कम्पनी दर्ता भइसकेको छ । कम्पनीको ४ सदस्यीय सञ्चालक समितिसमेत गठन भइसकेको छ । सञ्चालक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र विभागका १÷१ प्रतिनिधि रहनेछन् भने सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालनमा आउने कम्पनीमा निजी क्षेत्रको प्रतिनिधित्व भने खोजिँदै छ ।

नेपाल फलामे छड तथा स्टिलमा आत्मनिर्भर उन्मुख भए पनि अहिले बिलेट भारतबाटै आयात हुने गर्छ । हाल भारतबाट वार्षिक १२ देखि १३ लाख मेट्रिक टन बिलेट आयात हुँदै आएको छ । विभाग स्रोतका अनुसार फलाम उत्पादनबाट बिलेट बनाउने योजना अघि बढेको छ । यसका साथसाथै त्यसबाट कुन कुन वस्तु बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया